काठमाडौं । आज आश्विन शुक्ल पष्ठीका अर्थात् नवरात्रको सातौं दिन । नवरात्रका अवसरमा पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ। विशेष गरी आज पाँचखाल नगरपालिकाको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरीमा रहेको चण्डेश्वरी मन्दिर र बनेपा नालामा रहेको नाला भगवतीमा दर्शनार्थीहरु पूजाआजका लागि पुग्ने गरेका हुन् ।
वि.सं. ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा पलाञ्चोक भगवतीको मन्दिर एक हजार छ सय ५६ वर्ष पहिले निर्माण भएको मानिन्छ।
नेपाली कला संस्कृति सिर्जनाको इतिहासमा लिच्छवीकाल स्वर्ण युग मानिन्छ । नेपालीको महान पर्व विजयादशमीको अवसरमा भक्तजनद्वारा पूजिने अधिराज्यका अनेक भगवती पीठमध्ये काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक भगवती पनि एक प्रमुख मन्दिर हो । काठमाडौँ बात दश कि . मी दक्षिण डांडामाथि स्थापना भएको छ । किम्बदन्तीअनुसार काभ्रेपलाञ्चोक जिल्लाको सर्वाधिक कलात्मक पलाञ्चोक भगवती नेपालमण्डल अर्थात् काठमाडौं उपत्यकाबाट कन्डै बुजाकोट भन्ने ठाउँमा कुनै एक अज्ञात कलाकारले विश्वप्रसिद्ध कलात्मक भगवतीको मूर्ति बताई आठ जनाले बोकी काठमाडौंतर्फ ल्याउँदै गर्दा हालको पलाञ्चोक स्थानमा पुगेपछि आठजनाले मूर्ति बोक्न सकेनछन् । केही गर्दा पनि मूर्तिलाई पलाञ्चोक डांडाबाट उठाउन नसकिएपछि अन्ततः देवीलाई विधिपूर्वक सोही डांडामा प्रतिष्ठापित गराइएको आख्यान पाईन्छ । अज्ञात कलाकारले अद्वितीय देवीको मूर्ति ढुंगामा कुदेर साक्षात स्वरूप दिएको देखिन्छ । त्यतिबेलाका अज्ञात शासकले ती कलाकारको दायाँ हात काटिदिएका थिए । ताकि उस्तै अर्को देवीको कलात्मक मूर्ति अन्य देवस्थलमा बनाउन नसकून् । लिच्छवीकाल कला सिर्जनाको स्वर्ण युग भनिए पनि कलाकारप्रति राज्यले गर्ने दुव्र्व्यवहारको यो एउटा ज्वलन्त उदाहरण मात्र हो । तर कलाकारले वायाँ हातको सहायताबाट नक्साल भगवतीको मूर्ति बनाए , कलाकारको बायाँ हात पनि काटियो । जसरी सूर्यलाई हत्केलाले छेक्न सकिदैन त्यसैगरी कलाकारको कलालाई पनि कलाकारले हात नभए पनि खुट्टाले स्वबहा भगवतीको मूर्ति निर्माण गरे ।
निरंकुश लिच्छवी शासक आक्रोशमा आई त्यो खुट्टा पनि काटिदिएपछि अन्त्यमा अर्को खुट्टाले धुलिखेल भगवतीको मूर्ति निर्माण गरे तत्पश्चात् सजायस्वरूप उनको उक्त खुट्टा पनि काटी बनेपास्थित चण्डेश्वरी भगवती स्थानमा ठुटो शरीर फ्याँक्न लगियो । आख्यान काल्पनिक जस्तो लागे पनि कला सिर्जनाको स्वर्णयुग मानिएको लिच्छवीकालमा त्यस्ता विश्वविख्यात कला सिर्जना गर्ने कलाकारको कुनै पनि देवस्थलमा नाम उल्लेख नगरिनु तर कला सिर्जनाको सम्पूर्ण श्रेय राजा महाराजालाई दिइनुले कलाकारको हविगत त्यस्तै अवस्थाको नहोला भन्नसक्ने स्थिति छैन । नक्साल भगवती , शोभा भगवतीको मूर्ति , पलाञ्चोक भगवतीको मूर्ति जस्तो कलात्मक नहुनु र पहिलेदेखि नै बनिबनाउ विहार पीठमा भगवतीको मूर्ति प्रतिष्ठापित गरिनुले पनि माथिको आख्यानलाई वाहियात मात्र भनी पन्छाउन मिल्दैन । यदि राष्ट्रिय विभूति अरनिको बलबाहु पनि नेपाल छाडी चीन नपुगेका भए हुनसक्छ पलाञ्चोक भगवती , बूढानीलकण्ठ , स्वयम्भू , बौद्ध , पाटनको विश्वप्रसिद्ध कृष्ण मन्दिर बनाउने कलाकारजस्तै कुनै राजा शासकको तारिफमा नेपालमा नै बिलाउने थिए । बज्रयानी बौद्ध बज्राचार्य पूजारी रहने पलाञ्चोक भगवती मन्दिर तीनतल्ले पेगोडा शैलीको धातुछाने आकर्षक शैलीमा ठडिएको छ । पलाञ्चोक भगवती मन्दिरपछाडि लिच्छवीकालीन राजा मानदेव प्रथमको संवत् ४२५ शिलापत्र अकित छ । मल्लकालमा आएर ने.सं. ८६१ मा मन्दिरवरिपरि बुद्धमूर्ति , गणेश , सरस्वती , महादेव , पार्वतीलगायतका देवी – देवताका मूर्ति छन् । ६ रोपनी क्षेत्रफलमा फैलिएको पलाञ्चोक भगवती क्षेत्रलाई हालै व्यवस्थित गुरूयोजनाअनुसार २५ रोपनीमा पिकनिकस्थल , बगैचा , बसपार्क आदि रहेको छ ।