
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम भएको बताएका छन् । उनले सामाजिक न्याय संविधानमा व्यवस्था भएअनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम भएको भन्दै सामाजिक सुरक्षा कार्यक्रम समाजवादी राज्यको आकांक्षा राख्नेको लागि गौरवको विषय भएको समेत बताए ।
छैटौँ सामाजिक सुरक्षा दिवस कार्यक्रम–२०८० लाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम हो । तसर्थ, यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय समेत हो ।”
प्रधानमन्त्री प्रचण्डले सुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्थामा थप गर्दै योगदानकर्ताका परिवारलाई पनि स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेकोमा आफूलाई खुसी लागेको उल्लेख गरे ।
स्वास्थ्यमा सबैको सहज पहुँच पुर्याउन यसप्रकारका कार्यक्रम एक उत्कृष्ट नमुना बन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आम नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा दिने बताए ।
“सम्पूर्ण नेपाली नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा सामाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी हुने छैन” प्रधानमन्त्रीले भने ।