काठमाडौँ । बलात्कार आरोप लागेका नलिनप्रसाद पौडेलविरुद्ध मुद्दा दर्ता गरेर कानुनी दायरामा ल्याउन प्रहरी जुटेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पक्राउ गरी कारवाही अगाडि नबढाएको भन्दै पीडित युवती परमादेशको माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।
उच्च अदालत पाटनका न्यायाधीश सूर्यप्रसाद पराजुली र परुषोत्तम प्रसाद ढकालको संयुक्त इजलासले आरोपी नलिनप्रसादविरुद्धको जाहेरी दर्ता गर्न परमादेश जारी गरेको थियो ।
‘…आधार कारण समेतबाट जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँबाट निवेदकले दिएको जाहेरी दर्ताको लागि भए सो बमोजिम र नआएको भए यस विषयमा निवेदकले जाहेरी दर्ता गर्न ल्याएमा कानुन बमोजिम दर्ता दिरिदिनु भनी विपक्षहरुका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ’ आदेशमा भनिएको छ ।
सप्तरीको राजविराज स्थायी घर भई काठमाडौँको काँडाघारीमा बस्दै आएका पौडेललाई जबरजस्ती करणी आरोपमा काठमाडौँ जिल्ला अदालतले चैत्र ८ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर, प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको थिएन ।
पीडित युवतीले गृहमन्त्रालय, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र आरोपी नलिनप्रसाद पौडेलकी श्रीमति सोनी खड्कालाई विपक्षी बनाएर परमादेशको माग गरेकी थिइन् । पीडित युवतीको तर्फबाट वरिष्ठ अधिवक्ता त्रिलोचन गौतमले परामादेश जारी गरेर आरोपी नलिनप्रसादलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।
प्रहरीले जाहेरी नलिएपछि गत माघ २८ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता भएकाे थियाे । त्यसपछि प्रहरीले जिल्ला अदालत काठमाडौँले पक्राउ अनुमति लिएकाे थियो ।
सरकारी वकिल कार्यालयले उच्च अदालतको परमादेश कार्यान्वयनको लागि प्रहरी परिसर काठमाडौँ पठाइएको छ । प्रहरी स्रोतका अनुसार परमादेश कार्यान्वयनको लागि प्रहरीले प्रक्रिया अगाडि बढाएको छ ।
घटना यस्तो थियो छ
गाउँबाट उच्च शिक्षा अध्ययनको लागि काठमाडौँ आएका ति युवतीलाई पौडेलले २०७७ साउनबाट घरेलु कामदारको रुपमा राखेका थिए । बस्न खान र मासिक १२ हजार तलबसँगै पढाई दिने भनेपछि ति युवती पौडेलका घरमा काम गर्न थालेकी थिइन् । पौडेलले मासिक पारिश्रमिक दिएनन् र उल्टै जबरजस्ती यौन शोषण गर्दै आएको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।
पटकपटकको यौन शोषणलाई इन्कार गर्न थालेपछि घटना सार्वजनिक हुने डरले पौडेलले युवतीलाई फसाउने योजना बनाए, युवतीको नाममा पसल खोल्न लगाए र बैंकमा खाता पनि खोलिदिए ।
करिब एक बर्षसम्म पसल चलाएपछि पौडेलले पसलको समान हाल्दा साहुलाई देखाउनुपर्ने भन्दै युवतीकाे नामका दुई चेकमा हस्ताक्षर गराएर लगे । तिनै चेकमा आफैले १० लाख ८० हजार रुपैयाँ लेखेर बाउन्स गरेको पीडितकाे जाहेरीमा उल्लेख छ ।
“मेरो पसलमा समान उनिहरुले नै दिन्थे । साहुलाई देखाउनुपर्छ भनेर हस्ताक्षर गराएर खाली चेक लिन्थे । त्यही खाली चेकमा मलाई कुनै जानकारी नै नदिएर १० लाख ८० हजारको लेखेर बैंकमा गएछन् । मेरो खातामा त्यत्रो रुपैयाँ हुने कुरै भएन । मलाई चेक बाउन्सको मुद्दा दिएको रैछ, एकैपटक प्रहरीले मलाई पक्राउ गरेपछि मात्रै थाहा पाएँ” पीडित युवतीको जाहेरीमा उल्लेख छ । पौडेलले मान्छे लगाएर पक्राउ गर्न लगाएपछि मात्रै आफूविरुद्ध चेक बाउन्सको मुद्दा परेको थाहा पाएको पीडित युवतीले बताएकी छन् ।
चाटर्ड एकान्टेन्ट समेत रहेका पौडेलले आफ्नो नेतादेखि प्रहरी प्रशासनको उच्च तहसम्म आफ्नो पहुँच भएको बताउँदै करणीको कुरा कसैसँग भनेपछि ज्यान नै बेपत्ता पारिदिने धम्की दिँदै पटकपटक यौन शोषण गरेको जाहरीमा उल्लेख छ ।
यतिसम्मकी पौडेलले युवती चेक बाउन्स मुद्दामा धरौटीमा छुटेपछि पनि अर्को मुद्दा लगाइदिन्छु भन्दै धम्काएर यौन शोषण गरेका थिए ।