काठमाडौं । उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले, चाडपर्वको बेला आपूर्ति व्यवस्थालाई सहज पार्न आवश्यक सहजिकरणका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
चाडपर्व लक्षित बजार अनुगमन र आपूर्ति व्यवस्था सम्बन्धी उद्योग तथा आपूर्ति मन्त्रालयले तयार गरेको प्रस्तावलाई कार्यान्वयन गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।
आइतबार उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समिति सभापति अब्दुल खानले उद्योग तथा आपूर्ति मन्त्रालयले बजार माग अनुसारको परिमाणमा वस्तु आयात गर्दा अर्थ मन्त्रालयसँग कर छुट मागेको प्रति समितिको ध्यानाकर्षण भएको बताए ।
उनले समितिले अर्थमन्त्रालयलाई सहज आपूर्ति व्यवस्था मिलाउन तथा मूल्य अभिवृद्धिकर पूरै छुट गरी भन्सार महसुल १ प्रतिशत कायम गर्न निर्देशन दिए ।
‘नजिकिँदै गरेको चाडपर्वको समयमा चिनी, चामल र गहुँ लगायतका अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन र मूल्य नियन्त्रण गरी सहज आपूर्ति व्यवस्था मिलाउन र सहुलियत मूल्यमा बिक्री वितरण गर्न उद्योग वाणिव्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयमा सहमति माग गरीएकोमा बजार माग अनुसारको परिमाणमा वस्तु आयातको लागि सहमति नपाएकोमा समितिको ध्यानाकर्षण भएको छ ।’ समितिका सभापति अब्दुल खानले भने ।
समितिले, बजार अनुगमनलाई चुस्त बनाउन समेत निर्देशन दिएको छ । खानले भने ‘चाडवाडका अवसरमा बजारको माग अनुसारको परिमाणमा उक्त मन्त्रालयबाट माग भए अनुसार मूल्य अभिवृद्धि करमा पुरै छुट गरी १ प्रतिशत भन्सार महसुल लिनेगरी आयातको सहमति उपलब्ध गराउन अर्थमन्त्रालयलाई निर्देशन गरिएकोे छ । चाडपर्वको समयमा बजार अनुगमनलाई चुस्त पार्न आवश्यक स्रोत साधन र जनसक्ति मिलाउन समेत सरकारलाई निर्देशन गरिएको छ ।’
त्यस्तै समितिले ठूला चाडपर्वको समयमा उपभोग्य वस्तुमा हुने गरेका कालोबजारी,मिसावट,कृतिम अभाव, कार्टेलिङ सिन्डिकेट र मूल्य वृद्धि लगायतका विषयमा देशका विभिन्न स्थानहरुमा समितिले नै स्थलगत अनुगमन गर्ने समेत निणर्य गरेको छ । बजार अनुगमनको लागि समिति सभापतिको नेतृत्वमा समितिको चार जना सदस्यहरु अन्य दुई जना कर्मचारीको टोलीले बजार अनुगमन गर्ने व्यवस्था मिलाउने निणर्य भएको सभापति खानले बताए ।