आज :

कञ्चनजङ्घामा पर्यटक चहलपहल बढ्दै, स्थानीय पर्यटन व्यवसाय उत्साहित

  • अनलाइन डबली

काठमाडौं । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै स्थानीय पर्यटन व्यवसायमा उत्साह थपिएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो ।
कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त मानिन्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा मात्रै १६५ विदेशी पर्यटकले भ्रमण गरेका छन्।

वर्षमा दुई प्रमुख पर्यटकीय याम रहने यस क्षेत्रमा पहिलो याम चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म हुने गर्दछ। गत वर्ष पहिलो याममै ७५० विदेशी पर्यटक यहाँ आएका थिए।

कञ्चनजङ्घा आधार शिविर पुग्न पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर वा काठमाडौँबाट हवाईमार्गमार्फत सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरिन्छ।

पर्यटकलाई लक्षित गर्दै पदमार्गमा साना–ठूला गरी ५२ वटा होटल सञ्चालनमा छन्। फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा करिब सात करोड रुपैयाँभन्दा बढी लगानीमा ‘सिङ्गी नामजोंग होटल’ सञ्चालनमा आएको छ । तीन हजार ५०० देखि चार हजार ५०० मिटर उचाइसम्म एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा छन् भने अन्य होटलहरूमा पनि उल्लेख्य लगानी गरिएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा पनि पर्यटक लक्षित ठूला होटलहरू सञ्चालनमा आएपछि होटल व्यवसायी थप आशावादी बनेका छन्। स्थानीय समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ। घुन्सा, फले र याम्फुदिन क्षेत्रका अधिकांश परिवार प्रत्यक्ष रूपमा पर्यटनसँग जोडिएका छन्।

खेतीपातीको सम्भावना कम भएकाले पछिल्लो समय युवापुस्ता पशुपालनभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। कोही होटल सञ्चालन गरेर स्वरोजगार बनेका छन् भने कोही पर्यटक मार्गदर्शक तथा सहयोगीका रूपमा आयआर्जन गरिरहेका छन्।

सन् १९५५ मे २५ मा कञ्चनजङ्घाको पहिलो आरोहण भएको इतिहास छ। विगतमा फुङ्लिङबाट पैदल यात्रा गर्दा २४ दिन लाग्ने यात्रा अहिले छोटिएर ११ देखि १६ दिनमै दुवै आधार शिविर पुगेर फर्कन सकिने भएको छ।

विशेषगरी चैत, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिरमा यहाँ पर्यटकको चाप बढी हुने गर्दछ भने हिमाल आरोहण मुख्यतः वैशाख र जेठमा हुने गर्दछ। जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन र स्विडेनलगायत देशबाट पर्यटक यहाँ आउने गरेका छन्। साथै भारत र चीनबाट पनि पर्यटक भ्रमण तथा आरोहणका लागि पुग्ने गरेका छन्।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal