
काठमाडौँ। प्रधामन्त्री केपी ओलीलाई माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार प्रकरण आफूबाट छानबिन गर्न आग्रह गरेका छन् ।
माओवादी पत्रकारको संस्था प्रेस सेन्टर नुवाकोटले शनिबार विदुरमा गरेको पत्रकार भेटभाटमा उनले शेरा दरबारबारेको छानबिन आफैंबाट सुरु गर्न यसअघि नै सार्वजनिक रुपमा भनिसकेको स्मरण गरे ।
तर, प्रधानमन्त्री केपी ओलीले आफूले जस्तै गिरिबन्धु टी स्टेट प्रकरणमा आफूबाट छानबिन गर्न आग्रह गर्न नसकेको उनले बताए । प्रचण्डले भने-‘मैले सदनमा उभिएर प्रधानमन्त्री जी तुरून्तै शेरा दरबार प्रकरणमा छानबिन सुरू गरिहाल्नुस् भनेको थिएँ , छानबिन गर्न आँट हुने स्थिति भएन किनकी मेरो कुनै संलग्नता थिएन ।’
‘ गिरिबन्धु मैबाट छानबिन गरौं भनेर प्रधानमन्त्रीजीले भनुन् त । अरू जग्गाको केसमा अरूले भनुन् त ।’ यसअघि नै हिसाब मिलिसकेको लडाकु शिविरको विषय पनि बेलाबेला उठाउने गरिएको भन्दै उनले त्यसमा पनि छानबिन गर्न आफूहरु खुला रहेको उल्लेख गरे ।