
हुम्ला जिल्लामा कार्यरत कर्नाली प्रदेश अन्तर्गतका ११ वटा कार्यालयहरूको आव. २०८१÷०८२को साउनदेखि फागुन तेस्रो हप्तासम्मको खर्च ३९ करोड ४८ लाख ९४ हजार ४५६ रुपैँया ९८ पैंशा रहेको छ ।
हुम्ला जिल्लामा कर्नाली प्रदेश अन्तर्गतका कार्यालयहरूमा प्रदेश लेखा इकाई कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, पूर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय र स्वास्थ्य सेवा कार्यालय रहेका छन् । यसका अलवा प्रदेश लेखा इकाई कार्यालय हुम्ला अन्तर्गत जिल्लाका सात गाउँपालिकाहरुमा पनि बजेट प्रवाह हुने गरेको प्रदेश लेखा इकाई कार्यालय, हुम्लाका लेखा नियन्त्रक रामदत्त पाण्डेले जानकारी दिएका छन् ।
यी सबै कार्यालयहरूको चालु आव २०८१÷०८२को साउनदेखि फागुन तेस्रो हप्तासम्मको ७ महिनामा चालु खर्च २३ करोड ५९ लाख ९२ हजार ८०५ रुपैँया ९८ पैंशा खर्च भएको छ भने पुँजीगत खर्च १५ करोड ८९ लाख १ हजार ६५१ रुपैँया भएको छ ।
११ वटा प्रादेशिक कार्यालयहरू तथा ७ स्थानीय तह गरी १८ वटा कार्यालयहरूको चालु तथा पुँजीगत दुबै शिर्षकको हालसम्म जम्मा खर्च ३९ करोड ४८ लाख ९४ हजार ४५६ रुपैँया ९८ पैंशा खर्च भएको उक्त कार्यालयको खर्च विवरणको बजेट तेरिज रहेको छ ।
यी दुबै शिर्षक अन्तर्गत चालु शिर्षकतर्फ ५९.७६ प्रतिशत रहेको छ भने पुँजीगत शिर्षकतर्फ ४०.२३ प्रतिशत रहेको छ । दुबै शिर्षकको बजेट तेरिजको खर्चको विवरणलाई लेखाजोखा गर्दा २१ प्रतिशत चालु शिर्षकतर्फ बढी खर्च भएको देखिन्छ । यो आँकडालाई आधारमान्दा हुम्ली उखान यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । जस्तोः “भोक्ती (धेरै) गोर्खाली (कर्मचारी) पाल, कामबिनाको बजेट जति हाल, विकास गद्दो भनीकन डिलभिट्टा टाल ।”
यसको सान्दर्भिक सार हो चालुतर्फ वर्षेनी पुँजीगतभन्दा धेरै बजेट आउने भएकाले कार्यालय खर्च, कर्मचारीको तलव, भत्ता, पोशाक तथा अन्य विविध खर्चमा करोडौं रकम राज्य लगानी गरे पनि भनसुन र मनसुनको भरमा प्रति महिना र वर्षहरुमा करार कर्मचारी पालेर बजेट खर्च गर्ने गरिएको राजनीतिक लाभ र अवसरवादको उल्लेख्य नमुना भएको हुम्लाका सामाजिक कार्यकर्ता मानवहादुर थापाको मत रहेको छ ।
वर्षेनी खर्च हुने चालु र पुँजीगत शिर्षकको असमान खर्चले राज्य नीतिगत रुपमा अवलम्बन गरेको सामाजिक उत्तरदायित्व, पारदर्शिता, जनसहभागीता र घरदैलो सेवा भन्ने मुल मन्त्रलाई नै दैनिक रुपमा ओझेल पार्दै गएको छ । यसैले पनि भन्ने गरिन्छ “जागीर खाऊ, झिँगा धपाऊ, कार्यकर्ता पाल, बजेट हाल, जागीरे बन, शहरमा जग्गा किन ।” भन्ने जस्ता कथन र उक्ती हुम्ली समाजका फस्टाउँदै जानु हुम्ला र हुम्ली समाजको विकासलाई ओझेल पर्नु र पार्नुका कारक तत्व मानिएको छ ताथपि यी कुराहरूले राष्ट्सेवकहरूको लगाव र मेहेनतलाई नै ओझेलमा पार्ने काम पनि हो भन्ने मत पनि बलियो रहेको छ ।