काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रट्ठ निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
अब गौतमलाई राष्ट्रियसभा सदस्य नियुक्तको लागि मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।
राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न नपाउने भए आफू राष्ट्रियसभामा नजाने अडान राख्दै आएका गौतमले आजभने सर्त छोडेका छन् । गौतमको मागअनुसार संविधान संशोधनको लागि बनाइएको कार्यदललाई पनि भंग गरिएको छ ।
गौतमलाई राष्ट्रियसभा हुँदै प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न लागिएको भन्दै पार्टीभित्रै नेतृत्वको व्यापक विरोध भएको थियो । चौतर्फी विरोधबीच आजको बैठकले कार्यदल भंग गरेको छ ।
संविधान संशोधन नहुने पक्कापक्की भएपछि गौतम आफ्नो अडानबाट पछि हट्दै राष्ट्रियसभा सदस्य मात्रै भएपनि स्वीकार गर्न तयार भएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गरी राष्ट्रियसभा सदस्य पनि थप्ने त्यसमा अर्थमन्त्री युवराज खतिवडालाई पनि राष्ट्रपतिबाट नियुक्त गराउने योजना थियो । बैठकको निर्णयले ओलीको उक्त योजना सफल नहुने भएको छ ।
संविधन संशोधन नगरी राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने भएकोले अहिलकै अवस्थामा बामदेवको सपना पूरा नहुने भएको छ ।