काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन् ।
काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली अन्तरसम्बन्धित रहेको उल्लेख गरे ।
उनले वातावरणीय जोखिम र विपद् राष्ट्रिय सीमाभित्र मात्र सीमित नरहने भन्दै उनले साझा उत्तरदायित्व, पूर्वतयारी र क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याए ।
नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्रमन्त्री खनालले भूगोललाई दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे । तर भूगोलले मात्र सम्बन्धको भविष्य निर्धारण नगर्ने उनको धारणा थियो ।
नेपाल र चीनबीच सीमा क्षेत्रका समुदाय, व्यापार, संस्कृति तथा जनस्तरीय आदानप्रदानबाट विकसित शताब्दीयौँ पुरानो सभ्यतागत सम्बन्ध रहेको उनले उल्लेख गरे । उनले एक–चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमि चीनका वैध सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे ।
मन्त्री खनालले दुई देशबीचको परम्परागत सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
सन् २०१९ मा स्थापित रणनीतिक साझेदारीको स्मरण गर्दै उनले सम्पर्क सञ्जाल विस्तार, सहज सीमापार व्यापार, प्रविधि हस्तान्तरण तथा साझा समृद्धिमा आधारित सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताए ।
चीनले प्रविधिको क्षेत्रमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै उनले नवप्रवर्तन, प्रयोगशाला, अनुसन्धान र ज्ञान आदानप्रदानमा थप सहकार्यको आह्वान गरे ।
यस्तो सहकार्यले नेपाललाई आफ्नो जनसांख्यिक लाभांशको सदुपयोग गर्न सहयोग पुग्ने उनको धारणा थियो ।
उनले सीमासम्बन्धी परम्परागत व्यवस्थापनमा पारिस्थितिक पक्षलाई समेत समावेश गर्नुपर्ने आवश्यकता औँल्याए । साझा हिमाली जोखिमको व्यवस्थापन, सम्पर्क विस्तार तथा विपद्–प्रतिरोधी सीमा पूर्वाधार निर्माणका लागि नेपाल र चीनबीच अझ निकट सहकार्य आवश्यक रहेको उनले बताए ।
खनालले द्विपक्षीय सम्बन्धमा बौद्धिक तथा प्राज्ञिक संवादको महत्त्वमाथि प्रकाश पारे । उनले नेपालको शैक्षिक तथा नीतिगत बहसमा चिनियाँ अध्येता र विद्वानहरूको सहभागिता बढाउन आह्वान गरे ।
निरन्तर प्राज्ञिक आदानप्रदानले आपसी बुझाइलाई गहिरो बनाएको साथै थप तथ्यपरक र परिपक्व विदेश नीति निर्माणमा योगदान पु¥याउने उनको विश्वास थियो । उनले नेपाल–चीन सम्बन्धको भविष्यप्रति विश्वास व्यक्त गर्दै साझेदारीलाई थप गहन बनाउने नेपाल सरकारको प्रतिबद्धता दोहो¥याए ।


अनलाइन डबली

