
काठमाडौं । कोरोनका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सुरु गरिएको छ । पहिलो दिन शुक्रबार म्यानमारबाट २६ जना नेपालीलाई काठमाडौं ल्याइएको हो ।
म्यानमार एयर फोर्सको विमानबाट शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको छन् । उनीहरुलाई विमानस्थलबाट सिधै बसुन्धरास्थित होल्डिङ सेन्टरमा लगिएको छ ।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा विदेशमा अलपत्र परेका नागरिकको उद्दार सुरु गरिएको छ । विदेशबाट आउनेको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाणपत्र देखाउनु पर्नेछ । त्यसपछि नेपाली सेनाले होल्डिङ सेन्टरसम्म पुर्याउने छ । त्यहाँ उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ । होल्डिङ सेन्टरमा बढीमा एक दिनसम्म राकेर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने सरकारी तयारी छ ।
आजै यूएईबाट १ सय ६८ जना नेपालीलाई ल्याउने तयारी भइरहेको छ । तर, उडानमा ढिलाईका कारण उनीहरु आइपुगेका छैनन् । उनीहरु ३ देखि ४ बजेसम्म आइपुग्ने बताइएको छ ।
विदेशबाट दैनिक २९ सय जनासम्मको उद्दार गर्न सक्ने गरी उपत्यकामा होल्डिङ सेन्टर तयार गरिएको छ । त्यसको लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पार्टीप्यालेसदेखि होटलमा होल्डिङ सेन्टर तयार पारिएको छ ।