
काठमाडौँ ।
गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ सार्वजनिक हुने भएको छ । भोलि सोमवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको हो । नेपालको पहिलो चलचित्र ‘आमा’की आमा चैत्यदेवी सिंहबाट गीत सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी गायक श्रेष्ठले दिए ।
आफ्नो गीत सार्वजनिक हुँदै गर्दा आफु निकै उत्साहित रहेको गायक श्रेष्ठले बताए । ‘एउटा राम्रो गीत बनाउन हामी सबैले निकै मिहिनेत गरेका छौं । दर्शक श्रोताले माया गरिदिनुहुन्छ, साथ दिनुहुन्छ भन्ने विश्वास छ’ श्रेष्ठले भने । कार्यक्रम लगत्तै आफ्नै युट्युब च्यानल ‘पुरु श्रेष्ठ’ मार्फत उक्त म्यूजिक भिडियो विश्वव्यापी सार्वजनिक हुने जानकारी पनि श्रेष्ठले दिए ।
सार्वजनिक गर्न लागिएको म्यूजिक भिडियोको छायाङ्कन र दृश्य सम्पादन पूर्ण महर्जनले गरेका छन् । निर्देशन बिराजकाजी राजोपाध्यायको रहेको छ । आफुले करीब १५ वर्ष पछि फेरी म्यूजिक भिडियोको निर्देशन गरेको निर्देशक राजोपाध्यायले बताए । ‘विगतमा नेपाल टेलिभिजनमा हसना कार्यक्रम संचालन गर्दाको समयमा केही म्यूजिक भिडियोको निर्देशन गरेको थिएँ । अब धेरै वर्ष पछि एउटा राम्रो गीतको म्यूजिक भिडियो बनाउन पाउँदा खुसी लागेको छ’ राजोपाध्यायको भनाई हो ।
गीतको छायाङ्कन दहचोक, मातातीर्थ र काठमाडौंको खुसिबुँ क्षेत्रमा गरिएको छ । म्यूजिक भिडियोमा गायक श्रेष्ठको साथमा उनकै अर्धाङ्गिनी रन्जु श्रेष्ठले अभिनय गरेका छन् । संगीत सुमन कपालीको रहेको छ भने शब्द पनि म्यूजिक भिडियो निर्देशक राजोपाध्यायकै रहेको छ ।