
काठमाडौँ । खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गरी छाड्नुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्नका लागि सर्वोच्च अदालतले माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले हत्या भएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाद्वारा दायर रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेलगायतलाई लिखित कारण माग गरेको छ, भने पीडित परिवारको सुरक्षा व्यवस्था गर्न पनि आदेश जारी गरिएको छ ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी दिएका थिए । पतिका हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधानविपरीत भन्दै शेर्पाले आइबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका रिगल भनिने योगराज ढकालले असुलीमा व्यवधान गरेको भन्दै २०७२ असार २८ अपराह्न ३ बजे मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
त्यस घटनामा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई ३/३ वर्ष कैद सजाय सुनाएको थियो ।
कर्तब्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाईएका रिगल भनिने योगराज ढकाललाई गएको असोज ४ गते सरकारले ६० प्रतिशत सजाय मिनाहा गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा जेल मुक्त गरेका हुन। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कैद भुक्तान हुन बाँकी ६७० जनाको कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गरेका थिए ।