आज :

पुँजीवादी पक्षले पनि एमालेको आर्थिक नीतिबारे आलोचना गर्न सक्दैन : अध्यक्ष ओली

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढे अहिलेको धक्काबाट माथि उठ्न सकिने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई सपथग्रहण गराउँदै ओलीले मुलुकको समृद्धिको महान् उद्देश्य बोकेर अघि बढेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने बताए। उनले सानातिना विषय र इगोमा नअल्झिन पनि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

ओलीले भने, ‘देशको विकास हुन नदिने तत्वहरूले हाम्रो अभियानलाई रोक्ने, भड्काउने कोसिस गरे, पार्टीलाई बदनाम गरे तर नीतिहरूको बारेमा उनीहरू चर्चा गर्दैनन्।’

उनले एमालेले विकासमुखी, जनमुखी, जनकेन्द्रित र राष्ट्रिय उत्थानलाई केन्द्रमा राखेर आर्थिक नीति ल्याएको दाबी गरे ।

‘पुँजीवादी पक्षले पनि आर्थिक नीतिको बारेमा दबेको स्वरमा खुसखुस गरेर विरोध गर्नु बेग्लै हो तर नीतिहरूको बारेमा खासै आलोचना गर्न सक्दैनन्,’ ओलीले भने। उनले बजारलाई खुला राख्दै राज्यलाई उत्तरदायी बनाउने नीति एमालेले अघि सारेको बताए।

ओलीले देशमा ‘प्रतिगमन’ भएको दाबी गर्दै पार्टीलाई अहिले केही धक्का लागेको भए पनि त्यसबाट उठेर पुनः अघि बढ्न सकिने बताए।

‘देशमा प्रतिगमन छ, एकछिन धक्का लागेको छ। तर हाम्रो पार्टी यस्तो महान् उद्देश्य राखेर अगाडि बढेको छ । त्यसकारण सानातिना कुरामा नअल्झिऊँ, इगोमा नअल्झिऊँ, नफसौँ । महान् उद्देश्यमा फराकिलो मनका साथ अगाडि बढौँ,’ उनले भने।

उनले कहिलेकाहीँ धक्का लागे पनि त्यसबाट उठेर पुनः सफलताको बाटोमा अघि बढ्न सकिने बताए।

अध्यक्ष ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा ‘आदर्श व्यक्ति’ का रूपमा स्थापित हुन आग्रह गरे। उनले कसैसँग गलत व्यवहार नगर्न र गलत आचरणबाट टाढा रहन पनि निर्देशन दिए।

उनले रिसाउने बानीसमेत त्याग्न आग्रह गर्दै कूकर्मबाट जोगिनुपर्ने बताए। ‘रिसाउने बानी घरको खोपामा राख्नुहोस्। कूकर्मबाट जोगिनुपर्छ, किनकि हामी एमाले हौँ,’ ओलीले भने।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal