
काठमाडौं । अन्ततः मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी बन्द गर्ने अमेरिकी सरकारले निर्णय गरेसँगै नेपालमा यो परियोजना बन्द हुने पक्का भएको हो ।
डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) गठन गरेका थिए । सोही विभागको सिफारिसमा नेपालमा एमसीसी बन्द गर्ने निर्णय गरेको हो ।
लामो बिबादबीच नेपालमा एमसीसी परियोजना लागु गर्ने सरकारले संसदबाट अनुमोदन गरेको थियो । अमेरिकी सैन्य रणनीति अन्तरगतको यो परियोजना लागु गर्न नहुने भन्दै व्यापक विरोध भएपनि सरकारले जबरजस्त संसदबाट पारित गरेको थियो ।
विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने भन्दै अमेरिकाले आफ्नो सुरक्षा छातामा ल्याउन नेपालसहितका देशहरुमा एमसीसी अगाडि बढाएको थियो । नेपालमा एमसीए नेपालमार्फत् सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम अघि बढाएको थियो ।
अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकी सरकारको डज विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख रहेको समाचारामा उल्लेख गरेका छन् ।
एमसीसी बन्द गर्ने उद्देश्यसहित ट्रम्प प्रशासनले ३२० जना भन्दा बढी कर्मचारीहरूलाई स्वैच्छिक अवकाश र स्थगित राजीनामाको विकल्प दिएको छ । यसको समय अप्रिल २९ सम्म रहेको कर्मचारीलाई पठाएको इमेलमा उल्लेख गरिएको बताइएको छ ।
एमसीसी परियोजना सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा, राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा स्थापना गरिएको थियो ।
लामो बिबादबीच नेपालले २०७८ फागुन १५ गते व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेको थियो । नेपालमा एमसीसी अन्तर्गत ५५ करोड अमेरिकी डलरको अनुदान सहयोग प्राप्त भएको छ । यो अनुदानले लमही–बुटवल सडक स्तरोन्नति र १६० केभी डबल सर्किट प्रसारण लाइन निर्माण जस्ता ठूला पूर्वाधार योजनाहरूमा खर्च भइरहेको छ ।
एमसीसी नेपाल लागु भएपछि कायापलट हुन्छ भन्नेहरु यो समाचारसँगै निरास भएका छन् ।