काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विरोधमा बहिर्गमित जनमुक्ति सेना बुधबार साँझ काठमाडौँमा पुत्ला जलाएको हो ।
संगठनका अध्यक्ष रमेश बसेल ‘करण’ का अनुसार भारतीय अतिक्रमणविरुद्ध बहिर्गमित जनमुक्ति सेनाले काठमाडौँको स्वायम्भुमा मोदीको पुत्ला जलाएको थियो । बहिर्गमित जनमुक्ति सेनाले दिउँसो १ बजे भारतीय दूतावास अगाडि मोदीको पुत्ला जलाउने कार्यक्रम भएपनि सो क्षेत्रमा प्रहरी परिचालन गरेका कारण सम्भव नभएको करणले बताए ।
भारतीय अतिक्रमणविरुद्ध चर्का नारा लगाउनुको साथै नेपालीभूमिमा सडक निर्माण गरिसक्दा पनि नरोकेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिएको थियो । भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्नुपर्ने बताउँदै आएको बहिर्गमित जनमुक्ति सेनाले आवश्यक परे आफूहरु सीमा रक्षाको लागि लड्न तयार रहेको बताउँदै आएको छ ।
भारतीय अतिक्रमणविरुद्ध संगठनले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ पहिलो चरणका कार्यक्रम अन्तरगत पुत्ला जलाएको बताए । थप संघर्षका कार्यक्रम ल्याउने सुवासले जानकारी दिए । कालापानी-लिपुलेक नेपालीको मुटु भएको बताउँदै अतिक्रमित भूमि फिर्ताको लागि सरकारलाई दबाब दिन विरोधका कार्यक्रम गरिएको बताए ।
भिडियो