१) विषय प्रवेश
नेपालको समग्र राजनीतिक तथा कम्युनिस्ट आन्दोलनमा देखा परिरहेका समस्या एवम् सङ्कटको कारण, परिणाम र परिणतिहरूको अध्ययन, सिंहावलोकन र समीक्षाबाट सामूहिक बहस, फरक खोज र नयाँ अवधारणाको कूलयोग ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक पाठकहरूसामु लिएर कमरेड खम्बु चन्द आउनु भएको छ । सर्वप्रथम कमरेड खम्बु चन्दलाई हार्दिक बधाई, साधुवाद एवम् शुभकामना !
अनन्य कमरेड खम्बु चन्दको किशोरावस्थामा नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पूर्ण रुपले समर्पित भएर मूलतः महान् जनयुद्धको खुला विश्वविद्यालय एवम् सामाजिक व्यवहारबाट आर्जित अनुभव र ज्ञानलाई पुस्तकद्वारा सम्प्रेषण गर्ने काम आफैँमा प्रशंसनीय छ । कमरेड खम्बु चन्द रुकुमबाट क्रान्तिकारी विद्यार्थी आन्दोलन एवम् ग्रामीण वर्गसङ्घर्षमा होमिनु भयो । उहाँ वास्तविक जीवनमा दर्शक होइन, जिन्दगीमा महान् जनयुद्धको तुफानी सङ्घर्षमा सहभागी हुनु भयो । उहाँ आज समाजवादी कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । पहिलो सैद्धान्तिक स्पष्टता, दोस्रो वर्गीय प्रतिबद्धता र तेस्रो कार्य तत्परता मुख्य विशेषता एवम् कमरेड खम्बु चन्दको गतिशीलता, सिर्जनशीलता र क्रान्तिकारी परिचय हो ।
केही स्वनामधन्य समाजशास्त्री, अर्थशास्त्री र विश्लेषक महानुभावहरुलाई कमरेड खम्बु चन्दले पार्टीगत एवम् नेतागणका संश्लेषणभन्दा नविन ढङ्गले ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तकद्वारा सबक दिनु भएको छ । यो पुस्तकले नयाँ बहसको ढोका खोलेको छ, व्यापक अनुसन्धनात्मक खोज र नयाँ अवधारणाको प्रक्षेपण गरेको छ ।
हजारौँ प्रश्नहरू होइन, युगीन यक्षप्रश्नहरूको उठान र सैद्धान्तिक एवम् वैचारिक मार्गदर्शन हो– ‘समाजवादको मौलिक मार्गचित्र’ । उक्त पुस्तकको पृष्ठ ५, आभारमा लेखक कमरेड खम्बु चन्दले ‘आजसम्मका राजनीतिक आन्दोलनहरूले राजनीतिक व्यवस्था फेरे पनि सामाजिक–आर्थिक रूपान्तरण किन भएन ? किन हरेक राजनीतिक सङ्घर्षले आफ्नो घोषित उद्देश्य हासिल गर्न सकेन र राजनीतिक प्रक्रिया गोलचक्करमै घुमिरह्यो ? किन हरेक राजनीतिक आन्दोलनपछि राष्ट्रिय स्वाधीनतामाथिका चुनौती झन् थपिदै गए ? यसो हुनुको पछाडि केही कारण त अवश्य छन्, तर ती के हुन् ? यी प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न किन हुन सकेन ? वर्षौँदेखि यी प्रश्नहरूले मलाई चिमोटिरहे । मैले पनि तिनका उत्तर खोज्ने कोसिस गरिरहेँ ।
साधनस्रोतको अभाव र आफ्नै ज्ञानको सीमाका बिचबाट अनुसन्धानको काम सुरु गरेँ’ उल्लेख गर्दै युगीन यक्षप्रश्नहरूको उठान एवम् सामूहिक बहस, व्यापक खोज–अनुसन्धान र नविन अवधारणाको विकास गर्नु भएको छ । यो पुस्तक कुनै विश्वविद्यालयको बन्द पर्खालको बन्दकोठा वा पुस्तकालयमा गरिएको बुद्धि विलास होइन, वास्तविक सामाजिक व्यवहारमा हासिल जिवन्त अध्ययन, शिक्षा, अनुभव तथा व्यापक अनुसन्धानको उत्कृष्ट अभिव्यक्ति हो । विश्व एवम् मूलतः नेपालको मानव समाज, अर्थराजनीति, अर्थसामाजिक तथा कम्युनिस्ट आन्दोलन इतिहासको अध्ययन, सिंहावलोकन र निर्मम समीक्षाको प्रतिफल हो । चुनौतिपूर्ण वर्तमानको सामना गर्ने विजयास्त्र हो । उज्वल भविष्यको मार्गदर्शन पनि हो ।

आज नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, सैन्यलगायत अवस्था कहालीलाग्दो सङ्कटमा परिरहेको छ । उलटपुलट एवम् उथलपुथलको उद्देश्यमा सञ्चालित विगतका जनविद्रोह, जनसङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र जनक्रान्ति विजयमा पुग्न नसक्दा, निष्कर्षविहीन ढङ्गले सम्झौतामा वा आंशिक परिवर्तनमा सीमित हुनुले अभिव्यक्त जनादेशको उपहास र जनअपेक्षाको तेजोबध भई जनतन्त्र धरापमा परिरहेको छ । जनतन्त्रको स्थान आश्रित नवऔपनिवेशिक दलाल पुँजीवादी कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रले लिएको छ । ऐतिहासिक जनआन्दोलनका एवम् जनक्रान्तिका नगद उपलब्धिहरू गुम्न पुगेका छन् ।
श्रमिक वर्ग एवम् श्रमजीवी जनता दोबाटोमा खडा भएर नयाँ भविष्य खोजिरहेका छन् । नवऔपनिवेशिक दलाल पुँजीवादी व्यवस्थामा नयाँ जलप लगाएर देश र श्रमिक वर्ग एवम् श्रमजीवी जनतामाथि कठपुतली एवम् उन्मादपूर्ण क्रूर नयाँ दलालतन्त्र बलपूर्वक लादिएको छ ।
प्रकृति एवम् मानव समाज गतिशील एवम् परिवर्तनशील छ । इतिहास पनि अनवरत विनाश र सिर्जनाको गतिशील प्रक्रिया हो । इतिहासका सकारात्मक विरासतहरूको रक्षा एवम् विकास कुनै आवश्यक नियमहरूको उल्लङ््घन होइन, वास्तविकताको आत्मसातीकरण, जिम्मेवारीबोध र नयाँ निर्माणको आधारशिला हो । नयाँ युगीन आवश्यकता क्रान्तिकारी गतिशीलता एवम् सिर्जनशीलता पनि हो ।
विश्वमा समाजवाद–साम्यवाद प्राप्तिका निम्ति फिलिपिन्स, पेरु, नेपाल र भारतमा क्रान्ति प्रारम्भ भए पनि हालसम्म सफल एवम् विजयी भएनन् । कहीँ पनि त्यसबाट लक्ष्य प्राप्त हुन सकेको छैन । यसका कारण एवम् परिणामहरूको गहन अध्ययन र समीक्षा आवश्यक भइरहेको छ । माओ त्से तुङको निधनपछि समाजवाद–साम्यवादको नयाँ लहर एवम् पहाड पन्छाउने र समुद्र पल्टाउने गति र बज्रको शक्ति किन सेलाइरहेको छ ? यो के कारण विसर्जन भइरहेको छ ?
समाज विज्ञान प्रकृति एवम् भौतिक विज्ञानका उथलपुलका अन्वेषण, प्रगति र विकासको गतिशीलताभन्दा समाज विज्ञान पछाडि परेको हो त ? के प्राकृतिक विज्ञानका क्षेत्रमा भएको क्रान्तिले प्रस्तुत गरेका ऐतिहासिक कार्यभार पुरा गर्न कम्युनिस्टहरू चुकेका हुन् ?
समकालीन इतिहासमा राजनीतिक एवम् सामाजिक परिवर्तनको लागि प्रयोग गरिएका विद्यमान पुराना विधिहरू सशस्त्र सङ्घर्ष, जनआन्दोलन र निर्वाचन पनि आज प्रभावहीन भइरहेका छन् । विगतमा अद्धितीय अचूक साधनको रूपमा मानिएको पुरानो रणनीतिको सशस्त्र सङ्घर्ष अब प्रभावहीन भइरहेको छ । विश्वमा पुरानै स्वरुपका जनआन्दोलन पनि सफल भएका छैनन् । नेपालमा विगतमा जनआह्वान गरिएका केही जनविद्रोह, जनसङ्घर्ष, जनआन्दोलन र जनक्रान्तिमा ठुलो जनसहभागिताको बाबजुद असफलतामा टुङ्गिएका थिए ।
त्यसैगरी निर्वाचनबाट पनि विश्वमा राजनीतिक एवम् सामाजिक परिवर्तनका लागि सफलता प्राप्त भइरहेको छैन । युरोप, ल्याटिन अमेरिकी, भारत र नेपालका कम्युनिस्टहरूले निर्वाचनको माध्यमबाट केही आंशिक सफलता मात्र प्राप्त गरेका छन्, तर मूल लक्ष्य प्राप्त हुन सकेको छैन ।
नेपालमा पुँजीवादी क्रान्तिको लागि विगतमा भएका प्रयत्नहरू असफल भइरहेका छन् । नेपालमा पुँजीवादी क्रान्तिको लागि २००७, २०४६ र २०६२–२०६३ सालमा जनआन्दोलनहरू भएका थिए । तर केही आंशिक उपलब्धिहरूको बाबजुद ती असफल भएका थिए । यसमा पहिलो प्रयत्नबाट निरङ्कुश राणा शासनको अन्त्य र कथित प्रजातन्त्रको स्थापना भयो । दोस्रो प्रयत्नबाट निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र नवउदारवादी बहुदलीय व्यवस्थाको स्थापना भयो । तेस्रो प्रयत्नबाट राजतन्त्रको अन्त्य र बुर्जुवा गणतन्त्रको स्थापना भयो । यी आंशिक उपलब्धि एवम् सफलताहरू मात्र थिए । तर ती सबै प्रयत्नहरूबाट मूल लक्ष्य प्राप्त हुन सकेन । अपेक्षाकृत पुँजीवादी व्यवस्थाको स्थापना र विकास पनि भएन ।
नेपालमा माओ त्सेतुङको अनुकरणको नयाँ जनवादी क्रान्तिको लागि केही प्रयत्नहरू पनि भएका थिए । ती प्रयत्नहरूमध्ये पहिलो नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी कार्यक्रम, दोस्रो नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नेतृत्वमा जनताको बहुदलीय जनवादको कार्यक्रम र तेस्रो नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा जनयुद्धद्वारा नयाँ जनवादी क्रान्तिको कार्यक्रम सर्वविदित छन् । त्यसबाट केही आंशिक उपलब्धिहरू भए, तर मूल लक्ष्य प्राप्त हुन सकेन ।
नेपालको इतिहासमा समग्र आन्दोलन र कम्युनिस्ट आन्दोलनको अध्ययन, सिंहावलोकन र समीक्षाबाट के स्पष्ट हुन्छ भने पुँजीवादी नयाँ जनवादी क्रान्ति होइन, अब नेपाली जनक्रान्तिको लक्ष्य समाजवाद हुन्छ । नेपालमा नेपाली जनक्रान्तिद्वारा नेपालको समाजवाद नै अद्धितीय विकल्प हो ।
यो पृष्ठभूमि एवम् सन्दर्भमा ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तकको सिर्जना हुनु हामी सबैका निम्ति खुसी र गौरव हो । यो पुस्तकको आद्योपान्त अध्ययन पश्चात् यसमा मैले छोटो चर्चापरिचर्चा एवम् समीक्षा गर्ने प्रयास गरेको छु । परन्तु म कुनै स्वनामधन्य समालोचक भने होइन, मात्र अध्येयता ।
‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा ऐतिहासिक अवस्थाको गहन अध्ययन र विश्लेषणमा आधारित महत्वपूर्ण कृति हो । यस पुस्तकमा लेखकले नेपालको आफ्नै वस्तुगत परिस्थिति, सामाजिक संरचना, उत्पादन सम्बन्ध, वर्गीय अवस्था र राजनीतिक इतिहासलाई आधार बनाएर नेपाली समाजवादको मौलिक बाटो पहिचान गर्नुभएको छ । विश्वका अन्य देशमा भएका क्रान्ति र समाजवादी अभ्यासबाट शिक्षा लिन सकिने भए पनि तिनको अन्धानुकरण गरेर नेपालमा समाजवाद स्थापना गर्न नसकिने लेखकको बलशाली विश्लेषण एवम् संश्लेषण रहेको छ ।
(२) पुस्तकका मूलभूत विषयवस्तुहरू
नेपालको राजनीतिक इतिहासमा विभिन्न समयमा ठूला–ठूला जनआन्दोलन, जनविद्रोह, जनसङ्घर्ष, जनयुद्ध र जनक्रान्तिहरू भएका छन् । तिनीहरूले राजनीतिक व्यवस्थाको नाममा परिवर्तन ल्याए पनि श्रमिक वर्ग एवम् श्रमजीवी जनताले अपेक्षाअनुरुप सामाजिक तथा आर्थिक रूपान्तरण हुन सकेको छैन ।
पुस्तकमा लेखकले यो अवस्थाको परिणाम एवम् कारणहरू खोज–अनुसन्धान गर्नुभएको छ । राजनीतिक व्यवस्था परिवर्तन हुँदैमा समाजको आर्थिक तथा सामाजिक संरचना स्वतः परिवर्तन हुँदैन भन्ने कुरालाई उहाँले जोड दिनुभएको छ । त्यसैले नेपाली समाजको वास्तविक चरित्र, वर्गीय संरचना र उत्पादन सम्बन्धको अध्ययन गरेर मात्र समाजवादको उचित बाटो तय गर्न सकिने उहाँको निष्कर्ष रहेको छ ।
यो पुस्तक केवल सैद्धान्तिक चर्चा मात्र होइन, नेपाली समाजको वास्तविक अवस्थालाई अध्ययन गरेर नयाँ राजनीतिक तथा वैचारिक बहस अगाडि बढाउने एवम् रूपान्तरण गर्ने उद्देश्यमा तयार गरिएको महत्वपूर्ण कालजयी एवम् युगान्तकारी कृति हो । ‘समाजवादको मौलिक मार्गचित्र’ २०८३ असोजमा अथक मासिक प्रकाशक, ५४० पृष्ठ, तीन भाग, नौवटा अध्याय र २०६ वटा सामग्रीको अध्ययन सन्दर्भ उल्लेख गरिएको पुस्तकमा लेखकले निम्न विषयवस्तु र महत्वपूर्ण पक्षहरूको विश्लेषण एवम् संश्लेषण गर्नु भएको छ–
(क) अनुसन्धानको वैचारिक तथा पद्धतिगत रूपरेखा
पुस्तकको पहिलो भागमा अनुसन्धानको परिचय, ऐतिहासिक पृष्ठभूमि, उद्देश्य, अनुसन्धानका प्रश्न, सैद्धान्तिक आधार, अध्ययन विधि, अध्ययनको दायरा र निष्कर्षको चर्चा गरिएको छ ।
लेखकले समाजलाई बुझ्न ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादलाई महत्वपूर्ण आधार बनाउनुभएको छ । समाज स्थिर वस्तु नभई निरन्तर परिवर्तनशील प्रक्रिया हो । उत्पादनका साधन, उत्पादन सम्बन्ध, वर्गीय संरचना, राज्य, प्रविधि, संस्कृति र विचारबिचको सम्बन्धले समाजको विकास र रूपान्तरणमा मुख्य भूमिका खेल्छ भन्ने वैज्ञानिक विश्लेषण रहेको छ ।
यसमा नेपालको समग्र इतिहास र वर्तमान अवस्थाको विश्लेषण गर्दै समाजवादी रूपान्तरणको नवीन मार्ग पहिचान गर्नुपर्ने लेखकको मूल मान्यता एवम् जोड रहेको छ । उहाँले कुनै पनि सिद्धान्तलाई यान्त्रिक रूपमा लागू गर्नुभन्दा नेपाली समाजको वास्तविकतासँग जोडेर विश्लेषण गर्नुपर्ने कुरामा पुस्तकमा जोड दिनुभएको छ ।
(ख) समाज विकासका सैद्धान्तिक आधार
यो पुस्तकमा समाजको विकास र परिवर्तनलाई ऐतिहासिक तथा भौतिक परिस्थितिसँग जोडेर विश्लेषण एवमु संश्लेषण गरिएको छ । समाजको विकासमा उत्पादन प्रणाली, उत्पादनका साधन, श्रम, वर्गीय सम्बन्ध र राज्यको महत्वपूर्ण भूमिका रहने लेखकको विचार एवम् दृष्टिकोण रहेको छ ।
समाजमा हुने हरेक परिवर्तन पुराना संरचना र नयाँ आवश्यकताबिचको अन्तर्विरोधबाट अगाडि बढ्छ । पुरानो सामाजिक तथा आर्थिक व्यवस्थाले नयाँ आवश्यकतालाई सम्बोधन गर्न नसक्दा परिवर्तनको आवश्यकता एवम् क्रान्ति पैदा हुन्छ ।
लेखकले समाजवादी रूपान्तरणका लागि राजनीतिक नाराले मात्र पुग्दैन भन्ने ठोकुवा गर्दै उत्पादन प्रणालीमा परिवर्तन, वर्गीय शोषणको अन्त्य, सामाजिक न्यायको स्थापना र राज्यको चरित्रमा परिवर्तन अपरिहार्य आवश्यक हुन्छ । त्यसले नै समाज विकासका नियम र नेपालको आफ्नै ऐतिहासिक अवस्थालाई बुझ्नु समाजवादी क्रान्तिका निम्ति अनिवार्यता औल्याउनु भएको छ ।
(ग) नेपालको सामाजिक–आर्थिक विकासको ऐतिहासिक प्रक्रिया
यो पुस्तकको महत्वपूर्ण विषयमध्ये नेपालको सामाजिक तथा आर्थिक विकासको ऐतिहासिक अध्ययन, विश्लेषण एवम् संश्लेषण पनि एक हो । लेखकले नेपाली समाज इतिहासमा कसरी विकास हुँदै वर्तमान अवस्थामा आइपुगेको छ भन्ने विषयलाई ऐतिहासिक दृष्टिले विश्लेषण मात्र होइन, महत्वपूर्ण संश्लेषण गर्नुभएको छ ।
नेपालको सामाजिक संरचना, राज्य निर्माणको प्रक्रिया, उत्पादन सम्बन्ध, राजनीतिक व्यवस्था र आर्थिक प्रणालीमा समयअनुरूप परिवर्तन एवम् रूपान्तरण हुँदै आएको छ । इतिहासमा विभिन्न राजनीतिक आन्दोलन र शासन व्यवस्थाको परिवर्तनले समाजमा केही महत्वपूर्ण उपलब्धि हासिल गरे पनि आर्थिक तथा सामाजिक संरचनामा जनअपेक्षित परिवर्तन हुन सकेको छैन ।
लेखकले नेपालमा राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणबिच अपूर्णता एवम् अन्तर्विरोधको विषयलाई सुस्पष्ट रुपमा उठाउनुभएको छ । राजनीतिक व्यवस्थाको नाम परिवर्तन भए पनि उत्पादनका साधन र आर्थिक स्रोतमा श्रमिक वर्ग र श्रमजीवी जनताको पहुँच समान हुन नसकेको अवस्थाले समाजमा शोषण, उत्पीडन र असमानता कायम राखेको उहाँको विश्लेषण छ ।
यसैले नेपालको भावी समाजवादी क्रान्तिले इतिहासका राजनीतिक परिवर्तनहरूको उपलब्धि र कमजोरी दुबैको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
(घ) नेपालमा दलाल पुँजीवादको उदय, विकास र पुनर्परिभाषा
यो पुस्तकको अर्को महत्वपूर्ण विषय नेपालमा दलाल पुँजीवादको विकास हो । लेखकले नेपालको आर्थिक संरचनामा दलाल पुँजीको भूमिका र यसको राजनीतिक तथा सामाजिक प्रभावबारे चर्चा गर्नुभएको छ ।
दलाल पुँजीवादले राष्ट्रिय उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको विकासभन्दा बाह्य पुँजी, व्यापारिक स्वार्थ र परनिर्भरतासँग जोडिएको आर्थिक संरचनालाई बलियो बनाउने लेखकको विश्लेषण एवम् संश्लेषण रहेको छ ।
यसमा राज्यसत्ता, राजनीतिक नेतृत्व, व्यापारिक क्षेत्र र पुँजीबीचको सम्बन्धले आर्थिक तथा राजनीतिक प्रक्रियामा प्रभाव पारिरहेको उहाँले उल्लेख गर्नुभएको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स, वित्तीय क्षेत्रको विस्तार, सेवा क्षेत्रको प्रभुत्व, तीव्र सहरीकरण र विश्वव्यापीकरणले नेपालको आर्थिक संरचनामा प्रभाव मात्र होइन, व्यापक परिवर्तन ल्याएका छ । तर यी परिवर्तनले राष्ट्रिय उत्पादन र आत्मनिर्भर अर्थतन्त्रलाई जनअपेक्षित रूपमा बलियो बनाउन नसकेको प्रश्न पुस्तकमा व्यापक उठाइएको छ । लेखकले दलाल पुँजीवादको चरित्र, प्रभाव र नियन्त्रणलाई सही रूपमा पहिचान नगरी नेपालको समाजवादी रूपान्तरणको रणनीति बनाउन सकिँदैन भन्ने सुस्पष्ट विश्लेषण एवम् संश्लेषण गर्नु भएको छ ।
(ङ) नेपालको समकालीन वर्ग संरचनाको पुनर्विश्लेषण
समाज परिवर्तन एवम् रूपान्तरणका लागि समाजमा रहेका विभिन्न वर्ग र तिनको आपसी सम्बन्ध बुझ्न आवश्यक हुन्छ । लेखकले पुस्तकमा नेपालको वर्तमान वर्ग संरचनाको अध्ययन र विश्लेषण गर्नु भएको छ ।
यसमा समाजमा श्रमिक वर्ग, किसान, साना उत्पादक, उद्यमी, मध्यम वर्ग, पुँजीपति वर्ग तथा दलाल पुँजीसँग सम्बन्धित विभिन्न समूहहरूको उपस्थिति रहेको उल्लेख छ । यी वर्गहरूको आर्थिक अवस्था, उत्पादनसँगको सम्बन्ध र राजनीतिक स्वार्थ फरक–फरक हुन्छन् भन्ने उल्लेख छ ।
लेखकले वर्गीय संरचनालाई पुरानो परिभाषामा मात्र सीमित राख्न नहुने विचार स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको छ । समयसँगै आर्थिक प्रणाली र उत्पादन सम्बन्ध परिवर्तन भएकाले वर्गहरूको स्वरूप र उनीहरूको भूमिका पनि परिवर्तन भएको विश्लेषण रहेको छ ।
त्यसैले समाजवादी क्रान्तिका लागि वर्तमान समाजको वर्ग संरचनाको वैज्ञानिक विश्लेषण अपरिहार्य छ । श्रमिक, किसान तथा श्रमजीवी जनताको वास्तविक अवस्था र उनीहरूको समस्यालाई केन्द्रमा राखेर राजनीतिक कार्यक्रम निर्माण गर्नुपर्ने पुस्तकमा उहाँको जोड रहेको छ ।
(च) इतिहासको शिक्षा, ऐतिहासिक कार्यभार र क्रान्तिको चरित्र
पुस्तकमा नेपालको राजनीतिक इतिहास र विभिन्न आन्दोलनहरूको समीक्षा सविस्तार गरिएको छ । नेपालमा भएका जनआन्दोलन, जनसङ्घर्ष, जनविद्रोह, जनयुद्ध र जनक्रान्तिले राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएका छन् । तर ती आन्दोलनहरूले घोषणा गरेका सबै उद्देश्य पूरा हुन सकेका छैनन् । लेखकले यसका कारणहरूको खोजी मात्र होइन, विश्लेषण एवम् संश्लेषण गर्नुभएको छ । राजनीतिक सङ्घर्षमा प्राप्त उपलब्धिलाई सामाजिक तथा आर्थिक रूपान्तरणमा बदल्न नसक्नु पमुख समस्या रहेको उहाँको विश्लेषण रहेको छ ।
नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनहरूबाट शिक्षा लिँदै आगामी आन्दोलनको दिशा तय गर्नुपर्ने लेखकको धारणा छ । विगतका आन्दोलनको सफलता र असफलताको समीक्षा नगरी नयाँ राजनीतिक कार्यदिशा निर्माण गर्न नसकिने कुरामा उहाँले जोड दिनुभएको छ ।
(छ) नेपाली समाजको नयाँ मनोविज्ञान
यस पुस्तकमा नेपाली समाजको बदलिँदो नयाँ मनोविज्ञानलाई पनि महत्वपूर्ण विषयका रूपमा विश्लेषण एवम् संश्लेषण गरिएको छ ।
गतिशील समयसँगै मानिसहरूको सोचाइ, चेतना, आकांक्षा, जीवनशैली र सामाजिक व्यवहारमा व्यापक परिवर्तन आएको छ । शिक्षा, प्रविधि, सूचना, सञ्चार, वैदेशिक रोजगारी, सहरीकरण र विश्वव्यापीकरणले नेपाली समाजको मनोविज्ञानमा प्रत्यक्ष एवम् परोक्ष प्रभाव पारेका छन् ।
नयाँ पुस्ताको सोचाइ, मनोविज्ञान, राजनीतिक चेतना र सामाजिक अपेक्षालाई पुरानो दृष्टिकोणबाट मात्र बुझ्न नसकिने लेखकको विश्लेषण रहेको छ । त्यसैले समाजवादी क्रान्तिले वर्तमान समाजको चेतना र मनोविज्ञानलाई बुझेर विचार, रणनीति, कार्यनीति र कार्यक्रमहरू विकास गर्नुपर्ने अनिवार्य आवश्यकता औँल्याइएको छ ।
(ज) नेपाली समाजवादी क्रान्तिको मौलिक मार्गचित्र
पुस्तकको सबैभन्दा महत्वपूर्ण पक्ष नेपाली समाजवादी क्रान्तिको मौलिक मार्गचित्र प्रस्तुत गर्ने प्रयास हो । लेखकले नेपालमा समाजवाद स्थापना गर्ने मार्ग नेपालको आफ्नै ऐतिहासिक, आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक परिस्थितिमा आधारित हुनुपर्छ भन्ने विश्लेषण एवम् संश्लेषण निकै बलशाली रुपमा गर्नु भएको छ । अरू देशका क्रान्ति र समाजवादी अभ्यासबाट शिक्षा लिन सकिन्छ, तर तिनलाई जस्ताको तस्तै नेपालमा लागू गर्न सकिँदैन ।
नेपालको वर्ग संरचना, उत्पादन सम्बन्ध, राज्यको चरित्र, दलाल पुँजीवादको चरित्र, प्रभाव, नियन्त्र र श्रमिक वर्ग एवम् श्रमजीवी जनताको वास्तविक अवस्थालाई केन्द्रमा राखेर जनक्रान्तिको रणनीति तयार गर्नुपर्छ ।
लेखकले पुँजीवादी जनवादी क्रान्ति र समाजवादी क्रान्तिको विषयलाई नेपालको सन्दर्भमा विश्लेषण गर्दै अब नेपाली जनक्रान्तिको मूल लक्ष्य समाजवाद हुनुपर्ने धारणा प्रस्तुत गर्नुभएको छ । यसको अर्थ समाजवादी क्रान्तिले राजनीतिक सत्ता परिवर्तनलाई मात्र लक्ष्य बनाउनु हुँदैन, आर्थिक, सामाजिक र उत्पादन प्रणालीमा समेत आधारभूत परिवर्तन ल्याउने उद्देश्य राख्नुपर्छ भन्ने विश्लेषण रहेको छ ।
(झ) पुस्तकका प्रमुख सैद्धान्तिक निष्कर्षहरू निम्न छन्
पहिलो, नेपालको समाजलाई बुझ्न नेपालको आफ्नै ऐतिहासिक, आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको वैज्ञानिक अध्ययन जरुरी छ । दोस्रो, राजनीतिक व्यवस्था परिवर्तन हुँदैमा सामाजिक तथा आर्थिक रूपान्तरण स्वतः सम्भव हुँदैन । तेस्रो, नेपालको वर्तमान आर्थिक संरचनामा दलाल पुँजीवादको प्रभाव एवम् नियन्त्रणलाई गम्भीर रूपमा अध्ययन, विश्लेषण एवम्् संश्लेषण (समाधान) अनिवार्य छ । चौथौ, समाजवादी क्रान्तिको रणनीति निर्माण गर्दा वर्तमान वर्ग संरचना र उत्पादन सम्बन्धको सही विश्लेषण अपरिहार्य छ । पाँचौ, ऐतिहासिक जनआन्दोलन, जनसङ्घर्ष, जनयुद्ध र राजनीतिक परिवर्तनका उपलब्धि तथा कमजोरीबाट शिक्षा लिनुपर्छ तथा ऐतिहासिक विरासतहरूको रक्षा अनिवार्य छ । सातौँ, नयाँ पुस्ताको सोचाइ, मनोविज्ञान, सामाजिक चेतना र बदलिँदो मनोविज्ञानलाई समाजवादी क्रान्तिले आत्मसात् गर्नुपर्छ । आठौँ, अन्य देशका क्रान्तिकारी अनुभवबाट सिक्नुपर्छ, तर तिनको अन्धअनुकरण एवम् अनुकरण असम्भव छ । नवौ, नेपालको समाजवादी क्रान्ति नेपाली समाजको वास्तविकता र आवश्यकतामा आधारित हुन अनिवार्य छ ।
(४) पुस्तकको महत्व र योगदान
‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तकको मुख्य महत्व नेपाली समाजवादबारे मौलिक बहस र नयाँ वैचारिक दृष्टिकोण प्रस्तुत गर्नु हो । यसले नेपालको राजनीतिक परिवर्तनलाई शासन व्यवस्था परिवर्तनका रूपमा नभई सामाजिक तथा आर्थिक रूपान्तरणको दृष्टिले अध्ययन गर्न प्रेरित गरेको छ ।
यो पुस्तकले नेपालको इतिहास, वर्ग संरचना, आर्थिक प्रणाली, दलाल पुँजीवाद, सामाजिक नयाँ मनोविज्ञान र समाजवादी क्रान्तिको कार्यदिशालाई समग्र वैचारिक सन्दर्भमा जोडेर विश्लेषण एवम् संश्लेषण गरेको छ ।
यसले नेपाली कम्युनिस्ट आन्दोलनका नेता, कार्यकर्ता, विद्यार्थी, अनुसन्धानकर्ता तथा समाजवादी विचारमा रुचि राख्ने व्यक्तिहरूलाई नेपालको वास्तविकता बुझ्न र नयाँ दृष्टिकोणबाट अध्ययन एवम् बहस गर्न आधार प्रदान गर्छ । ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक नेपालको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्दै नेपाली समाजवादी क्रान्तिको मौलिक मार्ग पहिचान गर्ने प्रयास गरिएको महत्वपूर्ण सैद्धान्तिक एवम् वैचारिक पुस्तक हो ।

(५) पुस्तकको छोटो समीक्षा
‘समाजवादको मौलिक मार्गचित्र’ नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक तथा ऐतिहासिक अवस्थाको गहन अध्ययन र विश्लेषणमा आधारित महत्वपूर्ण सैद्धान्तिक एवम् वैचारिक कृति हो । यस पुस्तकमा लेखक कमरेड खम्बु चन्द्रले नेपालको आफ्नै वस्तुगत परिस्थिति, सामाजिक संरचना, उत्पादन सम्बन्ध, वर्गीय अवस्था र राजनीतिक इतिहासका आधारमा नेपाली समाजवादको मौलिक जनमार्ग पहिचान गर्ने प्रयास गर्नुभएको छ ।
लेखकको विश्लेषण र संश्लेषणको केन्द्रमा अरू देशका क्रान्ति र समाजवादी अभ्यासबाट शिक्षा लिन सकिए पनि तिनको अन्धानुकरण एवम् अनुकरण गरेर नेपालमा समाजवाद स्थापना गर्न सम्भव छैन । नेपालको वास्तविक ऐतिहासिक, आर्थिक, सामाजिक र भौगोलिक विशेषताका आधारमा समाजवादी रूपान्तरणको मार्गचित्र निर्माण गरिनु पर्ने आवश्यकता मात्र होइन, त्यसको प्रारम्भिक प्रस्ताव पनि गर्नु भएको छ ।
यस पुस्तकमा विभिन्न महत्वपूर्ण विषयहरू समेटिएका छन् । पहिलो, समाज विकासको सैद्धान्तिक आधार– लेखकले ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादलाई समाज बुझ्ने महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभएको छ । साथै उत्पादनका साधन, उत्पादन सम्बन्ध, श्रम, वर्गीय संरचना, राज्य, प्रविधि र संस्कृतिबीचको अन्तरसम्बन्धले समाजको विकास र परिवर्तनमा प्रभाव पार्ने विचार प्रस्तुत गरिएको छ । दोस्रो, नेपालको सामाजिक–आर्थिक विकासको ऐतिहासिक प्रक्रिया– नेपालमा विभिन्न राजनीतिक आन्दोलन र शासन व्यवस्थामा परिवर्तन आए पनि श्रमिक वर्ग एवम् श्रमजीवी जनताको जीवनमा अपेक्षित आर्थिक तथा सामाजिक रूपान्तरण हुन नसकेको विषयलाई पुस्तकले सुस्पष्ट उठाएको छ । राजनीतिक परिवर्तनसँगै आर्थिक संरचनामा पनि परिवर्तन आवश्यक रहेको लेखकको निष्कर्ष छ ।
तेस्रो, दलाल पुँजीवादको विकास र प्रभाव– पुस्तकमा नेपालको अर्थतन्त्रमा दलाल पुँजीवादको भूमिका र त्यसको राजनीतिक तथा सामाजिक प्रभावबारे सविस्तार चर्चा गरिएको छ । वैदेशिक पुँजी, व्यापारिक स्वार्थ, रेमिट्यान्स, वित्तीय क्षेत्र, सेवा क्षेत्र र विश्वव्यापीकरणले नेपालको आर्थिक संरचनामा पारेको प्रभावलाई विश्लेषण गरिएको छ ।
चौथो, समकालीन वर्ग संरचनाको पुनर्विश्लेषण– श्रमिक, किसान, साना उत्पादक, उद्यमी, मध्यम वर्ग, पुँजीपति वर्ग तथा दलाल पुँजीसँग सम्बन्धित विभिन्न वर्गहरूको अवस्थाबारे सविस्तार चर्चा एवम् विश्लेषण गर्नुभएको छ । वर्तमान वर्गीय संरचनालाई पुरानो परिभाषामा मात्र सीमित नगरी समयअनुसार पुनर्विश्लेषण गर्नुपर्ने विचार प्रस्तुत गरिएको छ ।
पाँचौँ, नेपालको समाजवादी क्रान्तिको मौलिक मार्गचित्र– यो पुस्तकको सबैभन्दा महत्वपूर्ण पक्ष हो । नेपालको समाजवादी क्रान्ति नेपालको आफ्नै ऐतिहासिक, आर्थिक, सामाजिक, राजनीतिक तथा भौगोलिक परिस्थितिमा आधारित हुनुपर्छ । समाजवादी क्रान्तिले राजनीतिक सत्ता परिवर्तनलाई मात्र लक्ष्य नबनाई उत्पादन प्रणाली, आर्थिक संरचना र सामाजिक सम्बन्धमा समेत आधारभूत परिवर्तन एवम् रूपान्तरण ल्याउनुपर्छ भन्ने बलशाली दाबी रहेको छ ।
(क) पुस्तकका सबल पक्षहरू
पहिलो, यो पुस्तकका प्रमुख सबल पक्षहरू निम्न छन् ः नेपाली समाजको ऐतिहासिक वास्तविकता र वस्तुगत परिस्थितिलाई केन्द्रमा राखेर समाजवादको व्याख्या गरिएको छ । दोस्रो, नेपालको राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणबिचको सम्बन्धलाई महत्वपूर्ण रूपमा उठाइएको छ । तेस्रो दलाल पुँजीवादको प्रभाव एवम् नियन्त्रणबारे गम्भीर वैचारिक बहस नयाँ अवधारणासहित सविस्तार प्रस्तुत गरिएको छ । चौथो, समकालीन वर्ग संरचनाको नयाँ ढङ्गले विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याइएको एवम् विश्लेषण गरिएको छ । पाँचौँ, विगतका जनआन्दोलन, जनसङ्घर्ष र राजनीतिक परिवर्तनबाट शिक्षा लिनुपर्ने कुरामा जोड दिइएको छ । छैटौं, विदेशी क्रान्तिको अन्धानुकरण नगरी नेपाली मौलिकतामा आधारित समाजवादी क्रान्तिको बाटो निर्माण गर्नुपर्ने विचार प्रस्तुत गरिएको छ ।
(ख) पुस्तकका सुधारका पक्षहरू
लेखकले पुस्तकमा महत्वपूर्ण सैद्धान्तिक र वैचारिक प्रश्नहरू उठाए पनि केही पक्षमा थप स्पष्टता र सविस्तार विश्लेषण एवम् संश्लेषणको आवश्यकता अझैँ देखिन्छ । पहिलो, समाजवादी रूपान्तरणको मौलिक मार्गचित्र प्रस्तुत गर्दा त्यसलाई कार्यान्वयन गर्ने ठोस रणनीतिक चरण, कार्यनीति, कार्यक्रम र कार्ययोजनाबारे थप विस्तृत चर्चा हुन आवश्यक छ । दोस्रो, नेपालको वर्तमान आर्थिक अवस्थालाई तथ्याङ्क, अनुसन्धान र तुलनात्मक अध्ययनका आधारमा अझैँ सुस्पष्ट बनाउन सकिन्थ्यो । तेस्रो, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र सार्वजनिक सेवाको समाजवादी रूपान्तरण कसरी गर्ने भन्ने विषयमा व्यावहारिक प्रस्तावहरू थपिएको भए यो पुस्तक सुनमा सुगन्ध नभए पनि अझैँ प्रभावकारी बन्ने सम्भावना थियो । चौथो, समाजवादी क्रान्तिमा देखिएका वैचारिक, सङ्गठनात्मक र नेतृत्वसम्बन्धी समस्याको थप गहिरो विश्लेषण एवम् संश्लेषण आवश्यक देखिन्छ । यी पक्षमा अध्ययन र अनुसन्धान गर्न सके पुस्तकको वैचारिक योगदान अझैँ थप समृद्ध बन्न सक्नेछ ।
निष्कर्ष
प्रिय कमरेड खम्बु चन्दद्वारा लिखित यो पुस्तकको विशेष महत्व नेपाली समाजवादसम्बन्धी बहसलाई नयाँ दृष्टिकोणबाट अगाडि बढाउनु हो । यसले समाजवादलाई राजनीतिक सत्ता प्राप्तिको विषयका रूपमा मात्र नभई आर्थिक, सामाजिक र उत्पादन प्रणालीको रूपान्तरणसँग जोडेर हेरेको छ । नेपाली कम्युनिस्ट आन्दोलनका नेता, कार्यकर्ता, विद्यार्थी, अनुसन्धानकर्ता तथा समाशास्त्री, अर्थशास्त्री, दर्शनशास्त्री एवम् समाजवादी विचारधारामा रुचि राख्ने पाठकहरूका लागि यो पुस्तक उपयोगी वैचारिक सामग्री हुनेछ ।
समग्रमा ‘समाजवादको मौलिक मार्गचित्र’ नेपाली समाजको ऐतिहासिक विकासक्रम, वर्तमान आर्थिक तथा सामाजिक संरचना, वर्गीय सम्बन्ध र राजनीतिक परिवर्तनको विश्लेषण गर्दै नेपाली समाजवादी क्रान्तिको मौलिक बाटो पहिचान गर्ने प्रयास गरिएको महत्वपूर्ण सैद्धान्तिक एवम् वैचारिक कृति हो ।
यस पुस्तकको मूल सन्देश नेपालमा समाजवाद स्थापना गर्न विदेशी क्रान्ति र समाजवादी अभ्यासको नक्कल गरेर होइन, नेपालको आफ्नै वस्तुगत परिस्थिति, ऐतिहासिक अनुभव, उत्पादन सम्बन्ध, वर्गीय संरचना र श्रमिक वर्ग एवम् श्रमजीवी जनताको वास्तविक मुक्ति एवम् समृद्धिका आधारमा अगाडि बढ्नुपर्छ भन्ने हो ।
यो पुस्तकले विगतका राजनीतिक आन्दोलनका उपलब्धि र कमजोरीको समीक्षा गर्दै भविष्यको समाजवादी क्रान्तिका लागि नयाँ वैचारिक आधार निर्माण गरेको छ । केही विषयमा थप तथ्यगत अनुसन्धान र व्यावहारिक कार्ययोजनाको आवश्यकता भए पनि नेपाली समाजवादको मौलिक स्वरूपबारे गम्भीर बहस प्रारम्भ गर्न यो पुस्तकको महत्वपूर्ण योगदान रहेको देखिन्छ ।
अन्ततः ‘समाजवादको मौलिक मार्गचित्र’ नेपाली समाजको यथार्थमा आधारित समाजवादी रूपान्तरणको बाटो खोज्न चाहने सबैका लागि अध्ययनयोग्य र विचारणीय महत्वपूर्ण कृति हो । यस पुस्तकको मूल सन्देश नेपालमा समाजवाद स्थापना गर्न विदेशी क्रान्तिको नक्कल गरेर होइन, नेपालको आफ्नै वस्तुगत अवस्था, ऐतिहासिक अनुभव, वर्गीय संरचना, उत्पादन सम्बन्ध र श्रमिक वर्ग एवम् श्रमजीवी जनताको वास्तविक आवश्यकतालाई आधार बनाएर अगाडि बढ्नुपर्छ भन्ने हो ।
नेपालमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनहरूले महत्वपूर्ण उपलब्धि हासिल गरे पनि श्रमिक वर्ग एवम् श्रमजीवी जनताको जीवनमा अपेक्षित सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन सकेका छैनन् । त्यसैले विगतका आन्दोलनको समीक्षा गर्दै नयाँ युगीन आवश्यकता र समाजको बदलिँदो चरित्रअनुसार समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्नुपर्ने लेखकको धारणा छ ।
यो पुस्तकले नेपाली समाजवादको बहसलाई नयाँ ढङ्गले अगाडि बढाउँदै नेपालको आफ्नै मौलिक परिस्थितिमा आधारित समाजवादी रूपान्तरणको आवश्यकता औँल्याएको छ । त्यसैले यो पुस्तक नेपालको कम्युनिस्ट आन्दोलन, समाजवादी विचारधारा र नेपाली समाजको भविष्यबारे अध्ययन तथा अनुसन्धान गर्न चाहनेहरूका लागि उपयोगी सैद्धान्तिक एवम् वैचारिक सामग्री हो । फेरि पनि प्रिय कमरेड खम्बु चन्दलाई थप विकासका खातिर हार्दिक शुभकामना !
१ मङ्सीर, २०८३


पूर्णबहादुर सिंह ‘समरजङ्ग’



