आज :

सोती ‘हत्याकाण्ड’ : १० दिनपछि भेटियो गोविन्दको शव, टाउको र शरीरभरी गम्भीर चोट

सुर्खेत । रुकुम पश्चिम ‘हत्याकाण्ड’ मा बेपत्ता भएका गोविन्द शाहीको शव भेटिएको छ । अन्तरजातिय प्रेम सम्बन्धलाई लिएर रुकुम पश्चिमको चौरजहारीको सोती गाउँमा भएको आक्रमणमा परी शाही भेरी नदीमा बेपत्ता भएका थिए ।

यो घटनामा परी बेपत्ता भएका सबैको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ । जाजरकोट भेरी नगरपालिकाका नवराज बिक र सोती गाउँकी सुष्मा मल्लले प्रेम विवाह गर्न खोज्दा केटी पक्षले कुटपिट गरी ६जनालाई भेरी नदीमा फ्याकेका थिए ।

जेठ १० गते भएको उक्त घटनामा परी नवराज र उनका चारजना साथी सञ्जु विक, लोकेन्द्र सुनार, गणेश बुढा र टीकाराम सुनारकको शव भेरी नदीमै यसअघि भेटिसकेको थियो । जाजारकोट प्रहरीका अनुसार भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार स्थानीयले भेटाएका हुन् । गोविन्दको शव खोज्ने क्रममा स्थानीयले भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा स्थानीयले फेला पारेका हुन् । स्थानीयका अनुसार गोविन्दको पनि टाउको र शरीरमा गम्भीर चोट लागेको छ । यसअघि पाँचै जनाको पोष्टमार्टम रिपोर्टले पनि कुटपिटबाटै मृत्यु भएको जनाइसकेको छ ।

घटनाको चौतर्फी विरोधपछि सरकारले उच्चस्तरिय छानविन समिति बनाएर अध्ययन गरिरहेको छ । जातकै कारण भएको उक्त घटनाप्रति संयुक्त राष्ट्रसंघ, राष्ट्रिय मानव अधिकार आयोगजस्ता निकायले दुःख व्यक्त गरेका छन् । घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारवाही गर्न सरकारलाई सुझाव दिएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जातिय छुवाछुतमुक्त घोषित रुकुममा यस्तो घटना हुन निन्दनीय भएको भन्दै सरोकारवालाहरुले नवराजसहित पीडितलाई न्याय दिनुपर्ने बताएका छन् ।

संसददेखि सडकसम्म रुकुम हत्याकाण्डको विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षसहित दलित सांसदहरुले संसद बैठकमा दोषीलाई कारवाहीको माग गरेका छन् । उनीहरुले दोषीलाई उन्मुक्ति दिनेगरी सत्तारुढ (नेकपा)का नेताहरुको अभिव्यक्ति आएको भन्दै विरोध जनाएका छन् ।

जारी लकडाउनलाई तोड्दै अधिकारकर्मीहरु काठमाडौँसहित देशभर विरोध जारी राखेका छन् । काठमाडौँको माइतीघरमा दलित अगुवासँगै अधिकारीकर्मीले विरोध जारी राखेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरुले माइतीघरमै पुगेर आन्दोलनप्रति एक्येवद्धता जनाउँदै दोषीलाई कारवाहीको माग गरेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal