आज :

ओली प्रस्तावः प्रचण्ड-नेपाललाई फुटाउने क्षेप्यास्त्र तर निशाना लागेन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई बुधबार साँझ बसेको सचिवालय बैठकले झन् फराकिलो बनाएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका प्रस्तावले नेताहरुबीच झन शंका पैदा गराएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले समाधान गर्नेभन्दा पनि अर्का अध्यक्ष प्रचण्डलाई एक्ल्यिाउने योजना बनाएपछि विवाद झन् तन्किने नेताहरुले बताएका छन् । ओलीले बैठकमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । त्यो पनि कोरोना नियन्त्रणपछि र तेस्रो अध्यक्ष ।

बैठकपछि अध्यक्ष प्रचण्डले विहीबार आफू निकटका नेताहरुलाई छलफलबारे जानकारी गराएका थिए । अब कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि छलफल भएको सहभागी एक नेताले बताए । उक्त छलफलमा ओलीले प्रचण्डलाई कमजोर पार्ने रणनीति लिएको निष्कर्ष निकालिएको छ । त्यस्तै नेता नेपालले पनि आफू निकट केही बुधबार साँझै सामान्य छलफल गरेका थिए भने विहीबार दिउँसो पनि जारी राखे । छलफलमा सहभागी नेपाल निकट नेता रघुजी पन्तले त ओलीको प्रस्ताव समस्या समाधान गर्ने दिशातिर नभएको संचारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । उनले ओली बाहेकका नेताहरुको एकता टुटाउने क्षेप्यास्त्र प्रहार गरेको बताए । तर, ओलीले प्रहार गरेको क्षेप्यास्त्र निशानामा नलाग्ने बताउँदै ओलीको प्रस्तावलाई ठाडै अस्वीकार गरे ।

प्रचण्ड निकट स्थायी समिति सदस्य प्रभाकरले प्रधानमन्त्रीको प्रस्तावले समस्या समाधान नगर्ने भन्दै स्थायी समिति बैठक बोलाउनु पर्ने बताएका छन् । उनले प्रधानमन्त्रीले जारी राखेको सांंसदको हस्ताक्षर अभियानले विवाद झन् बढाउने बताए ।

प्रधानमन्त्री ओलीले प्रचण्ड, नेपालको एकतालाई भत्काउने उद्देश्यले सम्भव नहुने आश्वासन र प्रस्ताव गर्न थालेका छन् । प्रधानमन्त्रीले वामदेव गौतमलाई असम्भव प्रस्ताव गरेको कानुनविदहरुले तर्क गरेका छन् । अहिलेकै अवस्थामा गौतमलाई प्रधानमन्त्री बनाउन नसकिने तर्क छ । पटकपटक ओलीबाट धोका खाइसकेका गौतमले पनि यो पटक विश्वास गर्न सकेका छैनन् । राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न आनाकानी गर्दै अस्पताल भर्ना भएको गौतमले नभुलेको उनी निकट नेताहरु बताउँछन् ।

ओलीले नेपाल र गौतमलाई सधैं एकएक गरी ठेगान लगाएका थिए । तर, पार्टी एकतापछि पूर्वएमालेका दुबै नेताले प्रचण्डलाई साथ दिँदै आएका छन् । त्यसैले ओली पहिलो पटक पार्टी र संसदीय दलमा अल्पमतमा परेका छन् । अहिले जसरी पनि नेपाल र गौतमलाई प्रचण्डसँग छुटाउने भन्नेमा ओली लागेका छन् । त्यसैले पछिल्लो प्रस्ताव पनि नेपाल र गौतमलाई प्रचण्डबाट अलग गर्न गरिएको प्रयास भएको ओली समूह बाहेका नेताहरुको बुझाई छ । विहीबार दिनभर भएका दुई र बुहपक्षीय बैठकहरुमा यसमा सबै एकमत भएका छन् ।

विहीबारै ओलीले नेता नेपाललाई सोही प्रस्ताव दोहोर्याएका थिए । तर, नेपालले पुरानै अडानबाट टसमस भएनन् । उनले दुबै पटक ओट्न नहुने भन्दै आफ्नो अडानमै रहे । नेता नेपालले तेस्रो अध्यक्षको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् भने दुईमध्ये एक पदबाट राजिनामा गर्नुपर्ने ओलीलाई जवाफ फर्काएका थिए ।

स्थायी समिति बैठकमा खुलेरै ओलीले एक पदबाट राजिनामा दिनुपर्ने भन्दै कडा रुपमा प्रस्तुत भएका अर्का नेता झलनाथ खनालले पनि विहीबार भेटघाट र छलफल गरेका छन् । खनालले प्रचण्ड र नेपालसँग फोनमा लामो कुरा गरेको बताइएको छ । खनालले प्रचण्ड र नेपाललाई पछि नहट्न सुझाव समेत दिए ।

अर्को सचिवालय बैठक २० गते बस्नेछ । त्यो बेलासम्म अहिलेको समिकरण भत्काउने ओलीको योजना छ भने कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपाल अझै सुदृढ गर्ने योजनामा लागिपरेका छन् । यो पटक कुनैपनि हालतमा ओलीलाई गलाएरै छोड्ने योजना प्रचण्ड र नेपाल पक्षले बनाएको छ । शुक्रबार साँझसम्मको छलफल हेर्दा प्रचण्ड र नेता नेपाललाई फुटाउन ओलीले क्षेप्यास्त्रको रुपमा सचिवालय बैठकमा पेश गरेको प्रस्तावले काम नगर्ने देखिएको छ ।

उता प्रधानमन्त्री ओलीले सांसदहरुको हस्ताक्षर अभियान जारी राखेका छन् । २० गतेसम्म जसरी पनि संसदीय दलमा बहुमत पुर्याउने योजनाका साथ खाली कागजमा हस्ताक्षर अभियान जारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal