
‘पुँजिवादलाई डेन्टिङ पेन्टिङ गरेर समाजवाद बनाउने काम भइरहेको छ’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले नेपालमा गणतन्त्र स्थापना भएको पनि त्यो लागू नभएको दाबी गरेका छन् । उनले गणतन्त्र लागू नभएकै कारण सडकमा राजावादीहरु कडा भएर आएको बताए ।
“कम्युनिस्टहरुको लाइन रक्षात्मक भएको छ, आक्रमणक त राजावादी भएका छन् । अहिले यहाँ दुईजना राजावादी टोपीसोपी लगाएर आएपछि सबै गणतन्त्रवादी तर्सिन्छन् । किनभने हामीले गणतन्त्रलाई लागू नै गरेनौं । राज्य र समुदायमा गणतन्त्र लागु नै गरिएको छैन” कार्कीले भने ।
काठमाडौँमा प्रगतिशील रुपान्तरण आन्दोलनले आयोजना गरेको ‘नेपालका कम्युनिस्ट आन्दोलनमा थपविचलनमा देखिएका कारणहरु’ कार्यक्रममा बोल्दै कार्कीले नेपालका कम्युनिस्ट पार्टीहरुले जनताले बुझ्नेगरी समाजवादी कार्यक्रम बनाउन नसकेको बताए ।
“अहिले धेरै पार्टीले पुँजिवादलाई डेन्टिङ पेन्टिङ गरेर समाजवाद बनाउने कुरा गरिरहेका छन् । कुनैपनि पार्टीसँग देखिनेगरी समाजवादी कार्यक्रम छैन । भित्रभित्रै कसैको दस्तावेजमा लेखेको हुन पनि सक्छ तर जनताले बुझिनेगरी आएको छैन” कार्कीले भने ।
पुँजिवादले रुप फेरिहने बताउँदै कार्कीले त्यसलाई बदल्न समाजवादी कार्यक्रम नल्याएका कारण कम्युनिस्ट आन्दोलनमा समस्या पैदा भएको बताए ।
गाली खाइरहेका नेताहरु कम्युनिस्ट बन्छु भन्दै सबै त्यागेर हिडेको बताउँदै कार्कीले थपविचलनका सन्दर्भमा नेता विशेषको अनुहार हेरेर बहस र छलफल गरेर मात्रै सही ठाउँमा पुग्न नसकिने बताए । उनले थपविचलनका कारण पत्ता लगाउनु पर्ने बताए ।
संसदवाद अबसरवाद कोरल्न ठाउँ भएको बताउँदै कार्कीले पार्टीको मूल नेतृत्व संसदीय राजनीतिमा डुब्छ भने त्यो पार्टी क्रान्तिकारी रहिरहन नसक्ने ठोकुवा गरे । उनले पार्टीको मुल नेतृत्व बाहिर बसेर मजदूर र किसानका प्रतिनिधिले सरकारको नेतृत्व गर्न पठाए कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी भइरहने बताए ।
कार्कीले जनवादी केन्द्रीयतालाई हाम्रो संस्कृतिले खाइदिएको बताए । “जनवादी केन्द्रीयता भनेका छौं, यो ५०–६० बर्षमा जनवादी केन्द्रीयतालाई हाम्रो कल्चरले खाइदियो । केही सांस्कृति घटना घट्दा बहुनवादले जे भन्छ त्यही हुन्छ । यहाँ जनवाद रहेन, कि केन्द्रीयता हुन्छ कि उनिहरुको धोती फुस्किन लागेको बेला अराजकतावाद हावी हुन्छ” कार्कीले भने ।
कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्तलाई नेपाल अनुकुल बनाउन पर्नेमा जोड दिँदै कार्कीले भने, “हाम्रो संगठनात्मक सिद्धान्तलाई नेपालअनुसारको सिद्धान्तमा प्रतिपादन गर्नु आवश्यक छ । लेनिनले आफ्नो देशअनुसार आफ्नै सिद्धान्त बनाउनुपर्छ भन्नुभएको थियो तर हामीले त्यो भनेर पाइन्छ भन्दै लेनिनको जनवादी केन्द्रीयतामा आधारित सिद्धान्त भन्छौं । तर, त्यसको आधारभूत कुरालाई आत्मसात गर्न गर्दैनौं ।”
सर्वहारा वर्गको अधिनायकत्व, सशस्त्र क्रान्तिलाई छोड्ने हो भने अर्को जनताको राजनीतिक वैचारिक सर्वोच्चता प्राप्त गर्ने अर्को बाटो खोज्नुपर्ने कार्कीले बताए ।