रुपन्देही । प्रदेश नं ५ सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, संसद सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आज बुटवलमा आयोजना गरेको “छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक” माथिको अन्तरक्रिया कार्यक्रममा उनीहरुले मिडिया बलियो भए मात्र सरकार बलियो हुने भएकाले मिडियाप्रति उदार बन्न सुझाव दिए ।
सो अवसरमा प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले समितिले मिडियाकर्मीको सुझावअनुसार नै विधेयक पास हुने बताए । उनले भने,“जटिलताको बीचबाट प्रदेशसभा र सरकार अगाडि बढेको छ” “हाम्रो नियत खराब छैन, छलफलमा आएका सुझावलाई समेटेर विधेयक आउँछ ।”
कानून मस्यौदा तथा सुझाव आयोगका सदस्य विष्णु पोखरेलले कानून बनाउने कुरा जटिल भएकाले यसमा सबैको सहयोग जरुरी हुने बताए ।
उनले भने, “बनेको बाटोमा हिँड्नुभन्दा बाटो बनाउन गाह्रो हुन्छ ।” आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव हरिसिंह धामीले विधेयकमाथि भएका त्रुटि छलफलमार्फत सच्याउन सकिने बताए ।
पत्रकार महासंघका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले विधेयकको प्रस्तावना नै गलत भएकाले सच्याउन आग्रह गरे । “मिडियासँग कुनै छलफल नगरी विधेयक ल्याउने तयारी गर्नु गलत हो”, उनले भने, “प्रेस स्वतन्त्र हुनेगरी विधेयक नआए स्वीकार्दैनौँ ।” प्रस्तावित छापाखाना र प्रकाशनसम्बन्धी विधेयकबारे अवधारणा पत्र प्रस्तुत गर्दै पत्रकार डिआर घिमिरेले प्रदेशमा बन्ने ऐन कानून मिडियाका लागि लचिलो हुनुपर्ने बताए ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          







