
लिमीका निर्माण गरिएका ग्रीन हाउसबाट सेतो हिउँभित्र पनि हरियो तरकारी खान पाउँदा अचम्म मान्ने गरेको छन् लिमीबासीहरू । हिउँमय लिमीमा हिउँदमा पनि उत्पादन भइरहेको छ हरियो साँग ।
लिमीको तीन गाउँमा ग्रीन हाउस निर्माणले कौतुहलताको अवस्था सिर्जना भएको छ । यहाँ बर्षको नौ महिना सेताम्य हिउँ मात्र हुने भएकाले हरियो परियो पनि एक नयाँ विषय र सन्दर्भ बन्ने गरेको लिमी हल्जी गाउँका खेन्राव लामाले बताए ।
उनले पनि ठूलो लगानी र दुःख गरेर आफ्नो घरको अगाडि ग्रीनहाउस तयार गरेको तीन वर्ष भयो । हिउँभित्र हरियो तरकारी खान पाउँदा अनौठो, अचम्म र एक जादुमय अनुभव भएको उनले बताए ।
लिमी तीन गाउँको बस्ती चार हजार मिटरभन्दा अग्लो स्थानमा अवस्थित छ । यसैले यो क्षेत्र टुन्ड्रा बनस्पतिले भरिने क्षेत्र भएकाले यहाँ हरियो वस्तु नै एक नौलो हुने स्थानीय बताउने गर्छन् ।
यसरी तीन चार वर्षदेखि सीमित मात्रामा भए पनि ग्रीन हाउस बनाएर हिउँदको समयमा सागपात खान पाउनु एक ऐतिहासिक र नौलो भएको स्थानीय गाउँलेहरू बताउँछन् । ग्रीन हाउस बनाउनका लागि काठ टाढाबाट आपूर्ति गर्नुपर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने देखिन्छ । यसमा केही लगानी धेरै भए पनि स्थानीयबासीको खाद्यान्न परम्परामा हरियोपरियो थपिनु राम्रो भएको वडा अध्यक्ष पाल्जोर लामाको मत रहेको छ । लिमीका लागि ग्रीनहाउस एक नौलो, राम्रो र स्थानीयको स्वास्थ्यमा सुधार ल्याउने अभियान हुनसक्ने देखिन्छ ।
ग्रीनहाउसबाट लाखौं आम्दानी
सिमकोट र खार्पुनाथ गाउँपालिकामा निर्माण गरिएका ग्रीन हाउसबाट मौसमी र बेमौसमी तरकारी उत्पादन गरी हुम्ली किसानहरूले लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् । यसबाट उनीहरू कृषि कर्मलाई व्यवसायिक बनाउन थालेका छन् । सिमकोट र खार्पुनाथ गाउँपालिकामा सहकारीमा आवद्ध भएका हुम्ली किसानलाई वितरण गरिएका विभिन्न प्रकारका ग्रीनहाउसबाट उत्पादन गरिएका तरकारीहरू सिमकोट बजार र गाउँका विभिन्न ससाना बजारमा बिक्री गरेर मनग्य आम्दानी गर्न सफल भएको जानकारी असल छिमेकी नेपालका कृषि प्राविधिक जङ्गबहादुर शाहीले दिए ।
ग्रीन हाउसको प्लास्टिक, विभिन्न प्रकारका अत्यावश्यक औजार तथा बीउबीजन प्रयोग गरी प्राविधिक सल्लाह, सहयोग र नियमित अनुगमनका साथ खेती गरेका किसानले राम्रो आम्दानी गरेका छन् । हाल विभिन्न गैससहरूले सयौँको सङ्ख्यामा ग्रीन हाउस उपलब्ध गराएका छन् । यसबाट तरकारी खेती गरी आम्दानी भएको रकम घर खर्च चलाएर पनि केही रकम सहकारीमा जम्मा भएकोले सहकारीको बचत उल्लेख वृद्धि भएको छ । ग्रीन हाउसको निर्माणबाट मौसमी र बेमौसमी तरकारी उत्पादनबाट राम्रो आम्दानी भएकाले किसानहरू दिन प्रतिदिन यो प्रविधिप्रति आकर्षित भएका छन् ।
विभिन्न सरकारी कार्यालयहरु तथा स्थानीय गैससहरुले वर्षेनी गाउँघरमा सयौंको संख्यामा ग्रीनहाउस र प्लाष्टिक टनेल दिएर हिउँदे र वर्षे तरकारीको उत्पादन बढ्दा वार्षिक रुपमा लाखौं आम्दानी गर्न सफल भएको विभिन्न आँकडाबाट जानकारी संकलन भएको छ ।