काठमाडौं । आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदैछ । सरकारले देशका ७५ वटा जिल्लामा खोप अभियान सुरु गर्न लागेको हो । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेको छ ।
अभियान आउँदो चैत ७ गतेसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अभियानको क्रममा काठमाडौंमा सबैभन्दा धेरै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बताइएको छ । त्यसको लागि १ हजार ६ सय ७० खोप केन्द्रबाट खोप स्थापना गरिएको छ । ती केन्द्रमा बालबालिकालाई लिएर खोप लगाउन सकिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।
काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गएको वर्ष काठमाडौँमा दादुरा–रुवेला फैलिँदा २ सय २५ जना सङ्क्रमित र १ जनाको मृत्यु भएको थियो ।