
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन हुने बताउनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बाराको सिमरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै २०५८ सालको दरबार हत्याकाण्डको पुनः छानबिन गरिने बताउनुभएको हो।
२०५८ सालमा तत्कालीन सरकारद्वारा गठित छानबिन आयोगले सत्ताको निर्देशनअनुसार काम गरेकाले दरबार हत्याकाण्डबारे सत्यतथ्य बाहिर आउन नसकेको आरोप लागेको थियो।
त्यसको केही वर्षपछि शासकीय व्यवस्था नै परिवर्तन भएर राजसंस्था नै उन्मूलन हुन पुगेको थियो। शासकीय व्यवस्था परिवर्तनपछि बनेका लोकतान्त्रिक सरकारका प्रधानमन्त्रीहरूले दरबार हत्याकाण्डको पुनः छानबिन हुने बताउँदै आए पनि छानबिन भने हुन सकेको छैन।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो।
यसै गरि पूर्वराजा ज्ञानेन्द्रले शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै २०५८ सालमा घटेको विनाशकारी घटनाका बारेमा जनतामा भ्रम फैलाएर आफू र आफ्नो परिवारमाथि घातक हमला भएको बताउनुभएको थियो।
२३ वर्षअघि घटेको दरबार हत्याकाण्ड अझै पनि संशयको घेरामा छ। सो दरबार हत्याकाण्ड तत्कालीन राजा वीरेन्द्रको वंश नै सखाप पार्ने गरी घटेको थियो।
पूर्वराजा ज्ञानेन्द्रले सो हत्याकाण्डबारे भ्रम फैलाएर आफूहरूमाथि घातक प्रहार गरिएको अभिव्यक्ति दिएपछि त्यसले तंरग ल्याएको छ।