काठमाडौँ । काठमाण्डौको पचली भैरवको खड्गसिद्धी नाच काठमाण्डौको काष्ठमण्डप क्षेत्रमा शुरू भएको छ । शुक्रबार बेलुकीदेखि काष्ठमण्डप क्षेत्रमा शुरु भएको तान्त्रिक नाच आज दिनभर चल्नेछ । काठमाण्डौको मालाकार समुदायबाट सञ्चालित पचली भैरव नाचमा कुमारी, गणेश लगाएत १२ देवगणको सहभागिता रहन्छन् ।
आज देवगण नाइके वाद्यगुरुसहित ५० जनाभन्दा बढीको सहभागितामा गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणी लगायतको नाच प्रदर्शन गर्नेछन् । प्रत्येक १२ वर्षेमा प्रदशन गरिदै आएको यो नाच काठमाण्डौको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा स्थानमा प्रदर्शन गर्ने परम्परा रहदै आएको छ ।
तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रुपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । बडादशैँको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट शुरु भएको यो नाच २०८१ सालको बडादशैँको अष्टमीका दिन समापन हुन्छ ।
नाच समापन भएपछि देवगणहरुको सबै मुखौटा बागमती र बिष्णु मति नदीको संगम स्थल टेकु दोभानमा जलाउने परम्परा छ। पञ्चलिङ्गेश्वर, पञ्चमुखी लिङ्गेश्वर र स्वछन्द भैरवको नामले प्रसिद्ध पचली भैरवको जात्रा मनाउने परम्परा नेपाल संवत् ५०५ मा राजा भएका शिवसिंह मल्लले चलाएका इतिहासमा उल्लेख छ ।