कात्तिक , काठमाडौँ । माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरूलाई लक्षित गरी आज बात कोलला नाका सञ्चालनमा आउने गरि नाकामा दुवैतर्फ तयारी पूरा भएको छ ।
आज बिहान १० बजे दुवै देशका अधिकारीहरूले औपचारिक रूपमा नाका सञ्चालनका लागि उद्घाटन गर्ने बताइएको छ । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षित गरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरू ल्याइ पुर्एयाइ सकेका छन् ।
नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने पाच वटा कन्टेनर लगाएत अस्थायी पूर्वाधार निर्माण गरिएको छ ।
लोमान्थाङका साथै लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरूका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधारण कोरला नाकामा आवतजावत गर्न पाउने छन् ।
कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरूको जनजीवन प्रभावित हुँदै आएको थियो । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुनेगरेको थियो ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार नाका सञ्चालन हुनेभएपछि स्थानीयहरू उत्साहित भएका छन् ।उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९ सय ८० जनालाई ‘नेपाल चीन सीमाक्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुमतिपत्र’ वितरण गरिएको छ ।
अनुमति पत्रका आधारमा नाकादेखि ३० किलोमिटर चीनको भू–भाग सम्म पुगेर जुनसुकै समयमा व्यावसायिक कारोबार गर्न पाउँछन् ।जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पूर्वाधार यस अघिनै निर्माण भैसकेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधा सम्पन्न भवन बनाएको छ । नाका सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलेकट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बा लगाएत स्थानीय उत्पादन निर्यात हुने बताइएको छ ।