काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो आर्थिक अवस्था सार्वजनिक गरेको छ । बिहीबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷०८१ को पाँच महिनाको सार्वजनिक गरेको हो ।
आयात भन्दा निर्यात ६.१ प्रतिशतले बढेर व्यापार घाटा घटेको तथ्यांकमा उल्लेख गरिएको छ । बैंकका अनुसार कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले घटेको छ ।
यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.६ प्रतिशतले र अमेरिकी डलरमा २४.५ प्रतिशतले बढेको राष्ट्र बैंकको जनाएको छ । शोधनान्तर स्थिति रु.२१० अर्ब ५९ करोडले बचतमा रहँदा कुल विदेशी विनिमय सञ्चिति रु.१७६७ अर्ब ४ करोड र अमेरिकी डलरमा १३ अर्ब ३१ करोड रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा भित्रने रेमिट्यान्स २७.६ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा नेपालमा कुल ६१३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजार ७७९ र १ लाख १५ हजार ९४८ जना रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई रु।६६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो।