आज :

१० लाखको बजेटमा परिवारको रजाईँ ! उपभोक्ता समितिको वैधतामाथि नै प्रश्न

कैलाली । घोडाघोडी नगरपालीाका वाड न. १ मा प्रदेश सरकारबाट नाला निर्माणको लागि आएको १० र जनश्रमदान गरी १३ लाखको बजेटमा उपभोक्ता समितिबाटै अनियमितता भएको भन्दै विरोध उत्पन्न भएको छ ।

सुखड डोडा पुलदेखि २०० मिटर अगाडिबाट मगर टोल जाने बाटो जसलाई पुरानो पानी फ्याक्ट्री जाने बाटो पनि भनिन्छ । त्यही बाटोको नाली निर्माणमा मापडण्ड विपरित काम भएको देखिएपछि इन्जिनियरले काम रोक्न निर्देशन दिएपनि उपभोक्ता समितिले अटेर गरेको छ ।

यस्तै, नाली निर्माण गरिरहेको उपभोक्ता समितिको बैधतामाथि पनि प्रश्न उठेको छ । प्रदेश सरकारको बजेट कार्यान्वयन कोरोनाका कारण अहिले स्थानीय तहको इकाइले नै गर्ने भनिएको छ । यस्तोमा उक्त आयोजना कार्यान्वयन गर्ने जिम्मेवारी नगरपालिका र वडाको रहन्छ ।

नगरपालिका वा वडाले उपभोक्ता समिति गठन गरेर काम गर्नुपर्ने हो । तर, यहाँ अचम्मको कुरा के भने, अहिले नाला निर्माण गरिरहेको उपभोक्ता समिति कसले गठन गरिदियो, कसैलाई थाहा छैन । सांसद अमर साउद, नगरपालिकाका प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंह र वार्ड न १ का वडाध्यक्ष मनराज शाही तीनै जनालाई उपभोक्ता समिति कसले गठन गर्‍यो भन्ने थाहा छैन ।

यो क्षेत्रका प्रदेशसभा सांसद साउदले विकास कोषमा बजेट छुट्याइएको तर बजेट कार्यान्वयन गर्ने इकाई नगरपालिका र वडा हुन सक्ने बताउँछन् । सांसद साउद भन्छन्,“आफुले संसद विकास कोषबाट बजेट छुट्याएको हो तर बजेट कार्यन्वयन गर्ने इकाई नगरपालिका भएकोले उपभोक्ता समिति नगरपालिका वा वडाले बनाएको हुनसक्छ ।”

सोही प्रश्नमा नगरपालिकाका प्रशासकीय अधिकृत सिंहले समिती नगरपालिकाले नबनाएको भन्दै वडाले समिति गठन गरेको हुनसक्ने बताउँछन् । उनले भने,“प्रदश सरकारको बजेट कार्यान्वयन हामीले गर्ने भएपनि नाली निर्माणको उक्त उपभोक्ता समिति हामीले नबनाई वडाबाट बनेको हुनसक्छ ।”

यस्तै नाला निर्माण भइरहेको वडा नं. १ का वडाध्यक्ष मनराज शाहीले पनि उपभोक्ता समिति गठनमा अनविज्ञता व्यक्त गरे । “मेरो क्षेत्रमा प्रदेशको बजेटमा काम भईरहेको सुनेको छु तर त्यसबारेमा मलाई कुनै जानकारी गराईएको छैन, मैले उपभोक्ता समिति गठन गरेको पनि होइन” शाहीले भने । कुनै वडासदस्यले उक्त समिती गठन गरेको हुनसक्ने तर आफुलाई उक्त जानकारी नगराईएको वडाध्यक्ष शाहीले बताए।
नगरपालीकाका प्रशासकीय अधिकृत सिंहले लागत अनुमान स्वीकृत गरी हस्ताक्षर गरेको टिप्पणी आदेशमा भने उपभोक्ता समिति गठन भई वडा कार्यालयबाट आएको सिफारिस पत्रका आधारमा समितिलाई प्रथम किस्ता रकम दिन भनिएको उल्लेख छ । तर, यस विषयमा वडाध्यक्ष स्वयम् बेखबर छन् भने उपभोक्ता समिति गठनको सिफारिस बनाएर वडा कार्यालयबाट नगरपालिकासम्म कसले लग्यो ? थाहा छैन ।

 

समिति गठनको नियत माथि नै प्रश्न ?

योसँगै उपभोक्ता समितिको निर्माणमा पनि गम्भीर त्रुटि देखिएको छ । समितिमा अध्यक्ष र कोषध्यक्ष जस्तो महत्वपूर्ण र संवेदनशिल जिम्मेवारीमा एउटै परिवारका सदस्यलाई राखिएको छ । उपभोक्ता समितिमा आफुहरुलाई नराखिएको भन्दै स्थानीय अन्य उपभोक्ताले विरोध जनाएका छन् । “हामीहरुलाई थाहा नदिएर खुसुक्क केही आफन्तहरु बसेर उपभोक्ता समिति बनाईयो, नाली निमार्णलाई आफ्नो परिवारको ठेक्काजस्तो गरियो । यसमा हाम्रो असमति छ” स्थानीय एक उपभोक्ताले अनलाइन डबलीसँग भने ।

नाला निमार्णको लागि गठन गरिएको उपभोक्ता समितिको अध्यक्ष र कोषाध्यक्ष सरोदर दिदी र भाई भएको स्थानीयले बताएका छन् । यो विषयमा उपभोक्ता समितीका अध्यक्ष टेकराज आचार्यसँग बुझ्न खोज्दा उनले घुमाउरो तरिकाले उत्तर दिए । “तपाईँले आचार्य-आचार्य थर मिलेको आधारमा दुईभाई भन्नु भएको होला, नाताको हिसाबले समाजमा नाता त हुन्छ त, उहाँ मेरो दिदी हो । सरोदर दिदी होइन भनेर बुझ्नुस् न” उनले भने ।

तर, अन्य स्थानीय चाहीँ समितिमा प्रायः सरोकारवाला उपभोक्ताहरुलाई बाहिर राखेर एउटा परिवारले एकलौटी गरेको भन्दै विरोध जनाएका छन् ।

यता अध्यक्ष आचार्यको दावी भने अर्कै छ । आफुहरुले सबै जाति, लिंग र वर्गबाट समावेसी तरिकाले उपभोक्ता समिति गठन गरेको दाबी गर्दै एउटै परिवारबाट समितिमा बस्न नलिन्ने किन नमिल्ने प्रश्न गर्छन् । “हामीले महिला जनजाति सबै वर्गको प्रतिनिधित्व गराएका छौं । एउटै परिवारबाट मन्त्री सांसद हुन मिल्छ भने उपभोक्ता समितिमा बस्न किन मिल्दैन ?” उनले भने । यहाँ उदेगलाग्दो कुरा के छ भने, उनले समितिमा महिला, जनजाति सबैको समानुपातिक सहभागिता रहेको दावी गरे तर समितिको अध्यक्ष र कोषध्यक्ष जस्तो महत्वपूर्ण भूमिकामा भने दलित, जनजाति कसैलाई पनि राखेनन् र एउटै परिवारका दिदी–भाई रहनुलाई समानुपातिक ठाने ।

प्रदेश सरकारबाट आएको १० लाखको बजेटमा उपभोक्ता समिति बनाउँदा अध्यक्ष र कोषाध्यक्ष एउटा परिवारको मानिस कसरी सम्भव भयो ? यस्तो समिति कसले बनाई दियो ? यस्तो समिति फर्मेसन गर्नुको पछाडिको नियत के हो ? के यो संयोग मात्र हुनसक्छ ? यो अर्को गम्भीर प्रश्न हो। यस विषयमा प्रदेश संसद अमर साउद आफु बेखबर रहेको बताउँछ । उनि भन्छन्, “मेरो काम बजेट ल्याईदिने हो, अहिले कार्यान्वयन गर्ने इकाई नगरपालिका हो, कस्तो समिति बनाए उनिहरुलाई थाहा होला, यदी यो संगोग होइन भने गलत भएको छ ।”

उपभोक्ता समितिमा कोषाध्यक्ष रहेकी चादनी आचार्य केहि हप्ताघि नगरपालिकाको विवादीत एनजिओ काण्डमा मुछिएका पत्रकार हुन् । पत्रकार आफै रहेको उपभोक्ता समितिमा अनियमितता स्थानीयले आशंका गर्नुले पत्रकारिताकाको भूमिकामाथि स्थानीयले पुनः निराशा व्यक्त गरेका छन् ।

मापडण्ड विपरित काम, लाखौंको अनियमितताको आशंका
उपभोक्ता समितिले निर्माण गरिरहेको नाला मापडण्ड विपरित काम भईरहेको पाइएको छ । निर्माणको लागत घटाउन कमसल सामाग्रीको प्रयोग गरिएको भन्ने स्थानीयको आशंका छ । क्रसर गिट्टी प्रयोग गर्नुपर्नेमा समितिले सस्तो मूल्य पर्ने खोलाको गुणस्तरहिन बलौटे गिट्टी प्रयोग गरिएको पाइएको हो । एक निर्माण व्यावसायीका अनुसार एक ट्राली क्रसर गिट्टीलाई ७ हजारसम्म घटीबढी पर्न सक्छ भने सामान्य बलौटे गिट्टीलाई बढीमा २ हजार पर्छ । यसरी एक ट्रालीमा ४ देखि ६ हजार घोटाला भएको स्थानीयले आशंका गरेका छन् ।

स्थलगत अध्ययनपछि इन्जिनियरले काम मापदण्ड विपरित भएको भन्दै रोक्न दिएको आदेशलाई लत्याउँदै समितिले काम अगाडि बढाइरहेको छ । समितिले पहुँचकै कारण उक्त अटेरी गरेको स्थानीयको भनाइ छ । उनीहरु नगरपालिका पनि मौन बसेको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरीको तयारी गरिरहेका छन् ।

यस्तै नाली निमार्णमा ओपीसी सिमेन्ट प्रयोग गर्नुपर्नेमा समितिले सस्तो मुल्यको पिपिसी सिमेन्ट प्रयोग गरिएको पाइएको छ । यस्तै सिमेन्टको मात्र कम राखिएको, बालुवा पनि न्यून गुणस्तरको प्रयोग गरिएको स्थानीयले बताएका छन् । नाली निर्माणबारे नगरपालिकाका इन्जिनियर त्रिलोचन शाहीले बैसाख २५ गते नै मापडण्ड विपरित काम भएकाले रोक्न सुझाव दिएका थिए । “निमार्णमा मापडण्डलाई पालना गरिएको छैन । ओपिसी सिमेन्ट प्रयोग नगरेको पाईयो । गिट्टी पनि क्रसरको ठूलो प्रयोग नगरेर नदीको सामान्य गिट्टी प्रयोग गरिएकाले काम रोक्न निर्देशन दिएको थिएँ” इन्जिनियर शाहीले भने ।

तर, यता उपभोक्ता समितिका अध्यक्ष आचार्यले चाहीँ इन्जिनियरले निर्माण कार्यलाई मापडण्ड विपरित नभनेको र आफुहरुले चलनचल्तीअनुसार नै काम गरेको दाबी गर्छन् । अर्कोतिर असन्तुष्ट उपभोक्ताहरुले जेठ २५ गते आईतबार मापडण्ड अनुरुप पारदर्शीरुपमा काम गर्ने सहमति भएपनि समितिले भोलिपल्टबाट फेरि आफु खुसी काम अघि बढाएको गुनासो गरेका छन् ।

र, अन्तमा यो विषयको कुराकानीको क्रममा उपभोक्ता समितिका अध्यक्ष आचार्यले आफ्नो कमजोरी हुन सक्नेबारे भन्दापनि पत्रकारिताको पाठ सिकाउन समय खर्च गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal