हुम्ला, सिमकोट । हुम्लाका विभिन्न कम्युनिस्ट पार्टीका नेताहरूले तत्काल कार्यगत एकता गर्दै भविष्यमा पार्टी एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टी हुम्ला जिल्ला समितिको आयोजनामा सिमकोटमा भएको ‘हुम्लाको कम्युनिस्ट आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेताहरूले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एकता आवश्यक रहेको बताएका हुन्।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाले विगतमा विभिन्न कारणले विभाजित भएका कम्युनिस्ट पार्टीहरू समाजवादी कार्यदिशामा अघि बढ्न चाहन्छन् भने तत्काल कार्यगत एकता गर्दै भविष्यमा पार्टी एकताको आधार तयार गर्नुपर्ने बताउनुभयो।
उहाँले शिक्षा, स्वास्थ्य र उत्पादन क्षेत्रमा समाजवादी मोडल लागू गर्ने विषयमा अध्ययन, अनुसन्धान र तयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हस्तबहादुर शाहीले राजनीतिक परिवर्तनका लागि हुम्लाका वामपन्थी शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताउनुभयो।
पूर्वसांसद छक्कबहादुर लामाले आफू दुई पटक निर्वाचित भए पनि राज्य प्रणालीको प्रवृत्तिका कारण अपेक्षित काम गर्न नसकेको अनुभव सुनाउँदै कम्युनिस्ट नेताहरूले समाजको गहिरो अध्ययन गरी वैज्ञानिक ढंगले अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

नेकपाका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला समिति सभापति वीरजङ शाहीले धेरै पहिलेदेखि गर्नुपर्ने काम अहिले जिल्ला पार्टीले सुरु गरेको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले यस्तो पहललाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज रंगमल रोकायाले निर्वाचित जनप्रतिनिधिहरूले राजनीतिक, आर्थिक र वर्ग संघर्षमा गरेको योगदानको समीक्षा गर्ने बेला आएको बताउनुभयो।
केन्द्रीय सदस्य प्रेमा लामाले नेताहरूका कारण युवामा निराशा बढ्दै गएको भन्दै त्यसको समाधानका लागि गम्भीरतापूर्वक काम गर्नुपर्ने बताउनुभयो।
नेकपा एमालेका जिल्ला अध्यक्ष ज्ञामी बुमीले हुम्लाका कम्युनिस्टहरू अहिले ‘सात करङ भाँचिएको घाइते’ अवस्थामा रहेको टिप्पणी गर्दै कार्यगत मोर्चामार्फत कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दै भविष्यमा पार्टी एकता गर्नुपर्ने बताउनुभयो।
नेकपा मालेका केन्द्रीय सदस्य गोरासिंह बोहोराले अहिलेको राजनीति विचारमा आधारित नभई जागिर, उपभोक्ता र पैसामा केन्द्रित हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।
नेकपा माओवादीका केन्द्रीय सदस्य कृष्ण बोहोराले सबै कम्युनिस्ट पार्टीले आत्मालोचना गर्दै श्रम र संघर्षमा अगाडि बढ्नुपर्ने बताउनुभयो।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रकाश शाहीले हुम्ली जनताले कम्युनिस्टहरूलाई साथ दिँदै आए पनि नेताहरूबीचको विभाजन र अन्तरघातका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताउनुभयो।
नेपाली कम्युनिस्ट पार्टीका जिल्ला सहसंयोजक धर्मराज बोहोराले भनाइ वामपन्थी र व्यवहार दक्षिणपन्थी हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सिमकोट इन्चार्ज जसबहादुर भण्डारीले आगामी चुनौती सामना गर्न कम्युनिस्टहरू एक भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी नेताहरूले केन्द्रमा पार्टी एकता सम्भव भए तत्कालै गर्नुपर्ने र त्यो सम्भव नभए पनि हुम्लाका सबै कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिएर एकताको सन्देश दिनुपर्ने बताएका छन्। उनीहरूले यस्तो छलफललाई पालिका र वडा तहसम्म विस्तार गर्दै प्रदेश तथा केन्द्र तहसम्म पुर्याउनुपर्नेमा समेत जोड दिएका छन्।


अनलाइन डबली



