आज :

नेकपाले भन्‍यो-एनसेलमाथि थप कारवाही गर्छौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एनसेलमाथि थप कारवाही गर्ने चेतावनी दिएको छ । यही साउन १५ गते देशभर एनसेलमाथि आफ्नो पार्टीले कारबाही गरेको जानकारी दिँदै नेकपाले न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले आफ्नो अपराध नसच्याएमा थप कारबाही गर्ने चेतावनी दिएको हो ।

पार्टी प्रबक्ता प्रकाण्डले सोमबार साँझ विज्ञप्ति जारी गरेर एनसेलले अपराध नसच्याए थप कारवाही गर्नुको साथै देश निकाला गर्न जनतासम अपील गर्ने चेतावनी दिएका छन् । ‘एनसेल नामक दूरसञ्चार प्रदायक संस्थाले देशको न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने र सेवाग्राहीलाई चर्को शोषण गरिरहेको छ । त्यसकाविरुद्ध पार्टीले सङ्घर्ष गर्दै आएको छ, त्यस क्रममा साउन १५ गते पार्टीले देशव्यापी उच्चस्तरको कारबाही गर्यो । एनसेलले आफ्नो अपराध नसच्याएमा थप कारबाहीहरू हुनेछ र उसलाई देश निकाला गर्न जनतासमक्ष अपिल गर्न पार्टी बाध्य हुनेछ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रबक्ता प्रकाण्डले   विभिन्न सञ्चार माध्यमले पार्टीका बारेमा फैलाएको हल्लाको संचारमाध्यमहरुमा पार्टीको पछिल्लो निर्णयका बारेमा गरिएको प्रचार षड्‍यन्त्र भएको बताउँदै कुप्रचार भन्दै त्यसलाई खारेज गरेका छन् । उनले वार्ता विरोधी तथा विवादास्पद व्यक्तिहरुलाई कारवाही गरेको भनि गरिएको प्रचारलाई क्रान्तिविरीधी भएको बताएका छन् ।

”हाम्रो काँधमा देश, जनता र श्रमजीवी जनताप्रतिको जिम्मेवारी छ । मालेमावादी विचारमा आधारित, वस्तुगत अवस्थामा विकसित नीति, पद्धति र फलामे अनुशासनमा आधारित सच्चा कम्युनिस्ट पार्टी निर्माण, आगामी आन्दोलनको मोर्चामा सुदृढ एवम् प्रभावकारी नेतृत्वको आवश्यक पर्ने क्रान्तिको गहिराइकासाथ मनन गरी पार्टीलाई सुदृृढ र विकास गर्न साहसिक र ऐतिहासिक निर्णय लिएको छ । उक्त निर्णयबाट अत्तालिएका देश र जनताका दुस्मन, दलाल तत्वहरू, छिद्रान्वेषी–षड्यन्त्रकारीहरूले सञ्चार माध्यममा ‘वार्ता पक्षधर तथा विवादास्पद व्यक्तिहरूलाई कारबाही गरेको’ भनी गरिरहेको प्रचारलाई जनक्रान्ति र पार्टीविरोधी अपराध र षड्यन्त्र ठान्दछ र त्यसप्रकारको कुप्रचार खारेज गर्दछ । त्यसप्रकारको नियोजित षड्यन्त्रबाट प्रभावित नहुन र त्यसको गोटी नबन्न सञ्चार माध्यमहरूसँग अनुरोध गर्दछु” जारी विज्ञप्तिमा भनिएको छ ।

सरकराले वार्ताको हल्ला गर्दै दमन र हत्या श्रंखला अघि बढाएको बताउँदै प्रबक्ता प्रकाण्डले सरकारले गरेको वार्ताको हौवा असफलता र पार्टीभित्र र सरकारमा उत्पन्न संकटको अभिव्यक्ति भएको बताएका छन् ।

प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ”हाम्रो पार्टीले एकीकृत जनक्रान्ति कार्यदिशाको बाटो लिएदेखि नै प्रतिक्रियावादी सत्ता दमन र षड्यन्त्रमा उत्रिएको छ । गत फागुन २८ गते वली सरकारले हाम्रो पार्टीकाविरुद्ध प्रतिबन्ध लगायो र हत्या–हिंसामा उत्रिएको छ । नेपाली क्रान्ति र जनताको परिवर्तनको चाहनाविरुद्धको दमनले वली सरकारलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा एक्लो पारेको छ । दमन र प्रतिबन्ध सरकारकालागि फाँसीको फन्दा झैँ भएको छ । त्यसै कारण वली कम्पनीले वार्ताको विषयलाई ‘आफैँ बोक्सी, आफैँ धामी’भने झैँ गरिरहेको छ । तसर्थ सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टीभित्र र सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति हो । त्यो जनक्रान्तिमाथि भीषण दमन र षड्यन्त्रको तयारीको सङ्केत पनि हो । वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिनु, औपचारिक पहल पनि नगर्नु र हाम्रो पार्टीलाई वार्ता विरोधी भनेर प्रचार गर्नुले त्यसलाई पुष्टि गर्दछ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal