काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनीलाई हराएको छ ।
सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै तेस्रो जीत निकालेको छ भने लुम्बिनीकाे याे लगातार तेस्राे हार हाे ।
यसअघि भएका खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाज र विराटनगर किंग्सलाई हराएको थियो ।
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो ।
१ सय ८८ रनको विजयी लक्ष्य पच्छ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रनमात्रै बनायो ।
लम्बिनी लायन्सको यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
१९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।
यसअघि सुदूरपश्चिमका लागि सैब जायबले अर्धशतीय पारी खेलेका थिए । उनले ६१ बलमा पाँच छक्का र छ चौकाको मद्दतले सर्वाधिक ९० रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले ३९, ब्राण्डोन म्याक मुलेनले २३, विनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले ११ रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त सात रन पायो ।
लुम्बिनीका लागि रामोन सिमन्ड्सले सर्वाधिक दुई विकेट लिए । यस्तै, कप्तान रोहित पौडेल र विवेक यादवले समान एकरएक विकेट हात पारे ।