दैलेख । कर्णाली प्रदेशको मुटुमा रहेको ऐतिहासिक जिल्ला दैलेख यति बेला स्वास्थ्य र पर्यटनको अनुपम संगम बनेको छ । योगका माध्यम बाट जटिल स्वास्थ्य समस्या बाट मुक्ति पाउनेहरूका लागि ‘नयाँ जीवन’ दिने थलोका रूपमा चिनिन थालेको दैलेख, अचेल देश भरिका योग साधकहरूको रोजाइको प्रमुख गन्तव्य बनेको छ । औषधिले निको नहुने रोगहरू योगले निको पारेको र यहाँको ऐतिहासिक सम्पदाको मोहले गर्दा दैलेख यति बेला ‘योग पर्यटन’ को केन्द्र (एपिसेन्टर) का रूपमा चर्चाको शिखरमा छ ।
वि.सं. २०७१ साल देखि पतञ्जली योग समिति दैलेखका मुख्य प्रशिक्षक शङ्कर थापाको नेतृत्वमा सुरु भएको योग अभियानले आज राष्ट्रिय रूप लिएको छ । दैलेख लाई एउटा निरोगी जिल्ला बनाउने मेरो सपना थियो, आज त्यो अभियान देशकै लागि उदाहरण बनेको छ, थापाले भन्नुभयो । उहाँको यही निष्ठाका कारण अहिले देशै भरि बाट योग साधकहरू दैलेख तानिएका छन् ।
व्यवस्थापनको पाटो बारे प्रस्ट पार्दै मुख्य प्रशिक्षक थापाले भन्नुभयो, “दैलेख अहिले योगको ‘एपिसेन्टर’ बन्दैछ । भ्रमणमा आउने जम्बो टोली योग साधक–साधिकाहरूको खानपान र बसोबासको व्यवस्था भ्याए सम्म हामी आफैँ गर्छौँ । कतिपय टोलीहरू योग भवनमै बास बस्नुहुन्छ, उहाँहरू साँझ खाना खाएर यहीँ बास बस्नुहुन्छ भने कतिपय टोलीहरू बिहानको योग सत्र पछि खाना खाएर आफ्नो गन्तव्य तर्फ लाग्नुहुन्छ । साधकहरूको सेवा र आतिथ्यता नै हाम्रो मुख्य धर्म हो ।“ तत्कालीन कर्णाली प्रदेश सभा सदस्य अमरबहादुर थापाको पहलमा निर्मित ५० लाखको सुविधा सम्पन्न योग भवन अहिले सयौँ साधकहरूको आश्रय स्थल बनेको छ ।

हालै दाङको तुलसीपुर बाट पतञ्जली योग रोग निवारण केन्द्रका मुख्य प्रशिक्षक बामदेव धितालको नेतृत्वमा १ सय भन्दा बढी जनाको टोली दैलेख आएर फर्किसक्यो । दैलेखमा योगले नागरिकको स्वास्थ्यमा चमत्कारिक लाभका बारेमा मिडिया मार्फत सुने पछि आफूहरू प्रभावित भएको बताउनुभयो । हामीले मिडियामा दैलेख योग शिविरको बारेमा समाचार पढेका थियो। यहाँ आएका साथीहरुले योगको बारेमा यति राम्रो सुनाउनुभयो कि हामी आफै यहाँको अनुभव लिन, सिक्न र दिन आतुर थियौ उहाँले भन्नुभयो । दाङको योग अभियान बारे प्रकाश पार्दै महिला प्रशिक्षक जानुका गैरेले भन्नुभयो, “हाम्रो दाङमा १ सय २९ वटा योग शिविरहरू सञ्चालित छन् । हामी तुलसीपुर बाट जति सहभागी हुन सक्थ्यौँ, सबै यहाँ आएका छौँ । दैलेखको यो भवन र यहाँको अनुशासन साँच्चै लोभ लाग्दो छ ।“उहाँले थप्नुभयो, “योगको बहानामा दैलेखका ऐतिहासिक सम्पदाहरू हेर्न पाउनु हाम्रो लागि अर्को सुखद पाटो हो । यहाँ यति धेरै घुम्ने ठाउँहरू रहेछन् कि १५ दिन सम्म लगातार घुम्दा पनि नसकिने रहेछ । दैलेख वास्तवमै योग र पर्यटनको संगम रहेछ ।“ दैलेखले दिएको संन्देशको भारी बोकेर दाङ पुराउने बताउँनुभयो ।
पतञ्जली योग समिति दैलेखकी महिला प्रशिक्षक भगवती थापाका अनुसार यहाँ योगले विशेष गरी महिला स्वास्थ्यमा कायापलट गरेको छ । “ठूला अस्पतालका चिकित्सकले शल्यक्रिया विना उपाय छैन भनेका मुटु रोग देखि महिला जन्य जटिल स्वास्थ्य समस्याहरू नियमित योगले निको भएका थुप्रै उदाहरण हामी सँग छन्,“ थापाले बताउनुभयो।
नारायण नगरपालिकाका ८१ वर्षीय धनबहादुर थापा त योगकै कारण पुनर्जीवन पाउने प्रतिनिधि पात्र हुनुहुन्छ । स्वास्थ्य सेवा कार्यालय दैलेखकी जनस्वास्थ्य नर्स अधिकृत हरिकला थापा योग लाई ‘ठूलो प्राकृतिक अस्पताल’ भन्दै यसको प्रभावकारितामा जोड दिनुहुन्छ ।
दाङ बाट आएको टोलीले आगामी महिना मनाइन लागिएको ‘अन्तर्राष्ट्रिय योग दिवस’ को पूर्वसन्ध्यामा यो भ्रमण लाई विशेष महत्व दिएको छ । पतञ्जली योग रोग निवारण केन्द्र दाङकी सदस्य रिता थापाले भन्नुभयो, “योग दिवस आउनु अगाडि नै दैलेख आएर योगको यो ऊर्जा संगाल्न पाउनु हाम्रो सौभाग्य हो । यहाँको सिकाईले हामी लाई निकै ठूलो प्रेरणा दिएको छ ।”
दैलेखको यो अभियानले एकातिर नागरिक लाई रोगमुक्त बनाएको छ भने अर्को तिर ‘योग पर्यटन’ मार्फत जिल्लाको आर्थिक र सांस्कृतिक विकासमा नयाँ आयाम थपेको छ । अब दैलेख केवल ऐतिहासिक सम्पदाका लागि मात्र होइन, नागरिक लाई स्वस्थ जीवन दिने ‘योग हब’ का रूपमा समेत विश्व भरि चिनिँदै छ । दैलेखको यो ‘योग क्रान्ति’ यति बेला सिङ्गो कर्णालीका लागि एउटा मार्ग दर्शन बनेको छ ।


नवीन रिजाल



