आज :

कर्णालीका बिरामीको चित्कार: ‘डाक्टर साब, वीरगञ्जको रिसमा हामीलाई अकालमै नमार्नुहोस्’

  • नवीन रिजाल

​सुर्खेत । “मृगौला सुन्निएर सास फेर्नै धौ-धौ भइ सक्यो, भित्र ओपीडीको ढोकामा चाबी ठोकिएको छ । आज डाक्टरले नहेरिदिए भोलि सम्म मेरो सास रहला कि नरहला ?”

​कर्णाली प्रदेश अस्पताल सुर्खेतको चिसो भुइँमा छटपटिँदै गर्नुभएका दैलेख चामुण्डा बिन्द्रासैनीका थानेश्वर तिवारीको यो कारुणिक प्रश्नले त्यहाँ उपस्थित जो कोहीको आँखा रसाउँथ्यो। तर, उहाँको चित्कार सुनिदिने न त त्यहाँ कुनै चिकित्सक थिए, न त राज्यको कुनै निकाय नै।

​वीरगञ्जको नारायणी अस्पतालमा भएको एउटा अप्रिय घटना र प्रशासनिक खिचातानीको आगो आज सयौँ किलो मिटर टाढा कर्णालीका गरिब बिरामीको चुलो र सास सम्म पुगेर सल्किएको छ। नेपाल चिकित्सक संघको आह्वानमा भएको देश व्यापी ‘स्वास्थ्य सेवा ठप्प’ आन्दोलनका कारण विकट भूगोलका बस्ती बाट अन्तिम आशा बोकेर आएका बिरामीहरू अस्पतालको संघारमै अकाल मृत्युको त्रासमा छन्।

​भौगोलिक रूपमा अत्यन्तै विकट, सडक सञ्जालको सास्ती र गरिबीले पछाडि पारिएको कर्णालीका गाउँहरू बाट अस्पताल पुग्नु आफैँमा एउटा युद्ध जित्नु सरह हुन्छ। घरको अन्नपात बेचेर, साहूको ऋण काढेर र डोको तथा स्टेचरमा बोकिएर प्रदेश अस्पताल सुर्खेत आइ पुगेका बिरामीहरूका लागि हडतालको खबर वज्रपात बनेर खसेको छ।

​अस्पतालको ओपीडी सेवा पूर्ण रूपमा ठप्प भए पछि आकस्मिक (इमर्जेन्सी) कक्ष तिर बिरामी र कुरुवाको रुवाबासी छ। क्षमता भन्दा तेब्बर चापका कारण इमर्जेन्सीको भुइँ र गल्लीहरूमै बिरामीहरू छटपटाइरहेका छन्। त्यहाँ पनि पालो पाउन नसकेर गम्भीर प्रकृतिका मुटु, मृगौला, कलेजो र मस्तिष्क घातका बिरामीहरू जीवन र मृत्युको दोसाँधमा पुगेका छन्।

​दैलेखकै दुल्लु नगरपालिका–११ कि सीमा सुनार आफ्नी वृद्ध आमा लाई लिएर प्रदेश अस्पताल आइपुगेको चार दिन भयो। हाडजोर्नीको असह्य पीडाले आमाको आँसु थामिएको छैन, तर यता सीमा लाई भने सहरको मँहगो बसाइमा खान र बस्नै धौ-धौ भइसकेको छ। “गाउँमा साहू सँग सय कडा पाँचको ब्याजमा ऋण काढेर आमा लाई बचाउन ल्याएकी थिएँ,” आँसु पुछ्दै सीमाले भन्नुभयो, “चार दिन देखि अस्पतालको ढोकामा कुरिरहेका छौँ । न उपचार पाइन्छ, न त होटलमा बस्ने पैसा बाँकी छ। हामीजस्ता गरिब त अस्पतालको ढोकामै मर्ने भयौँ।”

​चिकित्सकहरू माथि हुने हिंसा र दुर्व्यवहार निन्दनीय हो, तर त्यसको बदलामा हजारौँ माइल टाढाका निर्दोष, असहाय र गम्भीर बिरामीको जीवन लाई बन्धक बनाइनु कत्तिको न्याय सङ्गत हो? यो प्रश्न आज कर्णालीका कुनाकाप्चा बाट आएका सयौँ बिरामीको अनुहारमा स्पष्ट देखिन्थ्यो।

​कर्णालीमा अझै पनि धेरै जसो बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल आइपुग्छन्। यस्तो स्थितिमा एक दिन मात्र पनि उपचार रोकिनु भनेको धेरैका लागि स्थायी रूपमा संसार बाट बिदा हुनु हो।
​अस्पताल परिसरमा छटपटाइरहेका बिरामी र उनका आफन्तहरूको एउटै याचना छ— “तपाईँहरूको लडाइँ राज्य सँग होला, तर सजाय हामी गरिब र बिरामी लाई नदिनुहोस्। हाम्रा लागि अस्पताल नै अन्तिम भरोसा हो, यस लाई बन्द गरेर हाम्रो सास नछिन्नुहोस्।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal