
काठमाडौं । भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा ७ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीले दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन् । गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार राती घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले होटल मालिकले लापर्वाही गरेको पनि बताएका हुन् ।
मृत्यु हुनेमा ट्याङ्की सफा गर्न बोलाइएका ४ जना मजदुर र उनीहरुलाई सघाएका होटलमै काम गर्दै आएका ३ जना रहेको प्रहरीले जनाएको छ । भारतमा हरेक बर्ष यस्तै घटनामा परी सयौँ मजदुरको मृत्यु हुनेगरेको छ ।
सफाईका लागि पर्याप्त श्रोत साधनको प्रयोग नगर्ने र लापर्वाही गरेकाले उनीहरुको मृत्यु हुने गरेको अधिकारीहरुले जनाएका छन् । “सुरुमा ट्याङ्कीमा एक जना पसेका थिए, उनी बाहिर निस्कन नसकेपछि अरु उनलाई निकाल्न भित्र गएका थिए, तर उनीहरु पनि निस्कन सकेनन्,” उद्धार कार्यको नेतृत्व गरेका भाडोडाराका अग्नी नियन्त्रण अधिकृत निकुन्ज आजादले भने ।
अहिले उनीहरु सवैको शव बाहिर निकालेर पोष्ट मार्टम गर्न पठाइएको बताइएको छ ।