काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको हमला युक्रेन मात्रै सिमित नहुने बताएका छन् । उनले युक्रेनले जिते रुसका राष्ट्रपति भ्लोदिमिर पुटिनले विश्व व्यवस्था नै बदल्ने समेत बताए । उनले पुटिनले विश्व व्यवस्था नै बदल्न सक्ने भनेदै आफू त्यसको लागि लडेको दाबी समेत गरे ।
स्पेनमा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जेलेन्स्कीले रुसलाई हराउन आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक भएको समेत बताए । त्यस्तै, उनले आधुनिक हतियार अति आवश्यक भएको समेत बताएका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गरेका थिए । त्यस्तै, नेटो प्रमुख येन्स स्टोल्टनबर्गले शीतयुद्धको अन्त्यपछि गठबन्धनमा सबैभन्दा ठूलो फेरबदल हुने बताए । उनले रुसी राष्ट्रपति पुटिनलाई चेतावनी दिँदै युक्रेनमा उनको आक्रमणले उनले चाहेको भन्दा विपरीत नतिजा हासिल गरेको बताएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
यसैबीच नेटोले स्वीडेन र फिनल्यान्डलाई चाँडो प्रक्रियाद्वारा सदस्यता दिने सम्झौता भएको छ । योसँगै ती दुई देशहरूले दशकौँदेखि अपनाउँदै आएको सैन्य तटस्थताको नीति अन्त्य भएको छ । यसअघि टर्कीले लिदै आएको अडान पनि छोडेको छ ।
टर्कीले कुर्दिश कार्यकर्ताहरूलाई स्वीडेन र फिनल्यान्डले संरक्षण दिएको आरोप लगाएको थियो । तर, टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले रातारात आफ्नो अडानबाट पछि हटेका छन् । समझदारीपछि टर्कीका न्याय मन्त्रीले स्वीडेन र फिनल्यान्डमा कुर्दिस नेताहरुलाई चाँडै सुपुर्दगी गर्न आह्वान गरेका छन् ।
नेटो विस्तारको रुसले विरोध जनाएको छ । नेटोको विस्ताले अस्थिरता निम्त्याउने चेतावनी समेत दिएको छ । रुसले नेटो सम्मेलन चलिरहेको बेला युक्रेनमा थप हमला गरेको छ । रुसी अधिकारीहरुले युक्रेन मिसन पूरा नभएसम्म हमला झनmभन बढ्ने बताउँदै आएका छन् ।
नेटोको शिखर सम्मेलनमा अमेरिकालगायत पश्चिमा देशहरुले रुसको एकस्वरमा विरोध जनाउँदै असफल बनाउने बताएका छन् । तर, रुसले उनीहरुको भनाईलाई कुनै प्रवाह नगरी हमला बढाएको छ ।
रुसले पोल्यान्डले युक्रेनलाई हतियार सप्लाई बन्द नगरे खराब परिणाम निम्तिने चेतावनी दिएको छ । रुसले पोल्याण्डको उत्तरमा ५० किलोमिटर नजिक न्यूक्लियर क्षमताका मिसाइल तैनाथ गरेको छ । पोल्याण्डको सीमा जोडिएको बेलारुसलाई आणविक क्षेप्यास्त्र दिने घोषणा गरेको छ ।
अमेरिका, बेलायत, फ्रान्सले आफै हतियार युक्रेनलाई हतियार दिन नसकेर पहिलो पोल्यान्डलाई दिने र त्यसपछि पोल्यान्डले युक्रेन सप्लाई गर्दै आएको छ । रुसले पोल्यान्डले हतियार सप्लाई गरेकै कारण युक्रेनमा आफ्नो सैन्य कारावही लम्बिएको बताउँदै आएको छ ।