आज :

नेकपाद्वारा नेपाल बन्दको घोषणा, यस्तो छ विप्लवको विज्ञप्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यही फागुन ३० गते नेपाल बन्दको आह्वान गरेको छ । महासचिव विप्लवले आफ्ना नेता-कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशन गरेको भन्दै नेपाल  बन्दको घोषणा गरेका छन् ।

शुक्रबार विज्ञप्‍ति जारी गरेर विप्लवले नेपाल बन्दसहितका चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका छन् । “केपी-प्रचण्ड सरकारले केही समय देखि देशभरी फासिष्ट दमन अभियान तीव्र वनाएको छ । दमनका क्रममा २३ गते विहान ५ वजे कपिलवस्तु शिवराज नगरपालिका वार्ड नं ९ को अञ्चलपुरका युवा दुर्गा वहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुन सुन्दरीडाडा जंगलमा लगेर गोली हानी घाइते तुल्याएको छ भने देशभरीबाट केन्द्रीय सदस्य कमरेड वन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । गाउँगाउँमा संकटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झुट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ, साथै घाइते कमरेड दुर्गा रोकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यी सम्पूर्ण राज्य—आतंक, दमन, गोलीकाण्ड, गिरफ्तारी, झुट्टा मुद्दाप्रति सबै राजनैतिक शक्ति, मानवधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस भन्ने आग्रह गर्दछौं” विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले राष्ट्रघात,भ्रष्टाचार, तस्करीविरुद्ध आफ्नो पार्टीले संघर्ष गरिरहेको भन्दै विप्लवले प्रतिरोध संघर्षको बाटो पकडेको बताएका छन् । उनले हाल सरकारले दमन गरेको भन्दै सहन नसकिने भन्दै त्यसको प्रतिरोध गर्नु आफूहरुको कर्तव्य ठानेको बताएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “सवैलाई थाहा छ कि हाम्रो पार्टीले दलाल पूँजीवादीसत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध संघर्ष गरिरहेको छ । ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन र जनताकै हितका लागि पार्टीले प्रतिरोध संघर्षको बाटो पकडीरहेको छ । विडंवना, कथित वामपन्थी, कम्युनिष्टको सरकार भनिने सामाजिक दलाल पूँजीवादी सरकारले ती राष्ट्रघाति, जनघाति, भ्रष्ट तत्वहरुको रक्षार्थ हाम्रो पार्टी विरुद्ध दमन गरिरहेको छ । हामी जनता र देशको हित, न्यायपूर्ण आवाज र संघर्ष विरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिराध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्दछौं । हाल चलिरहेको फासिष्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिदैन । जसरी शिवगडीका जनताले न्यायपूर्ण प्रतिरोध गरे त्यसरी नै देशव्यापी यसको उचित प्रतिरोध आवश्यक छ । यसैलागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरी भइरहेको सेनाप्रहरी परिचालन र दमनका विरुद्ध यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल वन्द आयोजना गरेको छ । यो वन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखाना लगायत सम्पूर्ण क्षेत्रहरु वन्द गरेर सहयोग पुर्याइदिन हुन विशेष आग्रह गर्दछौं ।”

महासचिव विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन गरेको भन्दै फासिवादी चरित्र उदाङ्गो भएको बताएका छन् ।

“केही दिन अगाडि प्रचण्ड र केपीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरुको फाँसिवादी चरित्र उदाङ्गो भएको छ । हामी स्पष्ट गर्न चाहन्छौं कि उनीहरुले जस्तोसुकै दमन गरेपनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधिनताको लागि गरिने संघर्षमा केही फरक पर्नेवाला छैन नत उनीहरुको दमन नै सफल हुने छ बरु क्रान्तिकारीहरुलाई अरु दृढ र समर्पित हुन प्रेरित गर्ने छ । अन्ततः दमन र विद्रोहको इतिहासमा केपी—प्रचण्ड होइन नेपाली श्रमिक जनता नै विजयी हुनेछन् । आउनुहोस सामाजिक दलाल पूँजीवादी सरकारको फासिवादी दमनको चौतर्फी सशक्त प्रतिरोध गरौं ! फागुन ३० गते नेपाल बन्द गरौं” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal