काठमाडौं । राष्ट्रिय जेनज नागरिक अभियानले पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै नेपाल आयल निगमलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार अभियानले मूल्यवृद्धिका कारण आम जनजीवन कष्टकर बनेको भन्दै मूल्य घटाउन माग गरेको हो ।
अभियानले निगमका प्रबन्ध निर्देशक डा.चण्डिका भट्टलाई उनको कार्यकक्षमै गएर सो ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनलगायत पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दा जनजीवनमा गम्भीर असर परेको उल्लेख गरिएको छ । सार्वजनिक यातायातदेखि दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको र यसले बजारमा महँगी बढाएको पत्रमा भनिएको छ ।
पत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको उल्लेख गर्दै यस्तो संकटको अवस्थामा जनतालाई राहत दिनुपर्नेमा उल्टै मूल्य बढाउनु दुःखद भएको टिप्पणी गरिएको छ ।
अभियानले दक्षिण एसियाका विभिन्न मुलुकहरूले तेल मूल्यवृद्धिका बेला राहत र सहुलियतका कार्यक्रम ल्याइरहेको उदाहरण दिँदै नेपालमा भने निरन्तर मूल्यवृद्धि हुनु चिन्ताजनक भएको जनाएको छ। पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेसँगै नेपालले पनि इन्धनको मूल्य समायोजन गरेको छ, जसले उपभोक्तामाथि थप आर्थिक भार परेको विभिन्न रिपोर्टहरूले देखाएका छन् ।
त्यसैगरी, विश्व बजारमा ऊर्जा आपूर्ति अस्थिर हुँदा नेपालमा एलपी ग्याससमेत व्यवस्थापनका लागि रेशनिङ गर्ने अवस्था आएको समाचार सार्वजनिक भइसकेको छ ।
अभियानले सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार करमा छुट दिइएको अवस्थामा पनि मूल्य नघट्नु सरकार र निगमको नीतिगत कमजोरी भएको आरोप लगाएको छ ।
अन्त्यमा अभियानले पेट्रोलियम पदार्थको मूल्य तत्काल पुनरावलोकन गरी जनतालाई राहत दिन सरकार र नेपाल आयल निगमसँग माग गरेको छ । अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम र प्रवक्ता विर्जन विश्वकर्मासहति सहभागी रहेका थिए ।


अनलाइन डबली




