फाइल फोटो –
काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ सुरू गरेको छ ।
काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ सुरू गरिएको हो ।
सोमबार कामपा प्रहरीसहितको टोलीसँगै पार्किङको अवस्थाबारे जानकारी लिन धरहरा पुगेका २२ नं. वडाका वडा अध्यक्ष चिनीकाजी महर्जनले कामपा प्रहरी, स्थानीय र निजी सुरक्षागार्डको सहयोगमा पार्किङ खुला गरेको जानकारी दिनुभयो ।
उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘अहिले करिब डेढ महिनाको लागि निःशुल्क पार्किङ खुला गरेका छौं । त्यसपछि व्यवस्थापन गर्नसके सधैंको लागि पार्किङ खुला गराउनेछौं ।’ पार्किङ गर्न मिल्ने भएपछि सफाइ गरी सुरक्षाकर्मी परिचालन गरेर निःशुल्क पार्किङको व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘आजबाट परीक्षणको रूपमा सुरू गरेका छौं । छठपछि थप व्यवस्थित गराउनेछौं ।’
कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले करिब ३ सयको हाराहारीमा दुईपाङ्ग्रे र करिब १ सय ५० जति चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्नेगरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
यसैबीच कामपाले न्युरोड क्षेत्रको फुटपाथ क्षेत्र बढाएर सडकमा पार्किङ निषेध गर्ने तयारी गरेको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।