 
	
धनगढी । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली ‘आदर्श’सहित १६ नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । शुक्रबार दिउँसो बाजुरा प्रहरीले गौमुल गाउँपालिका–३ माझपालीबाट गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी उपरीक्षक उद्धवसिंह भाटका अनुसार ओलीसँगै डम्बर सुनार, नरेश शाही, दीपकप्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा, उदय कशेरा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेकपाका अनुसार भारतले नेपालीभूमी अतिक्रमण गरेर नक्सा सार्वजनिक गरेको विषयमा विरोध पर्दशनको तयारीमा रहेको बेला प्रहरीले सबैलाई गिरफ्तार गरेको हो ।
नेता आदर्शंलाई गत वैशाख ६ गते पनि प्रहरीले तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार गरेको थियो । आदर्शलाई यसअघि सङ्गठित अपराध, विस्फोट, हातहतियार तथा खरखजना र राजद्रोहको अभियोग लगाएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै आदर्शलाई गत जेठ २४ गते रिहा गर्न आदेश दिएको थियो ।
रिहालगत्तै प्रहरीले उनलाई पुनः गिरफ्तार गरेर सुनसरी लगेको थियो । आदर्शलाई सुनसरी जिल्ला अदालतले गत असार २४ गते साधारण तारिखमा रिहा गरेको थियो ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          






