काठमाडौं । खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइमा रहने गरि आजको इजलास सकिएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले उक्त मुद्दालाई बुधबार भोलि पनि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको हो ।
आज भएको बहसमा रिटको पक्ष र बिपक्षमा अधिवक्ताहरुले बहस गरे भने , पक्षमा भएको बहसमा बिपक्षिका कानुन ब्यबसायीको जवाबी बहस समय अभावका कारण हुन सकेन ।
नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
दशैंअघि परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दालाई प्राथमिकतामा राखेको छ । गम्भीर कानूनी प्रश्न देखिएको भनी संयुक्त इजलासले त्यो मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पठाएको हो ।