
काठमाडौं । नेपालमा मनसुन भित्रिएको केही दिनमै देशका अधिकांश क्षेत्रमा बर्षा र मौसम बदली भइरहेको छ । रातिबाट पूर्वी नेपालका अधिकांश स्थानमा भारी बर्षा भइरहेको छ ।
नेपालमा यस बर्ष ५७ बर्षयताकै छिटो मनसुन भित्रिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेशमा भारीदेखि अति भारीसम्म वर्षा भइरहेको छ । कोसी प्रदेशमा बिहीबार रातिदेखि मनसुनी वायु वहन थालेको हो। त्यसयता त्यहाँ वर्षा हुने क्रम ह्वात्तै बढेको छ।
यसै क्रममा पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारीसम्म वर्षा भएको मौसम महाशाखाले जनाएको छ।
मशाखाका अनुसार शनिबार बिहानै कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ।
महाशाखाले पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानहरूमा धेरै भारीदेखि अति भारी वर्षा भएको र पानी पार्ने प्रणाली उत्तरतिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको धेरै ठाउँमा क्षति पुर्याएको छ। पछि यातायात अवरुद्ध भएको छ ।
अविरल बर्षासँगै लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा सडक बगाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बाढीले करिब १०० मिटर कालोपत्रे सडक बगाएको छ । सडक बगेपछि दुवै तर्फका सवारी रोकिएका छन् ।