आज :

प्रतिबन्ध र सुदर्शनसहितका नेताहरु गिरफ्तारीविरुद्ध नेकपाद्वारा नेपाल बन्दको आह्‍वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका नेता कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका महासचिव विप्लवले सोमबार साँझ विज्ञप्ति जारी गरेर नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

विप्लवले सरकार दिनप्रतिदिन अलोकप्रिय भइरहेको र पार्टी जनतामा स्थापित बन्दै गएपछि प्रतिबन्ध लगाइएको बताएका छन् । “केपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको छ । यता हाम्रो पार्टी राष्ट्रघाती, जनघाती, भ्रष्ट, ठग, मानवतस्कर, मजदुरमाराहरूलाई जनताको माग र चाहनाबमोजिम जनकारबाही गर्दै जाँदा आमजनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र सङ्कटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै नेपाली श्रमिक जनताको प्रतिनिधि हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ” विज्ञप्तिमा उल्लेख छ ।

पार्टीमाथिको प्रतिबन्धको राजनीतिक पार्टी, मानवअधिकारवादी सङ्घसंस्था, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, प्रतिष्ठित कलाकारलगायत व्यक्तित्वहरूले विरोध गरिरहेको बताउँदै विप्लवले हटाउनुको साटो दमन गरिरहेको बताएका छन् । “ यस फासिवादको सारा राजनीतिक पार्टी, मानवअधिकारवादी सङ्घसंस्था, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, प्रतिष्ठित कलाकारलगायत व्यक्तित्वहरूले विरोध गरिरहेका छन् । तर केपी सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ” विज्ञप्तिमा विप्लवले भनेका छन् ।

चौतर्फी विरोध भइरहँदा पनि प्रतिबन्ध हटाउनुको साटो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहितका नेताहरुलाई सरकरले गिरफ्तारविरुद्ध नेपाल बन्दसहितका कार्यक्रम गर्नु भन्दै विप्लवले विज्ञप्तिमा भनेका छन्, “हाम्रा पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शन, पीबीएम कमरेड जीवन्त, केन्द्रीय सदस्यहरू कमरेड प्रज्वलन, कमरेड बन्धुलगायत दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ भने देशव्यापी अप्रेसन सञ्चालन गरिरहेको छ । केपी वली सरकारको यो फासिवादी, निरङ्कुश, दमनकारी, आपराधिक दमनका विरुद्ध र कमरेड सुदर्शनलगायत नेताहरूको रिहाइका निम्ति स्थायी समितिको निर्णयअनुसार यही चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गर्दछौँ ।”

विप्लवले नेपाल बन्द आफूहरुको चाहना नभएर बाध्यता भएको जानकारी समेत गराएका छन् । एसइई परीक्षामा बाधा नपुगोस् भनेर चैत्र १६ गते शनिबार नेपाल बन्दका कार्यक्रम राखेको बताएका छन् ।

“नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ । यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ” विज्ञप्तिमा भनिएको छ ।

विप्लवले विज्ञप्तिमा सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगाउनी भित्र्याउने भन्दै लागनी सम्मेलनको हावादारी प्रचार गरिरहेको बताउँदै विदेशी लगानीकर्ताहरुको पैसामा दलाली गर्ने र लुट गर्ने नाटक मात्रै भएको आरोप लगाएका छन् । उनले नेपाल बन्द आन्तरिक विषय भएको बताउँदै भ्रमित र तरंगित नहुन समेत अपील गरेका छन् ।

“केपी वलीको फासिवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ । यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ । तथापि हाम्रो बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ” विज्ञप्तिमा विप्लवले भनेका छन् ।

विप्लवले देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट, विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी र आमजनतालाई बन्द सफल पारी केपीको फासिवादलाई प्रतिरोध गर्न विशेष अनुरोध गरेका छन् ।

प्रतिबन्धपछि बसेको स्थायी समिति बैठकको निर्णय भन्दै विप्लवले चैत्र २४ गतेसम्मका संघर्षका कार्यक्रम घोषणा समेत गरेका छन् ।

जसअनुसार

चैत १३ गते देशभर चोक जुलुस

चैत १४ गते देशभर कोणसभा

चैत १५ गते मशाल जुलुस

चैत १६ गते शनिबार नेपाल बन्द

चैत १९ देशभर अन्तरक्रिया

चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन

चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन

चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा रहेको छ ।

विप्लवले चैत्रभित्र पनि सरकारले प्रतिबन्ध नहटाए सरकारविरुद्ध प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal