
काठमाडौं । जिल्ला अदालतले हत्या अभियोगमा दोषी भएका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई उच्च अदालतले सफाइ दिएपछि चौतर्फी विरोध भइरहेको छ । पहिलो संविधान सभाको निर्वाचनको अधिल्लो दिन रौतहट बम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको घटनामा जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गरेको थियो ।
उक्त फैसलाका विरुद्ध आलम उच्चमा गएका थिए । लामो समयदेखि थातीमा रहेको उक्त मुद्दालाई उल्ट्याउँदै सफाइ दिने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा युवराज पौडेलले उजुरी हालेका हुन् ।
जिल्ला अदालतले दोषी ठहर गरेका व्यक्तिलाई सफाइ दिएका न्यायाधीश पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग छ ।
गत बुधबार उच्च अदालत जनकपुरको बीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो ।