
सिमकोट र ठेहे गाउँमा प्रत्येक वर्षको फागुन १२ गते मात्र मनाइने पर्व हो चैतलो । यसलाई यहाँका सधवा महिलाले पीत वस्त्रधारण गरेर गाउँको सामूहिक सभास्थल ‘चौपाडी वा भुओखाडो’मा सामूहिक गीतिनाचका रूपमा खेल्ने गरिन्छ । यो पर्व बसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि मान्ने गरिन्छ ।
गाउँगाउँको टोलटोलबाट पीत वस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीति नाच नै चैतलो हो । गाउँको सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा स्थान विशेषः ‘चौपाडी, सभाथाडो, भुओखाडो’ आदि ठाउँमा जम्मा भएर जेष्ठताका आधारमा पङ्क्तिवद्ध भई ‘बाह्र भाइ मस्टो, नौ दुर्गा भवानी’को प्रशस्तिलगायत ऋतुहरूको बारेमा गुणगान गाएर गीति नाच खेल्ने गरिन्छ । यहाँ सुरुमा देवदेवी र पञ्चभूतत्ववलाई खुसी पार्न मागल, चुड्किला, चाचडी, आरतीजस्ता लोकप्रस्तुति गाइन्छ भने त्यसपछि रामरमाइलोका लागि चुड्किला र देउडा खेल्ने गरिन्छ । सिमकोटको तल्लो गाउँ खाद्दकको बीचमा रहेको चौपाडी’मा यहाँको मस्टो देवताले ठूलो शिलामुनी शिला अर्थात् सहकालका लागि दीक्षादाना राखेर चैतलो खेल्ने चैतालुहरूलाई टीका लगाएपछि मात्र खेल आधिकारिक रूपमा सुरु भएको मानिन्छ ।
विशेषतः सिमकोट गापाको वडा नम्बर १ र २, ठेहे गाउँ र सिमकोट वडा नम्बर ५ र ६ खाद्दक, पाँबाडा र लादेवाडा गाउँका स्थानीयहरूले अनिवार्य रूपमा फागुन १२ गते मनाइने महिला पर्व हो चैतलो । यसलाई यस क्षेत्रको तीजभन्दा पनि ठूलो मान्ने गरिन्छ । आफ्ना पतिको दीर्घायुको कामना गर्दै नयाँ आउने ऋतुको सुरुवाती ऋतु बसन्तको आगमनलाई स्वागत गरेर वर्षभरि नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रूपमा चैतलोलाई मानिँदै आएको छ ।
यो गीति नाचपछि आफन्त र नजिकका मित्रलाई घरमा बोलाएर चिउला, च्याउँका, खिर, भात, सेल, मासुलगायत अन्य विभिन्न मिष्ठान्न परिकार खुवाउने गर्ने चलन रहेको छ । यो पर्वलाई किन फागुन १२ गते नै मनाइने भएकाले अरु पर्वभन्दा यसलाई विशेष पहिरन र आभुषण लगाएर सधवा महिला तथा कन्या केटीले मात्र खेल्न पाउने महिला पर्व हो । यो पर्वमा चैतलो खेल्ने जाने चैतलै रानीहरूले अनिवार्य रूपमा रेशमी कपडाको पीतवस्त्रको लामो लुगा ओड्नु पर्ने परम्परा नौलो र मौलिक रहेको छ ।
चैतलो पर्वका विभिन्न प्रकार भए पनि सिमकोट र ठेहे गाउँका खश क्षेत्री समुदायले मान्ने विशेष प्रकारको यो पर्वका बारेमा खोजी गर्नुपर्ने आवश्यकता देखिन्छ । यसलाई संस्कृति र प्रकृतिलाई अन्तरघुलन गर्ने गराउने एक सशक्त माध्यम मानिएको छ ।
हाम्रा यस्ता चाडपर्वले हाम्रो समाजलाई गतिशील बनाउने काम गरेका छन् । यसको प्रचारप्रसार गर्न गराउन सकेमा सांस्कृतिक पर्यटनका लागि पनि लाभदायक हुने विश्वास गर्न सकिन्छ । जय बसन्तलाई स्वागत गर्ने चैतलो पर्व ।
विशेष गरी सधवा महिला र अवकन्या छोरीले मात्र खेल्ने पाउने यो पर्व नारी पर्व पनि हो । यो पर्वमा देवदेवीको प्रशस्ति गाउनुका साथै विभिन्न ऋतुको गुणगानका साथै चुडकिला र अन्य विभिन्न प्रकारका गीत गाएर मनाइन्छ भने यो अवसरमा पाहुना तथा अतिथिलाई पनि सम्मानका साथ खानपान गर्ने गराउने चलन रहेको छ ।
सिमकोट गापाले दियो सार्वजनिक विदा
सिमकोट गापाले सिमकोट वडा नं १,२, ५ र ६ वडामा मनाइने स्थानीय पर्व चैतलोलाई वि.सं. २०७९ सालबाट फागुन १२ गते सार्वजनिक विदा दिने गरेको छ । यो दिनमा गाउँपालिका र मातहतका कार्यालयहरु तथा सामुदायिक शिक्षण संस्थाहरुलाई विदा दिइएको छ ।
सिमकोट गापाको ठेहे, सिमकोटको खाद्दक, पाँवाडा तथा लादेवाडा गाउँका स्थानीय सधवा महिला तथा उफल नारीहरुले विभिन्न प्रकारका सांस्कृतिक झल्कने गरगहना लगाउनुका साथै रेशमी धागोबाट बनाइएको बर्खो जो अधिकांश पँहेलो हुने गरेको छ । दुई समुह बनाएर ठेहे गाउँको भुओखाडो र सिमकोटको चौपाडीमा सामुहिक जम्मा भएर बसन्त ऋतु लगायत विभिन्न प्रकार देवीदेवताका साथै सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पौराणिक सन्दर्भ उल्लेख गरिएका मांगल, फाग, धमारी, चार्ची, चुडकिलाका साथै देउडागीत समेत गाउँले र खेल्ने गरिन्छ ।
साभारः हुम्लाका चाडपर्व पुस्तक ।