आज :

पशुपति शर्मालाई विप्लवको साथ, यस्तो कडा विज्ञप्ति

काठमाडौँ । गायक पशुपति शर्माको गीत राजनीतिक दवावका कारण युट्युबाट हटाइएकोमा चौतर्फी विरोध भइरहेको छ । शर्माले देशमा भइरहेको भ्रष्टाचारमाथि व्यग्य गर्दै ‘लुट कान्छा लुट, सकेजति लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट’ गीतको भिडियो सार्वजनिक भएसँगै सत्तारुढ पार्टीका नेता कार्यकर्ताले धम्की दिएका थिए ।

सत्तारुढ (नेकपा)को युवा संगठन युवा संघ नेपालले धम्कीपूर्ण विज्ञप्ति जारी गरेरै उक्त गीतको विरोध गरेको थियो । योसँगै सत्तारुढ दलकै नेता कार्यकर्ताले उक्त गीत्बाट प्रतिवन्द लगाउने पर्ने माग गरेका थिए । उनीहरुले गीतलाई युट्युवबाट हटाउन दवाव दिएका थिए ।
जागरणमूलक उक्त गीत हटाइएसँगै सामाजिक संजालदेखि मिडियामा चर्को विरोध भइरहेको छ । योसँगै राजनीतिक पार्टीका नेताहरुले पनि गीतको समर्थनमा गर्न थालेका छन् ।

यसैबीच विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले विरोध तथा भत्र्सना गर्दै सरकारको यस्तो किसिमको रबैयाको निकृष्ट र निर्लज्ज सामाजिक फासिवादी हर्कत भएको जनाएको छ ।

महासङ्घका अध्यक्ष माइला लामाले आइतबार प्रेसविज्ञप्ति प्रकाशित गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । लामाले महासंघ जनताका आवाज–भावना मुखरित गर्ने कुनै पनि कलाकार र तिनका सिर्जनकर्ममाथि हुने दमनका विरुद्ध उभिने बताएका छन् । उनले जनताको अजाव मुखरित गर्ने गीतलाई प्रतिबन्ध लगाइनु निन्दनीय भएको भन्दै कलाकारको अभिव्यक्ति स्वतन्त्रालाई सम्मान गर्न अपील समेत गरेका छन् ।

“जनताका आवाज मुखरित गर्ने गीतलाई प्रतिबन्ध लगाइनु अत्यन्त निन्दनीय छ । यसर्थ हामी जनताका पक्षमा उभिने कुनै पनि कला तथा कलाकारको अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सम्बन्धित पक्षसित अपिल गर्दछौँ । अन्यथा हामी यो सरकारका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौँ । यसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् सरकार हुने कुरा पनि हामी यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ” विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

केपी–प्रचण्डको सरकार यतिबेला दुईतिहाइको कम्युनिस्ट आबरणमा दिन–प्रतिदिन देश र जनताका विरुद्ध जाइलाग्दै छ । ‘शान्ति र समृद्धि’ को भाषण गरेर नथाक्ने यो सरकारले पशुपति शर्माको ‘लुट कान्छा लुट सकेजति लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको जागरणमूलक गीतमाथि जाइलाग्दै बन्द गराएको छ । सरकार, सरकारका केही मन्त्री र सरकारनिकट भातृ सङ्गठनको धम्कीपूर्ण चर्को दबाबपछि यो गीतलाई अहिले यु–ट्युबबाट हटाइएको छ । सरकारको यो हददर्जाको निकृष्ट रवैयाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । यो सरकारको अर्को निकृष्ट र निर्लज्ज सामाजिक फासिवादी हर्कत हो । नेपाली समाज आज विभिन्न समस्याबाट गुज्रिरहेको छ । अधिकांश समस्याका मुख्य कारक तत्व सरकार आफैँ बन्न पुगेको छ । सरकारकोे यस किसिमको रवैयाको चारैतिरबाट विरोध र भत्र्सना पनि हुँदै आएको छ । यही विरोध, भण्डाफोर र जनजागरणस्वरूप पशुपति शर्माले प्रस्तुत गीतबाट नेपाली जनताका बीचमा जुन जागरण फैलाउन कोसिस गर्नुभएको छ, त्यसको निम्ति हामी पशुपति शर्मालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । देशभक्त, क्रान्तिकारी, परिवर्तनप्रेमीहरूलाई कथित दुईतिहाइको दम्भमा बन्दुक र बुटको आतङ्क सिर्जना गर्दै देश र जनताका विरुद्ध उभिएको यो सरकारका विरुद्ध गीतबाट यति बोल्नु पनि साहसिक कार्य हो । यस्तो साहसिक कार्य गर्नुभएकोमा हामी उहाँलगायत यो गीतसित सम्बद्ध सबैलाई हार्दिक बधाई पनि भन्न चाहन्छौँ ।

नेपालको हरेक राजनीति परिवर्तनमा नेपालका लेखक, साहित्यकार तथा कलाकारहरूले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिंदै आउनुभएको छ । महान् जनयुद्धमा कलाकारहरूको अत्यन्त महत्वपूर्ण भूमिका थियो । जनयुद्धको दौरान कैयौँ कलाकारले बलिदानको कोटा पनि चुक्ता गर्नुभयो । जनविरोधी शासनव्यवस्था अस्वीकार गरेकै भरमा कवि कृष्ण सेन ‘इच्छुक’ लाई सत्ताले महेन्द्र पुलिस क्लबमा कुटीकुटी हत्या गरेको थियो । जनआन्दोलनको दौरानमा सहरका कलाकारहरूले सडकमै उत्रिएर परिवर्तनको स्वर घन्काउनुभएको थियो । ती कलाकारको जुन बलिदान, जुन परिवर्तनको स्वरले वर्तमान सरकार सत्तासीन हुन पुगेको छ, आज तिनै कलाकारलाई यो सरकार दुश्मन ठानिरहेको छ । यो आश्चर्यको विषय हो ।

कुनै पनि देशका न्यायप्रेमी तथा स्वतन्त्रताप्रेमी नागरिक खराब शासक र खराब व्यवस्थालाई स्वीकार्न बाध्य छैनन् । कलाकारले गीतका माध्यमबाट आफ्ना भावना व्यक्त गर्न रोक लगाउनु सरासर फासिवादी चिन्तनको उपज हो । यसले सरकार जनताको कुरा सुन्न तयार छैन भन्ने कुरालाई नै प्रमाणित गर्दछ । जनताका मौलिक हक–अधिकारका खिलाफ स्वयम् सरकार उभिएपछि यतिबेला तिनका विरुद्ध सशक्त प्रतिवाद गर्नु, प्रतिरोध गर्नु जनताको नैसर्गिक अधिकार बन्न पुगेको छ । आज राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न गम्भीर मोडमा पुगेको त छँदै छ, सरकार जनताका लेखक, साहित्यकार तथा कलाकारलाई खतरनाक दुश्मन ठान्दै तिनका विरुद्ध व्यापक दमनमा उत्रिएको छ । पशुपति शर्मा र उहाँको उक्त गीतमाथिको प्रतिबन्धलाई हामीले फासिवादी प्रकरणको निरन्तरताको नयाँ परिघटनाका रूपमा लिएका छौँ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनताका हरेक न्यायपूर्ण परिवर्तनकारी राजनीतिक–सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह मात्र गरेको छैन, यसले इच्छुकलगायत १७० भन्दा बढी सांस्कृतिक योद्धाहरूले बलिदानको कोटा चुक्ता गरिसकेको छ । हाम्रो सङ्गठन जनताका आवाज–भावना मुखरित गर्ने कुनै पनि कलाकार र तिनका सिर्जनकर्ममाथि हुने दमनको विरुद्ध उभिन चाहन्छ, प्रतिरोध गर्न चाहन्छ । जनताका आवाज मुखरित गर्ने गीतलाई प्रतिबन्ध लगाइनु अत्यन्त निन्दनीय छ । यसर्थ, हामी जनताका पक्षमा उभिने कुनै पनि कला तथा कलाकारको अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सम्बन्धित पक्षसित अपील गर्दछौँ, अन्यथा हामी यो सरकारका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौँ, जसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् सरकार हुने कुरा पनि हामी यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।

माइला लामा
अध्यक्ष

यस्तो छ उक्त गीत 

हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो

स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो

बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ

त्यसकै छोरो पढ्न फेरि बोर्डिङगतिर जान्छ

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट

००००

डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ

बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ

हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो

दुईवर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ?

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘

००००

गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा

त्यै फालेका राजाजस्ता कैंयौं निस्के आज

जनताको मुटुभित्र काँडा कति कति

डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘

००००

वाइडबडी जहाँज किने अरे लुट्नुसम्म लुटे

सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे ?

ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन्

कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन्

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट

००००

हजुरबा नि यसै मरे बाऊ नि यसै मर्छन्

हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ?

गर्ने काम केही हैन, ठूला ठूला भाषण

स्वर्गजस्तो देशमा हजुर यमराजको शासन

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘

००००

सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन

ट्राफिक पुलिस सीटी फुक्छ, कोहीले सुन्ने हैन

त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च

हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ ?

लट्न सके लुट कान्छा, लुट्न सके लुट

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘

००००

ठेकदारले नि टेन्डर पार्छ लिन्छ ठेक्का पट्टा

झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा

यता गयो लुटेकै छन् लुट्छन् उता गयो

सब जनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो

लट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाईँदैन नेपालमै हो छुट‘

०००००

ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन्

तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन् ।

अब गर्न छोड्दे कान्छा आदर्शको खेती

केही न केही त बुझिस होला भनेपछि यति

लट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाईँदैन नेपालमै हो छुट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal