आज :

वैद्यको निर्देशनमा सुगतरत्नमाथि कालोमोसो, मन्त्री अधिकारी, र पूर्वमन्त्री पनि सूचीमा

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सगतरत्न कंसकारमाथि युवाहरुले कालोमोसो दलेका छन् । वाइडबडी विमान खरिद प्रकारणमा भ्रष्टाचार गरेको भन्दै सदनदेखि सडकसम्म विरोध भइरहेको बेला नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगका युवाहरुले शुक्रबार कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् । सार्वजनिक लेखा समिति अन्तरगत गठन भएको उपसमितिले वाइडबडी प्रकरणमा कंसाकारलाई मुख्य दोषी ठहर गर्दै कारवाहीको लागि सिफारिस गरेको थियो ।

लिगको ३ नं. प्रदेशका संयोजक संकल्पले घटना लगत्तै एक वक्तव्य जारी गरेर घटनाको जिम्मा लिएका छन् । उनले संगठनकै योजनामा निगमभित्र कंसकारकै कक्षमा कालोमसो दली कारबाही गरेको दाबी गरेका छन् । दिउँसो ४ बजेतिर कंसकारलाई कालोमोसो दलिएको हो ।
वाइडबडी खरिदमा प्रकरणमा ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुख्य भूमिका निभाएका भनिएका कंसकारलाई क्रान्तिकारी युवाहरुले कारवाही गरेको विज्ञप्तिमा उल्लेख छ ।

“पर्यटन मन्त्रालय तथा नेपाल वायु सेवा निगम समेतको संलग्नतामा खरिद गरिएको दुईवटा वाइडबडी जहाज (ए ३३०–२००) को खरिद प्रक्रियामा राज्य स्रोत, साधनको चरम दुरुपयोग गरी ४ अर्ब ३५ करोडभन्दा बढी अनियमितता भएको र त्यसमा निगमका महाप्रबन्धक कंसकारको मुख्य भूमिका देखिएकोले उनीमाथि कारबाही गरिएको हो” विज्ञप्तिको पहिलो बुँदामा भनिएको छ ।

त्यसैगरी संयोजक संकल्‍पले प्रकरणमा संलग्नलाई बर्खास्त गर्नुको साटो सरकारले भ्रष्ट मन्त्री र कर्मचारीलाई चोख्यान लागेको भन्दै विज्ञप्तिमा अापत्ति जनाएका छन् । उनले सो प्रकरणमा संलग्न सबैलाई बर्खास्त गर्न माग समेत गरेका छन् ।

पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ को निर्देशनमा क्रान्तिकारी युवाहरुले वाइडबडी प्रकारणका भ्रष्टाचारीलाई कारवाहीको सुरु गरेको घटनामा संलग्न एक युवाले बताए । काण्डमा मुछिएका पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्र देवसहित उपसमितिले दोषी ठहर गरेका संचालक समितिका अध्यक्ष र सदस्यहरु कारवाहीको सूचीमा रहेको बताए । भ्रष्टाचारी, कालोबजारी, महंगी र विचौलियाविरुद्ध लिगले अभियान चलाइरहेको छ ।

कंसकारलाई कालोमोसो लगाएपछि जारी गरिएको विज्ञप्तिको पूर्णपाठः

क्रान्तिकारी युवा लिग, नेपाल ३ नंं. प्रदेशको योजनामा आज (२०७५÷०९÷२० गते) नेपाल वायु सेवा निगमका भ्रष्ट महाप्रबन्धक सुगतरत्न कंसकारमाथि उनकै कार्यकक्षमा दिउसो ४ बजे कालोमसो दली कारबाही गरिएको छ । यस कारबाहीबारे हाम्रो संगठनको धारणा सार्वजनिक गर्न हामीले यो वक्तव्य जारी गरेका छौं ।

१. पर्यटन मन्त्रालय तथा नेपाल वायु सेवा निगम समेतको संलग्नतामा खरिद गरिएको दुईवटा वाइडबडी जहाज (ए ३३०–२००) को खरिद प्रक्रियामा राज्य स्रोत, साधनको चरम दुरुपयोग गरी ४ अर्ब ३५ करोडभन्दा बढी अनियमितता भएको र त्यसमा निगमका महाप्रबन्धक कंसकारको मुख्य भूमिका देखिएकोले उनीमाथि कारबाही गरिएको हो ।

२. यतिबेला नेपालमा एकातिर साम्राज्यवादी–विस्तारवादी विदेशी शक्तिकेन्द्रको निर्देशन र समर्थन प्राप्त दलाल प्रतिक्रियावादी शक्ति राज्यसत्ता सञ्चालनको केन्द्रमा छ भने अर्को्तिर लाखौं लाख उत्पीडित सर्वहारा मजदुर किसान जनताको समर्थन र बलिदानको बीचबाट हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा वर्तमान दलाल प्रतिक्रियावादी सत्ताको विरुद्धमा नयाँ जनवादी क्रान्तिको अभियानमा भीषण तयारी गर्दै अगाडि बढिरहेको छ ।

३. देशमा जनताले आजसम्म गरेको आन्दोलन, लडेको जनयुद्ध र त्यसको म्याण्डेट विपरीत हत्या, हिंसा, लुट, आतंक, बलात्कार जस्ता जघन्य सामाजिक अपराधका घटनाले स्वतन्त्रतापूर्वक बाँच्न पाउने आम जनताको न्याय प्रदत्त अधिकार विपरीत समाजको शान्ति सुरक्षाको स्थिति थिलथिलो भएको छ भने राष्ट्रघात, जनघात र संस्थागत भ्रष्टाचारले सीमा नाघेको छ । जसको पछिल्लो कडीको रुपमा वाइडबडी जहाज खरिद प्रकरणलाई जोड्न सकिन्छ ।

४. वाइडबडी जहाज खरिद प्रकरणमा जहाजको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौंट, जहाज खरिद प्रक्रिया, खरिद बिक्री सम्झौता र भुक्तानी प्रक्रियामा ४ अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले मंगलबार मात्र प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र नारायण देवसहित पूर्व सचिव, वहालवाल सचिव र विभिन्न कर्मचारीको नाम सार्वजनिक गरेको छ । यसमा नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसकारको मुख्य भूमिका रहेको पनि तथ्यहरुले पुष्टि गरेको छ ।

५. यस पृष्ठभूमिमा भ्रष्ट मन्त्री र कर्मचारीहरुलाई जिम्मेवारीबाट बर्खास्त गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा सरकारले यही १८ गते पूर्व प्रधानन्यायाधिश गोविन्द पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सरकारको यो कदम भ्रष्ट मन्त्री र कर्मचारीलाई चोख्याउन गरिएको बद्नियतपूर्ण कार्य हो ।

६. अन्तमा, हाम्रो संगठन देशभित्र र बाहिर छरिएर रहेका आम शोषित पीडित युवाहरुलाई क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचार, तस्कर, माफियाहरुका विरुद्ध थालेको यो अभियानमा लामबद्ध हुन हार्दिक आव्हान समेत गर्दछ ।”

संकल्प
संयोजक

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal