आज :

धनुषा विस्फोटः बमसँग प्रहरीको खेलाची, प्रहरी निरीक्षक दाहालसहित तीनजनाको मृत्यु, चारजना घाइते

काठमाडौं । धनुषामा भएको बम बिस्फोटमा परी प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बम बिस्फोट भएको हो । बम राखिएको जानकारी दिएर घटनास्थल पुगेको प्रहरीले सावधानी अपनाउँन नसक्दा बम विस्फोट भएको थियो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहालको टोली साहको घर पुगेको थियो । तर, बिना सावधानी निरीक्षक दाहालले बमलाई हल्लाएका थिए । दाहालले हल्लाउँदै ‘केही होइन’ भनेर हल्लाएलगत्तै बम विस्फोट भएको बताइएको छ । बिस्फोटमा परी घरधनी राजेश र उनका छोरा आनन्द साहको मृत्यु भएको छ ।

त्यसैगरी विष्फोटमा राजेशका एक छोरा, एक छोरी र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । बम विस्फोटमा परी गम्भीर घाइते भएका इन्स्पेक्टर दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान (धरान)मा शनिबार बिहान ७ बजे मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार राति ११ बजेतिर राजेशकी पत्नी शौच गर्न उठ्दा घरको गेटमा शंकास्पद बस्तु रातो रंगको झोलामा झुण्ड्याएको देखेकी थिइन् । त्यसपछि घर परिवारलाई जानकारी भयो । लगत्तै राजेशले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरेका थिए । केहीबेरमै प्रहरी निरीक्षक अमिर दाहाल नेतृत्वको टोली आयो ।

मृतक राजेशका पिता भिखारी साहका अनुसार प्रहरी निरीक्षक दाहालले केही होइन भन्दै झोला छोएको केही सेकेण्डमै शक्तिशाली बिष्फोट भएको थियो । बिस्फोटबाट राजेशसँगै १५ वर्षीय छोरा आनन्द साहको ज्यान गएको छ भने १४ वर्षीय कान्छा छोरा प्रेम साह, छोरी अञ्जली साह गम्भीर घाइते भएका छन् । त्यसैगरी ७० वर्षीय बुवा भिखारी साह घाइते भएका छन् ।

घाइते भिखारीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार र बाँकी सबैलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रेम, अञ्जली र प्रहरी जवान महतोको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

मृतक राजेशले मिटर ब्याजमा रकम लगानी गर्दै आएका थिए । बम कसले राखेको हो भन्नेबारे केही नखुलेको प्रहरीले बताएको छ ।

आफूहरुले बम भएको जानकारी गराएको तर प्रहरीले खेलाची गर्दा बिस्फोट भएको घाइतेहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal