हुम्ला । स्न २०२४मा हुम्लाले हवाई यातायात सेवाका लागि ४० करोड खर्च गरेको छ । पछिल्लो एक वर्षदेखि हुम्लालाई आंशिक रुपमा सडकको रेखाले छोएको छ । अझै पनि हुम्ला र हुम्लीहरु हवाई यातातात सेवामा नै निर्भर रहेका छन् ।
स्न २०२४मा करीब एक दर्जन नीजि तथा सरकारी हवाई सेवा कम्पनीहरुले ४ हजार ४ सय ५४ उडान भरेका छन् ।
यसबाट १६ हजार ९ सय ७९ हवाई यात्रुले आवतजावत गरेका छन् भने वर्षभरी ११ लाख २९ हजार ८ सय ७९ केजी सामान हवाई यातायातबाट आउनेजाने गरेको जानकारी नागरिक उड्डयन कार्यालय सिमकोटका कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले दिएका छन् ।
यो आँकडा अघिल्लो वर्षभन्दा एकदमै कम हो तापनि हुम्ला आउने र हुम्लाबाट बाहिर जाने यात्रु र सरसामानहरुको सालाखाला हिसाब गर्दा वर्षभरी ४० करोड रकम खर्च भएको छ । यो आँकडालाई विश्लेषण गर्दा देखिन्छ की हुम्लामा आउने विकासे बजेटको ७० प्रतिशतभन्दा धेरै रकम हवाई यातायात र हवाई ढुवानीमा नै जाने गरेको उदाहरण हो । पछिल्लो एक वर्षदेखि नेपालगंज र सुर्खेतबाट यात्रा गर्ने र सामान ढुवानी गर्ने काम क्रमशः कम हुँदै जाँदा अब नीजि विमान कम्पनीहरुले नेपालगंज, सुर्खेतबाट माथि आउनका लागि शुरु गरेको हवाई सिण्डिकेट अब हुम्लाको सिमकोबाट शुरु गर्न थालेका छन् ।
स्न २०२४को जनवरी महिनामा सबभन्दा धेरै ४८९ हवाई उडान भरेका छन् भन् सबभन्दा कम नोभेम्बरमा ३४ उडान मात्र भरेको देखिन्छ । नेपालगंजबाट हुम्लाको लागि हवाई यातायात सेवा प्रयोग गर्दा प्रति केजी १८० रुपैँया तिर्नु पर्छ भने गाडीबाट प्रति केजी २० रुपैँया ढुवानी लाग्ने गरेको छ । यो रकम दिन प्रति दिन घट्दै पनि गएको छ ।
पछिल्लो समय दैनिक, मासिक र वार्षिक रुपमा स्थलमार्गबाट हुम्ला लगायत सदरमुकाम सिमकोटमा कति मात्रामा कुन कुन प्रकारका सामानहरु आयात निर्यात हुन्छ । यसको आँकडा संकलन हुने गरेको देखिदैन तर पनि हवाई ढुवानी भने ८० प्रतिशतले कम भएको स्थानीय ब्यापारीहरुले भन्ने गरेका छन् । अझै पनि हवाई यातायात सेवा महंगो भए पनि समय, सन्दर्भ, आवश्यकता र छिटोछरितोको कारण आकर्षण र प्रयोग बढ्दै गएको छ । यसलाई अझै व्यवस्थित गर्नुपर्ने देखिन्छ ।