काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै अर्थतन्त्रमा विभिन्न जोखिम निम्त्याउन सक्ने बताएको छ । पाँचौं पटक क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले देश र संलग्न व्यक्तिहरुलाई नै जोखिममा पार्ने चेतावनी समेत दिएको छ ।
क्रिप्टोकरेन्सीबाट हुन सक्ने मुख्य ८ जोखिमः
१. पुँजी पलायनः
क्रिप्टोकरेन्सी कारोबारले नेपालबाट पुँजी पलायन हुन सक्ने जोखिम रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । उसले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुन पालना नहुने जोखिम रहेको समेत बताएकाे छ ।
नेपाली कानुनहरूले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाए पनि क्रिप्टोकरेन्सीको प्रयोगबाट त्यस्तो पुँजीगत कारोबारमाथिको नियन्त्रण गुम्न जाने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ ।
“नेपालमा बस्ने नेपाली नागरिकले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले तोकेको अवस्थाबाहेक अन्य कुनै पनि किसिमले विदेशमा लगानी गर्न प्रतिबन्धित रहेको हालको विद्यमान कानुनी व्यवस्थामा क्रिप्टोकरेन्सीमा प्रतिबन्ध नलगाउँदा त्यस्तो नियन्त्रण गुम्न जाने देखिन्छ” प्रतिवेदनमा भनिएको छ ।
२. मौद्रिक नीति कार्यान्वयनमा समस्याः
क्रिप्टोकरेन्सी प्रचलनमा आउँदा कुनै पनि देशमा मौद्रिक नीति कार्यान्वयनसम्बन्धी जोखिम उत्पन्न हुने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ । क्रिप्टोकरेन्सीसम्बन्धी करोबारले मुद्राप्रदाय तथा ब्याजदरमा केन्द्रीय ब्याङ्कको नियन्त्रण गुमाउन सक्ने जोखिम हुने राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।
“क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालन हुने र केन्द्रीय ब्याङ्कको नियन्त्रणबाहिर भएकोले यसको प्रयोग भएमा मुद्राप्रदायमा गणना नभई मौद्रिक नीतिको प्रशारण संयन्त्र लगायत सोको प्रभावकारितामा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ” प्रतिवेदनमा उल्लेख छ ।
३. समग्र आर्थिक सन्तुलन गुम्नेः
क्रिप्टोकरेन्सी कारोबारले प्रचलित आर्थिक, मौद्रिक तथा वित्तीय व्यवस्थामा सरकार, केन्द्रीय ब्याङ्क, ब्याङ्क तथा वित्तीय संस्था, बचतकर्ता, ऋणी, सर्वसाधारणलगायत विभिन्न सरोकारवाला पक्ष हुने र सबै पक्षको हित सुनिश्चित हुनेगरी बनाइएका नीतिलाई पालन नहुने हुन्छ । किनकी क्रिप्टोकरेन्सीको कारोबारमा अन्य पक्षहरूलाई समावेश गराइएको हुँदैन।
त्यसले गर्दा प्रयोगकर्ता, लगानीकर्ताको स्वामित्व समेत सट्टेबाजी प्रकृतिको भएकाले लगानीलाई अति जोखिममा पार्ने राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ। वित्तीय मध्यस्थकर्ताको अभावमा क्रिप्टोकरेन्सीको कारोबार जोखिमयुक्त हुने चेतावनी पनि बैंकले दिएको छ ।
४. वित्तीय स्थायित्वमा जोखिमः
क्रिप्टोकरेन्सीको प्रयोग बढ्दै गएमा त्यसको प्रभाव वित्तीय क्षेत्रमा पनि पर्ने बताउँदै राष्ट्र बैंकले समग्र वित्तीय स्थायित्वमा नै प्रतिकूल असर पार्न सक्ने ठहर गरेको छ । सन् २०२१ को अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्राकोषले जारी गरेको ग्लोबल फाइनान्शल स्याबिलिटी प्रतिवेदन (जीएफएसआर) मा पनि क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीनवटा प्रमुख चुनौतीमध्ये एक भनेको कुरा पनि राष्ट्र बैंकले सम्झाएको छ ।
५. विदेशी विनिमय सञ्चितिमा जोखिमः
नेपालले क्रिप्टोकरेन्सीलाई रजर्भ करेन्सीको रुपमा स्वीकार गरेको छैन र यसले नेपालमा विदेशबाट प्राप्त हुने आम्दानी विदेशी मुद्रामा प्राप्त भई विदेशी विनिमय सञ्चितिमा गणना हुने प्रक्रिलाई नकारात्मक असर पार्ने बताइएको छ । “नेपालमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रेषण भएको हुँदा नेपालबाहिर बस्ने नेपाली नागरिकलाई विभिन्न प्रलोभन-प्रभावमा पारी क्रिप्टोकरेन्सीमा लगानी हुन सक्ने र त्यस्तो सट्टेबाजी लगानीले लगानीकर्ताको हित लगायत देशको अर्थतन्त्रमा नै समस्या निम्तिन सक्ने जोखिम रहन्छ” राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, क्रिप्टोकरेन्सी कारोबार नेपालको विदेशी विनिमयमाथि हुने नियमन र नियन्त्रण समेत गुम्ने खतरा हुन सक्ने राष्ट्र बैंकले चेतावनीको दिएको छ ।
६. सम्पत्ति शुद्धीकरणको जोखिमः
क्रिप्टोकरेन्सी कारोबारमा सहभागी हुने पक्षको पहिचान गोप्य रहने हुँदा विद्यमान ग्राहक पहिचान र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाको पालनामा चुनौती थपिने राष्ट्र बैंकले जनाएको छ । सन् २०२१ मा १४ अर्ब अमेरिकी डलर बराबरको अपराध क्रिप्टोकरेन्सीमार्फत् भएको विवरण आएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिला हेर्ने निकाय फाइनान्शल टास्क फोर्सले पनि सन् २०१४ मा कारोबारमा संलग्न हुनेहरूको पक्ष गोप्य रहने लगायतका कारणले त्यस्ता गतिविधि हुन सक्ने औँल्याएको कुरालाई पनि प्रतिवेदनमा समावेश गरिएको छ ।
७. ग्राहक संरक्षण तथा लगानी असुरक्षाको जोखिमः
राष्ट्र बैंकले वित्तीय साक्षरता कम भएको कारण नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्दा ग्राहकहरू असुरक्षित हुनसक्ने समेत प्रतिवेदनमा उल्लेख गरेको छ । उसले क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरु पनि असुरक्षित रहेको विश्लेषण गरेको छ ।
“पछिल्लो समयमा एफटीएक्स जस्तो क्रिप्टोकरेन्सीको दोस्रो ठूलो एक्सचेन्ज टाट पल्टिनुले समेत क्रिप्टोकरेन्सीमा हुने लगानी अत्यधिक जोखिमपूर्ण रहेको देखिन्छ” राष्ट्र बैंकको विश्लेषण प्रतिवेदनमा भनिएको छ ।
८. ठगी र करछलीको जोखिमः
राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कहाँबाट कसले कसरी प्रयोग गरेको हो भन्ने समेत थाहा नहुने हुँदा सहजै ठगी हुन सक्ने बताएको छ । “क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेषगरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्ने देखिन्छ” प्रतिवेदनमा भनिएको छ ।
एउटा अनुसन्धानले सन् २०२० मा क्रिमिनल्ली असोसिएटेड बिटकोइन एड्रेसहरूबाट मात्र ३.५ अर्ब अमेरिकी डलर पठाएको देखिएको समेत केन्द्रीय बैंकले जनाएको छ ।