आज :

शाहीमाथि आक्रमण, प्रहरीले दर्ता गर्न मानेन मुद्दा, को–को हुन् मतियार ?

  • अनलाइन डबली

जुम्ला । आठ मार्चको अवसर पारेर जुझारु एवम् साहासी पत्रकार दिलमाया शाहीको नेतृत्वमा जुम्लामा दिमाआमा घरको उद्घाटनपछि जुम्लाको राजनीतिक तथा सामाजिक माहौल तरङ्गित मात्र भएको छैन, दिलमाया शाहीमाथि योजनावद्ध र सुनियोजित आक्रमण समेत गरिएको छ । दिमा आमा घर जुम्ला हिंसापीडित महिलाहरुले स्थापना गरेको सामाजिक संस्था हो, जो गैरनाफामूलक र समाज सेवाको उद्देश्यले स्थापना गरिएको छ ।

दिमा आमा घरको उद्घाटन पछि नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंले दिलमाया शाहीलाई केन्द्रित गरी एउटा स्टाटस लेखे, “आफ्नो घर बिगारेर अरुको घर बिगार्नेले समाज सेवा गर्छु भन्नु कति स्वाभाविक होला ।”

जसमा आफ्नो घर भाड्नेहरुले अरुको सेवा गर्न नसक्ने तर्क गरिएको थियो । जुन स्टाटसमा नाम उल्लेख नगरिए पनि जुम्लामा दिमा आमा घरको स्थापना पछि लेखिएकोले दिमाआमा घर लक्षित स्टाटस भएको ठहर गर्दै दिलमाया शाही र पूर्ण चौलागाईंबिच जिल्ला प्रहरी कार्यालयमा छलफल गरिएको थियो । त्यहाँ सामाजिक कार्यलाई लाञ्छना लगाउने पूर्ण चौलागाईं प्रतिक्रिया विहीन बनेका थिए भने दिमा आमा घरका सञ्चालकहरुले कडा प्रतिक्रिया दिएका थिए । छलफल दिमा आमाघरको उद्घाटनको भोलिपल्ट फागुन २५ गते भएको थियो ।

त्यो छलफलमा पूर्ण चौलागाईंको पक्षपोषण गर्दै जुगाड खोलामा तरकारी बेच्ने प्रमिला शाही पनि गएकी थिइन । उनले पूर्ण चौलागाईंको पक्ष लिएर जिल्ला प्रहरी कार्यालयभित्रै आक्रमण गर्ने प्रयास गरेकी थिइन ।

फागुन २७ गते विहान ८ः ३० बजेको समयमा टुडिखेलको माथिल्लो गेट हुँदै जुम्ला बजारमा प्रेसर कुकरको रवर फेर्ने उद्देश्यले स्याउ सुपर जोनको कार्यालय अघि एक्लै हिंडिरहेको बेला दिलमाया शाहीमाथि तिनै तरकारीवाली महिलाले आक्रमण गर्छिन्, ती महिला तिला गाउँपालिका ४ का नन्द बहादुर शाहीकी छोरी प्रमिला शाही थिइन् ।

जो नेकपा एमालेका नेता नन्दबहादुर शाहीकी छोरी हुन् भने उनलाई पत्रकार महासङ्घ अध्यक्ष पूर्ण चौलागाईंले बहिनी मानेका रहेछन् । चौलागाईंले बहिनी मानेको आक्रमण गर्ने महिलाका वाबा नन्द बहादुर शाहीले जुम्लाका प्रहरी नायब उपरिक्षक छेदिलाल कामतीको कार्यकक्षमा बताएका हुन् । जुम्लामा आफ्नै दिदीवहिनी नभएमा वा भए पनि अन्यलाई बहिनी मानेर टिकाटालो गर्ने प्रचलन छ ।

यसरी चौलागाईले वहिनी मानेकी प्रमिला शाहीले आक्रमण गर्नुमा पूर्ण चौलागाईंको योजनामा उनी परिचालित भएको देखिन्छ । आक्रमणकारी प्रमिला शाहीका बुवाले पूर्णको लहलहैमा लागेर आक्रमण गरेकी हो, छोरीलाई मुद्दा नगरीदिन पनि अनुरोध दिलमाया शाहीलाई जिल्ला प्रहरी कार्यालयको छलफलमा गरिरहेकै छन् ।

दिलमाया शाहीमाथि पछाडिबाट सुनियोजित आक्रमण गरी सडकमा पछारेर कुटपिटपछि उनी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भइन् ।

कुनै देखिने घाउ खत नभएकोले उपचार पछि डिस्चार्ज भएर घर आइन् र प्रहरीमा उजुरीका लागि गइन् । त्यतिबेला प्रहरीमा उजुरी दिन जाँदा जसले आक्रमण गरेकी हुन्, उनैले निवेदन लिएर पहिल्यै प्रहरीमा गएकोले दिलमाया शाहीको उजुरी दर्ता गरिएन । आक्रमण पनि गर्ने र निवेदन पनि उसैले पहिले लिने कार्य मात्र सुनियोजित देखिदैन, जुम्लाका राजनीतिक दलहरु यो मुद्दामा कसरी जोडिएका छन् ।

साउन २८, २०७९ शनिबारका दिन सात लाख पाएपछि गुपचुप रह्यो बालिका करणी काण्ड भन्ने शीर्षकमा दिलमाया शाहीले थाहा खवरमा समाचार प्रकाशित गरेकी थिइन, त्यो समाचारका कारण नौ जनाको नाममा मुद्दा चलेको थियो । सो मुद्दाको बकपत्र पत्र गर्दा शाहीलाई प्रतिबादीका पक्षका महिलाहरुले १५ मिनेट जति जिल्ला अदालत जुम्लाको शौचालयभित्र थुनेका थिए । साढे १० वर्षे बालिका करणीको मुद्दामा दिमा आमा घरको उद्घाटन भन्दा ३ दिन पहिले जिल्ला अदालत जुम्लाले सजायको फैसला ग¥यो, जसमा जुम्लाका शक्तिशाली भनिएका केही व्यक्तिहरु मुछिएका छन् ।

आरोपित प्रेमराजा भनिने प्रेमजंग महत मात्र होइन, बालिका बलात्कारलाई मिलोमतोमा टुङ्ग्याउन खोज्ने वकिलदेखि आफ्नै छोरीको बलात्कारको मुद्दामा झुटो बयान दिने बालिकाकी आमा समेतलाई अदालतले दोषी ठहर गरेको छ, जसको सजाय निर्धारणको पूर्णपाठ अझै आइसकेको छैन ।

बालिकाकरणीको मुद्दा जित्छौँ भनेर बजारमा उन्मुक्तिको फैसला कुरिरहेको शक्तिशाली समूहलाई दाँतमा ढुङ्गा मात्र लागेन, यसले जरैदेखि हल्लाइदिएको थियो । त्यसभन्दा अघि पत्रकार महासङ्घको सदस्यता विवादमा मेलमिलाप भइसके पनि आफ्नो श्रीमतीलाई शिक्षक लाइसेन्स विना नै बोहोरागाउँ माविमा शिक्षक बनाएका महेश नेपालीले हालेको उजुरीमा पनि बालिका करणीमा दोषी ठहर भएका वकिल जोडिएका थिए, जुन मुद्दामा पनि अदालतले दिलमाया शाही र नेत्रबहादुर शाहीको पक्षमा फैसला गरेको थियो ।

माथिका दुवै मुद्दालाई जुम्लामा प्रतिष्ठाको विषय मात्र बनाइएन, न्यायिक प्रक्रियामा पराजित समूहले दिमाआमा घरको उद्घाटनलाई झनै चुनौतीका रुपमा लिए । काङ्ग्रेस र एमालेको गठबन्धनबाट निर्वाचित पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंको स्टाटस र आक्रमणको पृष्ठभूमि माथिका मुद्दासँग जोडिएको देखिन्छ ।

आक्रमणपछि मुद्दा दर्ता प्रहरीले किन गरेको छैन ?
आक्रमण पछि स्याउ सुपरजोननेरको सडकमा सवैभन्दा अघि एउटा अटोचालक पुगेका थिए भने १० मिनेट पछि मात्र अन्य मान्छे पुगेपछि आक्रमणकारीबाट छुटाएर दिलमाया शाहीलाई शिक्षक जयशंकर धितालले उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएका थिए । प्रहरीलाई पीडित शाहीले फोन गरे पनि प्रहरी घटना स्थाल पुगेन, आफै उपचार गर्नुहोस् भनेर जवाफ दिएको थियो ।

दिलमाया शाही अस्पताल पुगेको लगत्तै अल्पकालीन सेवा केन्द्रकी अध्यक्ष तथा अशोक नमुना विद्यालय भारतीवाडाकी प्र्रअ भगवति श्रेष्ठले फोन गरेर तिम्रो नाममा प्रमिला शाहीले निवेदन ल्याएकी छन् भनेर फोन गरिन् । त्यसको केही बेरमै प्रहरी कार्यालयमा निवेदन आएको छ भनेर फोन आएको पीडित शाहीले बताइन् । त्यस लगत्तै प्रहरीको महिला सेलबाट फोन गरेर तपाईंको नाममा निवेदन आएको बताइन् । आक्रमणकारीले विरामी अस्पताल नपुग्दै निवेदन लिएर प्रहरीमा जाने, प्रहरी, सामाजिक कार्यकर्ताले उपचारभन्दा मुद्दाका नाममा मानसिक तनाव दिने कार्य गरेको देखिन्छ ।

प्राथमिक उपचारपछि प्रहरीमा कुटपिट गरेको मुद्दा लिएर दिलमाया शाही गएपछि प्रहरीले पीडितको उजुरी दर्ता गर्नुको साटो पीडकसँग छलफल गर्ने, पीडकको पक्षपोषण गर्ने कार्य गरेर हालसम्म पनि मुद्दा दर्ता गरेको छैन ।
जिल्ला प्रहरी कार्यालयमा छलफलमा आक्रमणकारी प्रमिला शाहीका बुबा नन्दबहादुर शाहीले छोरीले आफै जानेर गरेकी होइन, पूर्ण चौलागाईंको बहकाव लागेर गरेकी हुनाले माफ गर्न अनुरोध गरे ।

दिलमाया शाहीले आक्रमणकारी प्रमिला शाहीले यो स्वीकारे पछि मुद्दा दर्ता नगर्ने बताइन् । तर बाबुले आक्रमण अरुको उक्साहटमा गरेको भन्ने तर छोरीले नक्कली घटना बनाई आफूलाई थुकेपछि आक्रमण गरेको भन्ने गरेकी छन् । यही बिचमा नक्कली घटनाको नक्कली साक्षी पनि तयार गरियो र धनप्रसाद उपाध्यायले मैले माथिबाट दुबै जना संगै हिडेको, थुकेको देखेको, थुकेपछि आक्रमण भएको भ्रम फैलाइरहेका छन् ।

यो थुकेको परिदृश्य स्वतः नक्कली देखिन्छ । अगाडिबाट हिंडिरहेको मान्छेले पछाडिको मान्छेलाई थुक्न सम्भव नै हुँदैन । अर्कोतिर थुकेको देख्ने भनेर नक्कली साक्षी बसेका भूमि आयोग जुम्लाका सदस्य धनप्रसाद उपाध्याय नेपाली काँग्रेस पार्टीबाट भूमि आयोग जुम्लाका सदस्य बनेका हुन् भने हाल भूमि आयोग जुम्लाको अध्यक्ष बाल यौन दुब्र्यवहार मुद्दा अदालतमा विचराधीन रहेका एमाले कार्यकर्ता सुरतबहादुर शाही छन् ।

यो घटनामा सुरत शाही पनि जोडिएका छन् ।
सुरत शाहीको जुम्ला जिल्ला अदालतमा छोरी नाता पर्ने बाल यौन दुब्र्यवहार मुद्दाको एक साक्षी पीडित बालिका, बालिकाका बाबा र अर्को दिलमाया शाही हुन् । दिलमाया शाही र पीडित बालिकालाई आर्थिक प्रलोभनमा पारेर होस्टाइल गर्न केही सार्वजनिक व्यक्तिहरु लागेर नसकेपछि आक्रमण गरेर बकपत्र कमजोर पार्ने रणनीतिमा बनाएको हुन सक्ने दिलमाया शाहीको जिकिर छ ।

दिन दहाडै सशक्त महिला पत्रकारमाथि आक्रमणपछि सार्वजनिक र नागरिक सुरक्षाको जिम्मा लिएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही र डिएसपी छेदीलाल कामतीले कानुनको कार्यान्वयन होइन शक्ति समूहको चलखेललाई जायज ठह¥याउन कोसिस गरिरहेका छन् ।

सिडियो शाही प्रमुख जिल्ला अधिकारीको भूमिकामा होइन, एमालेको कार्यकर्ता बनेर पीडितले ढिलो मुद्दा लिएको जिकिर गरिरहेका छन् भने डिएसपीले पीडितलाई भेट नै दिएका छैनन् ।

एमाले कार्यकर्तामा फेरिएका प्रजिअ र डिएसपीले आफूलाई न्यायको रक्षक होइन, आक्रमणकारीको संरक्षणमा तल्लिन बनाएका छन् । अर्कोतिर नेपाल पत्रकार महासङ्घ जुम्लाले आफ्नो सदस्य तथा पूर्व उपाध्यक्षमाथि आक्रमण हुँदा प्रेस विज्ञप्ती पनि दिन सकिरहेको छैन । पत्रकारको सुरक्षा र सम्वद्र्धन सक्रिय हुने संस्था नै आक्रमणकारी परिचालनको मतियार बनेर जुम्ला पत्रकार महासङ्घ काङ्ग्रेस एमालेको भातृसङ्गठनमा फेरिएको छ भने पत्रकार दिलमाया शाहीमाथि आक्रमण भएपछि नेपाल प्रेस सेन्टर केन्द्रीय समिति, कर्णाली प्रदेश समिति र जिल्ला समिति जुम्लाले दोषीमाथि कडा कारवाहीको माग गर्दै विरोध जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal