 
	
काठमाडौं । कोरोनाका महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णय र भइरहेका काम नै आजका पत्रिकाका प्रमुख समाचारहरु हुन् । सरकारले आजबाट नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सीमा नाका बन्द हुँदा मानिसहरुको आउ–जाउ बन्द भए पनि अत्यावश्यक सामानको ढुवानी भने रोकिने छैन ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्नका लागि चीनले अपनाएको मोडल नेपालमा अपनाउने तयारी गरिएको समाचार कान्तिपुर दैनिकमा छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिएका छन् ।
कान्तिपुरका अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन लकडाउन गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।
दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने विधि हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रुपमा अपनाइरहेका छन् ।
नयाँ पत्रिका दैनिकले कोरोना संक्रमण फैलिए प्रभावकारी रुपमा नियन्त्रण गर्न सरकारले देशभर एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउने प्रक्रिया अघि बढाएको, तर संक्रमितलाई राखेर उपचार गरिने आइसोलेसन कक्ष भने देशभर मुस्किलले एक हजार बनाउन पनि चुनौती रहेको समाचार छापेको छ ।
नयाँ पत्रिकामा संघीय सांसद प्रदीप यादव, पर्साका सीडीओ विष्णुकुमार कार्की र सहायक सीडीओ ललितकुमार बस्नेतले नै कोरोना भाइरसबारे अफवाह फैलाएको समाचार पनि छ ।
उनीहरुले वीरगञ्जका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए । पटना अस्पतालमा उपचाररत ती बिरामीमा कोरोना पोजेटिभ देखिएको भन्दै सांसद यादवले फेसबुक स्टाटस राखेका थिए भने सीडीओ र सहायक सीडीओले सन्चारकर्मीलाई पनि कोरोना देखिएको भनेर जानकारी दिएका थिए । त्यसपछि धेरैजसो मिडियाहरुले उनीहरुलाई नै उद्धृत गर्दै समाचार छापेका थिए ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          







